अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म

महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म


कैलाली – कैलालीको टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव सञ्चालन भइरहेको छ। आन्तरिक आयस्रोत वृद्धिका लागि भन्दै टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा कला संस्कृतिसँगै विभिन्न स्थानीय उत्पादनको प्रदर्शनसमेत छ। स्थानीय कृषि उत्पादनदेखि बेत बासबाट बनेका विभिन्न सामग्रीका साथै कृषि औजारकोसमेत प्रदर्शन राम्रो छ।

नगरपालिकाकै वडा-७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बासका लागि चर्चित छ। त्यहीँबाट सङ्कलन भएको बेत बासबाट विभिन्न सामग्री बनाएर महोत्सवमा बिक्रीका लागि राखिएको छ। बेत बासको सामानले राम्रो मूल्य पाएको व्यापार गर्दै आउनुभएका सुरेश विश्वकर्मा बताउनुहुन्छ। पूजा सामान राख्ने टोकरीदेखि बस्नको लागि आवश्यक सामानको प्रदर्शन उहाँले गर्दै आउनुभएको छ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विज्ञान सङ्काय टीकापुर बहुमुखी क्याम्पसमा अध्यनरत रविना सुवेदी महोत्सवको प्रदर्शनीमा राखिएका उपकरणको जानकारी दिन व्यस्त हुनुहुन्थ्यो । महोत्सव अवलोकन गर्न आएका बृहत् कृषि प्रदर्शनीमा पुगेपछि कृषिमा आधुनिकीकरण र व्यावसायीकरण कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी दिने गरेको उहाँले बताउनुभयो। “हामीले सिकेको कुरालाई अवलोकनका लागि आएकालाई भन्ने गरेका छौँ । उत्पादन बढाउन अपनाउनुपर्ने सावधानीको बारेमा बुझाउँछौँ”, रविना भन्नुहुन्छ, “कृषिलाई व्यावसायीकरण र आधुनिकीकरणका लागि आवश्यक उपकरण त्यहीँ प्रदर्शनीमा राखिएको हुँदा त्यसलाई देखाएर बुझाउन सजिलो भएको छ ।”

सोही क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत रविना हुमागाईले दैनिक दुई सयभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने गरेको बताउनुहुन्छ । उहाँले आएका नागरिकलाई कृषि उपकरण, बालीमा लाग्ने रोगको बारेमा र कम्पोस्ट मलले माटो तथा उत्पादन वृद्धिमा पु¥याउने टेवाको बारेमा जानकारी दिने गरेको बताउनुभयो ।

“हाम्रा लागि पनि महोत्सवको कृषि प्रदर्शनी सिकाइजस्तै बनेको छ। सिकेको सिकाउने काम गर्दै आएका छौँ भने नबुझेको कुरालाई साथीहरूको सहजीकरणबाट सिकाई पनि हुँदै आएको छ”, हुमागाईले भन्नुभयो, “त्यसमा पनि तीन क्याम्पसले कृषि प्रदर्शनीमा सामग्रीको प्रदर्शन गर्दै आएका छन्। त्यसले सिकाइमा थप टेवा पुगेको छ।”

त्यसैगरी प्रदर्शनीमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, पोलिटिक इन्स्टिच्युट टीकापुरले पनि कृषि उपकरणसहितका सामग्री प्रदर्शनमा राखेका छन्। प्रदर्शनीमा अन्य कृषि उत्पादनका वस्तुसमेत प्रदर्शनका लागि राखिएका छन् । कृषि प्रदर्शनीमा उत्कृष्ट किसानलाई महोत्सवको समापनको दिन सम्मान गर्ने कार्यक्रमसमेत रहेको कृषि प्रदर्शनी उपसमितिका संयोजक टीका शाही बताउनुहुन्छ । “महोत्सवले कला मनोरञ्जनलाई मात्रै नभई स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको छ”, संयोजक शाहीले भन्नुभयो, “त्यसमा राम्रो उत्पादकलाई सम्मानको कार्यक्रम राखेका छौँ । जसले किसानलाई कृषि क्षेत्रमा थप उत्प्रेरित गर्न विश्वास छ ।”

महोत्सव दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गर्दै आएका छन् । माघ ४ गतेबाट सञ्चालनमा आएको महोत्सवमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव मूल समारोह समिीतका अध्यक्ष चक्रपाीण सापकोटा बताउनुहुँन्छ । महोत्सव १५ गतेसम्म चल्नेछ । “महोत्सव अवधिभर एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा हामीले लिएका छौँ ”, अध्यक्ष सापकोटाले भन्नुभयो, “दुई वर्ष कोरोनाको कारण स्थगित भएको महोत्सवको अवलोकनका लागि स्थानीयको उत्साह राम्रो छ ।”