परासी – सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ। उहाँको उपचारका लागि परासीमा ‘गोपाल गुरुङ बचाउ अभियान’ सञ्चालन गरिएको छ।
अभियान अन्तरगत संकलन भएको एक लाख १७ हजार पाँचसय शुक्रबार गुरुङका परिवारलाई हस्तान्तरण गरिएको हो। अभियान अन्तरगत पिसीएच नेपाल (बाल स्वास्थ्यका लागि साझेदारी नेपाल नवलपरासी)बाट एक लाख, परासी हल्पिङ हेण्डसबाट १० हजार, सत्यवती कन्सर्न परासीका सञ्चालक चन्द्रमणी चौधरीबाट पाँच हजार र पाल्हीनन्दन गाउँपालिका–३ का ब्रहनन्द लोहारकी छोरीको जन्मदिनमा उपलब्ध गराइएको दुई हजार पाँचसय रुपैयाँ हस्तान्तरण गरिएको हो।
अस्पतालका प्रशासन प्रमुख तेजेन्द्र कुमार केसीको उपस्थितिमा अभियान टोलीका सदस्य सुमनगोपाल आचार्य नेतृत्वको टोलीले परिवारलाई हस्तान्तरण गरेको हो। मष्तिष्क घातबाट गम्भीर बिरामी भएका ६२ वर्षिय गुरुङको पुस ८ गतेदेखि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको उपचारका लागि बुटवलमा पनि अभियान सञ्चालन गरिएको छ।

विगत २४ वर्षदेखि अतिक्रमित सुस्ताको जमिन फिर्ता र स्थायी सीमा स्तम्भ निर्माणको माग गुरुङ नेतृत्वको सुस्ता बचाउ अभियानले सरकारलाई दबाब दिदैं आएको छ । उहाँको उपचारका लागि हालसम्म ७ लाखबढी खर्च भएको र आर्थिक अवस्था कमजोर भएको भन्दै परिवारजनले आग्रह गरेपछि गुरुङको उपचारका लागि अभियान सञ्चालन गरिएको हो ।
उपचारमा सहयोग गर्नेहरुका लागि उहाँकी छोरी पसन्द गुरुङको प्राइम सिल्भर सेभिङमा रहेको खाता नम्बर १७२०००२१ ‘पिई’ मा रकम जम्मा गर्न अभियान समितिले आग्रह गरेको छ।
सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो । १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ। १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भन्दै आएको छ। जसका कारण नेपाली भूमि भएर पनि भोगचलन गर्न नपाइएको सुस्तावासीले बताउँदै आएका छन्। अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएका छन् ।







प्रतिक्रिया