अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय यात्रामा घिमिरेका ‘जिकज्याक’ कहिले टिकट अस्विकार,कहिले कानुनी अड्चन

संसदीय यात्रामा घिमिरेका ‘जिकज्याक’ कहिले टिकट अस्विकार,कहिले कानुनी अड्चन


काठमाडौं- राजनीतिको लो प्रोफाइलबाट एक्कासी सम्माननीय पदमा आसिन हुन लागेका नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले संसदीय निर्वाचन जितेको पहिलो पटक हो । पार्टीका इमान्दार र पुराना कार्यकर्ता भएर पनि घिमिरेले बहुदलपछिका छ वटा निर्वाचनमा किन उम्मेद्वार बनेन् वा पार्टीले टिकट किन नदिएको होला भनेर अहिले सोधीखोजी हुने गरेको छ ।
२०२९ सालमा झापाको सुखानीमा पाँचजना नेताको हत्या भएपछि तत्कालिन झापा नेकपा कोअर्डिनेसन केन्द्रसँग नजिक भएका घिमिरले २०३५ साल देखि नेकपा मालेमा आवद्ध हुनुभएको हो । घिमिरेले २०३५ सालमा ताप्लेजुङ र पाँचथरको संगठकको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । २०४९ सालमा भएको नेकपा एमालेको पाँचौं महाधिवेशनबाट घिमिरे पार्टी केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो ।
पाँचौ महाधिवेशनमा नै केन्द्रीय सदस्य भएका नेतालाई संसदीय राजनीतिमा प्रवेश गर्नेचाँही किन दशौं महाधिवेशनसम्म कुर्नु पर्यो होला त ? धेरैलाई जिज्ञासा लाग्न सक्छ । यसबीचमा २०५६ सालमा उहाँ ६ वर्षे कार्यकाल सहित राष्ट्रियसभामा पूर्वाञ्चलबाट निर्वाचित त हुनु भयो तर २०५९ मा राजा ज्ञानेन्द्रको कु पछि राष्ट्रियसभा पनि कामयावी हुन सकेन ।
घिमिरेको लगनशिलता,साँगठनिक लगाव,सादागी जीवन आदि कारणबाट प्रभावित भएर २०४८ सालमा पार्टीका महासचिव मदन भण्डारीले इलामको क्षेत्र नं २ बाट निर्वाचन लड्न प्रस्ताव गर्नुभयो । तर घिमिरेले यो प्रस्तावलाई तर्कसहित अस्विकार गर्नुभयो । ‘इलाम जनजाती बाहुल जिल्ला थियो । झलनाथ खनाल १ नम्बरबाट म २ नंम्बरबाट निर्वाचन लड्ने कुरा जायेज थिएन ’ घिमिरे भन्नुहुन्छ ‘हामी दुवै बाहुन समुदायका थियौं । त्यसैले मैले जनजातीको प्रतिनिधित्व हुने गरी मणी सुब्बालाई टिकट दिंउ भन्ने प्रस्ताव गरें । त्यही स्विकृत भयो । ’
घिमिरेले मेची अञ्चलका चारवटै जिल्लामा पार्टीको सुरुवाती संगठन निर्माणको काम गरेकोले उहाँलाई चारवटै जिल्लाले आफ्नो महसुष गर्छन् । २०५१ सालको मध्यावधी निर्वाचनका बेला झापामा सिपी मैनालीको गुट बलियो थियो । घिमिरेले केपी शर्मा ओलीलाई साथ दिएको भएर उम्मेद्वारका लागि उहाँको नामै उच्चारण भएन । ‘त्यतीबेला गुटको मारमा परें एक कारण । अर्को म भन्दा सिनियर नेताहरु पनि हुनुहुन्थ्यो । तेस्रो जातीय सन्तुलन मिलाउनु पर्दा नारायण सिंह राजवंसीलाई मैले ठाउँ छोड्नु पर्ने भयो । त्यसैले ०५१ र ०५६ का निर्वाचनमा म छुटें । ’
