अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद साँवाद्वारा ११ जना विद्यार्थीको अभिभावकत्व ग्रहण

सांसद साँवाद्वारा ११ जना विद्यार्थीको अभिभावकत्व ग्रहण


झापा । झापाको क्षेत्र  नं ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एलपी साँवाले सो क्षेत्र अन्तर्गत झापा गाउँपालिकाका दुई विद्यालयमा अध्ययनरत ११ जना विपन्न तथा जेहेन्दार छात्रछात्राको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।  

साँवाले सो पालिकामा पर्ने डिल्लीराज मावि र त्रिभुवन आधारभूत विद्यालयमा अध्ययनरत ती विद्यार्थीलाई एसइई सम्मको अध्ययनका लागि आवश्यक पर्ने विद्यालय पोसाक, स्कुल ब्याग र स्टेशनरी सामग्री समेत लाग्ने सम्पूर्ण खर्च आफ्नो निजी स्रोतबाट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो । आफ्नो निर्वाचन क्षेत्रमा रहेका समस्याहरूको स्थलगत जानकारी लिने क्रममा सोमबार ती विद्यालयमा पुगेका साँवाले सम्बन्धित विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थीहरू माझ त्यस्तो प्रतिबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराउनुभएको हो । त्यस अवसरमा विद्यालयले सांसद साँवालाई स्वागत गर्दै आवश्यकता र समस्याहरूको बारेमा जानकारी गराउनुभएको थियो ।  

सांसद साँवा सो क्षेत्रबाट २०७४ र २०७९ मा भएका प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रही लोकप्रिय मतसहित निर्वाचित हुनुभएको थियो । उहाँले सोमबार नै झापा र गौरीगञ्ज गाउँपालिकालाई जोडने हुलाकी मार्ग अन्तर्गतको निर्माणाधीन कनकाई पुलको समेत निरीक्षण गर्नुभएको छ । पटकपटक म्याद थप भएर पनि पूरा हुन नसकेको सो पुलको निर्माण तत्काल पूरा गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभएको छ ।