काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ।
आज बिहान सुमेरु अस्पतालमा पुगेर महासचिव पोखरेलले नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिनुभयो। यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललगायतले पनि अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो।
माघी पर्वका लागि गृह जिल्ला रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका गत शनिवारदेखि सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो ।
गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुग्नुभएको थियो ।
रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकोप्टरबाट अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँले केही समय पहिले चीनको एक अस्पतालमा उपचार गराउनुभएको थियो । कमलपित्त रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको थियो ।
प्रतिक्रिया