काठमाडौं – काठमाडौंको चोभारस्थित पुलबाट तीन दिनअघि नदीमा खसेको कारमा सवार पुरुष मृत फेला परेका छन्। दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल बस्दै आएका ४७ वर्षीय राजकुमार खत्रीको शव तीन दिनपछि फेला परेको हो।
गएको सोमबार खत्री र उहाँकी श्रीमती अम्बिका लामिछाने खत्री सवार बा ५च ५६५४ नम्बरको कार चोभारको जलविनायक पुलबाट वागमती नदीमा खसेको थियो । बेपत्ता खत्रीको शव बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उहाँको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।
अम्बिकाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी परिसर ललिपुरका एसपी प्रविण पोखरेलले जानकारी दिनुभयो । दुर्घटनापछि उहाँलाई प्रहरीले उद्धार गरी उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याएको थियो । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ । कार पुलबाट करिब १५० मिटर तल खसेको थियो ।





प्रतिक्रिया