काठमाडौं । भारतले न्यूजिल्याण्डविरूद्धको एक दिवसीय सिरिज एक खेल अगाडि नै जितेको छ। शनिबार राति भएको दोस्रो खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै घरेलु टोली भारतले एक खेल अगावै ३ खेलको सिरिज २-० ले जितेको हो।
जितको लागि १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले २०.२ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो। भारतको जितमा कप्तान रोहित शर्मा सर्वाधिक ५१ रन बनाए। ५० बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे।
यस्तै अर्का ओपनर शुभमन गिलले ४० रन बनाए। ५३ बल खेलेका उनले ६ चौका प्रहार गर्दै अभिजित रहे। पहिलो विकेटका लागि शुभमन गिल र रोहित शर्माले १४.२ ओभरमा ७२ रनको साझेदारी गरेका थिए।
यस्तै विराट कोहली ११ रनमा आउट हुँदा ईशान किशन ९ बलमा २ चौकासहित ८ रनमा अविजित रहे। त्यसअघि रायपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ३४.३ ओभरमा अलआउट हुँदै १ सय ८ रनमा समेटियो।
न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाए।
यस्तै मिचेल सान्टनारले २७ रन बनाउँदा माइकल ब्रेसवेलले २२ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओपनर फिन एलेन शून्य, डेभन कन्वे ७, हेनरी निकोलस २, डर्याल मिचेल र कप्तान टम लाथम एक एक रनमा आउट भए ।
पाहुना टोलीलाई सस्तैमा समेट्न भारतका मोहम्मद शामीले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए। यस्तै हार्दिक पान्ड्या र वासिन्टन सुन्दरले दुई-दुई विकेट लिँदा मोहम्मद शिराज, शार्दुल ठाकुर र कुलदीप यादवले एक-एक विकेट हात पारे।
यसअघि भारतले पहिलो खेलमा न्यूजिल्याण्डलाई १२ रनले हराएको थियो। उक्त खेलमा ओपनर शुभमन गिलले कीर्तिमानी दोहोरो सतक बनाएका थिए। अब तेस्रो खेल मंगलबार इन्डोरमा हुनेछ।-एजेन्सी
प्रतिक्रिया