२०५४ देखि नै घिमिरेको माधव नेपालसँग अन्तरविरोध थियो । पार्टीको निर्णायक पोजिसनमा माधव नेपाल नै हुनुहुन्थ्यो । २०५६ २०६४ को विषम परिस्थितीमा घिमिरेको भूगोलको जिम्मेवारी माधव नेपालले खोसेर काठमाडौंमा केन्द्रीत गराउनुभयो । तर घिमिरेले नेताले दिएको जिम्मेवारी स्विकार्दै काठमाडौं नै आउनुभयो । २०६४ सालको संविधानसभा निर्वाचनमा घिमिरे माधव नेपालकहाँ टिकट माग्न पुग्नुभयो । नेपालले ठाडै ‘तपाईंलाई न प्रत्यक्ष न समानुपातिक टिक हुदैन भनेर फर्काउनुभयो’ घिमिरे भन्नुहुन्छ ‘त्यसपछि म पार्टीका उम्मेद्वार जिताउन जिल्लामा खटिंए । तथापी त्यो वर्ष धेरै सफलता पाउन सकिएन । ’
२०६५ सालमा पार्टीको आठौं महाधिवेशनबाट झलनाथ खनाल अध्यक्ष हुनुभयो । तर घिमिरेको माधव नेपालसँग भन्दा चर्को अन्तरविरोध खनालसँग थियो । त्यसैले २०७० को संविधानसभा निर्वाचनमा खनालसँग उहाँले टिकटको प्रस्तावै राख्नु भएन । ‘माधवकमरेडसँग चाँही टिकट माग्न गएको हुँ । जेएनसँग त टिकट माग्न पनि गइन । उहाँले दिने कुरा पनि भएन’ घिमिरे भन्नुहुन्छ ‘०७० को संविधानसभा निर्वाचनमा पनि म त्यसरी छुंटे ।’
२०७१ सालमा भएको नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष हुँदा घिमिरे पनि केन्द्रीय सदस्य नै चुनिनु भयो । त्यसपछि उहाँलाई अध्यक्षको सचिवालयको जिम्मेवारी दिइयो । २०७४ को संघीय निर्वाचनमा पनि घिमिरे टिकटबाट बञ्चित नै हुनुभयो । तर समानुपातिक सुचीको चौथो नम्बरमा उहाँको नाम राखियो । ‘धेरैवटा निर्वाचन क्षेत्र भएको झापामा एकजना महिलालाई प्रत्यक्षतर्फ उम्मेद्वारी दिनैपर्छ भनेर मैले त्याग गर्नुपरेको हो ’ सभामुखको निर्वाचनको प्रतिष्पर्धाको तयारी गरिरहनु भएका घिमिरेले यो बेलासँग भन्नुभयो ‘त्यसबेला पनि म पार्टीलाई जिताउन मैदानमा खटिए । ’
२०७८ सालमा देवराज घिमिरेलाई पार्टीले प्रदेश नं १ बाट राष्ट्रियसभाको उम्मेद्वार बनाउने निर्णय गर्यो । त्यसबेला घिमिरेको सौभाग्य भनौं वा दुर्भाग्य निर्वाचनको आयोगको समानुपातिकको सुचीबाट घिमिरेको नाम नझिएकोले उहाँको उम्मेद्वारीमा पुनर्विचार गर्नुपर्ने अवस्था आयो । घिमिरेको उम्मेद्वारीमा कानुनी अड्चन आएपछि अर्का नेता गुरु बरालले राष्ट्रियसभाको टिकट पाउनु भएको थियो ।
२०७९ सालको निर्वाचनमा पार्टीमा ठूलो आन्तरिक प्रतिष्पर्धाका बीच घिमिरेलाई टिकट दिइयो । उहाँले शानदार ढंगले निर्वाचन जितेर सुरु गरेको संसदीय यात्रा दुई महिना नपुग्दै सम्माननीय सभामुखको कुर्सीमा पुगेको छ ।