काठमाडौँ – नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादा र भूमिकाबाट कत्ति पनि बिचलित नभइकन भूमिका निभाउनुपर्ने आग्रह गर्नुभएको छ।
उहाँले विगतमा सभामुखबाट दल फुटाउने भूमिका भएको भन्दै अब त्यस्तो हुँदैन भन्ने अपेक्षा गरेको बताउनुभयो । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार इन्दिरा रानामगरलाई समर्थन गर्दै उहाँले सभामुख र उपसभामुखले संसद्मा रेफ्रीको भूमिका असल र इमान्दारीपूर्वक निभाउन, पदीय गरिमा र गौरव बचाएर राख्न आग्रह गर्नुभयो ।
‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खुल्नु हुँदैन । फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन । भोलि पनि त्यस्तो दिन आउन सक्छ,’ उहाँले भन्नुभयो, ‘सभामुखज्यू, तपाईं कसैको स्वार्थमा नआउनुहोला, यदि जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ।’
प्रतिक्रिया