काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समस्या समाधानमा राजनीतिक दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
पार्टी स्कुल विभागद्वारा बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कतिपय राजनीतिक दललाई आफ्नो राजनीतिक मिसन पनि जानकारी नरहेको भन्दै अध्यक्ष ओलीले जनता, समाज र देशको समस्या पहिचान गरी त्यसको समाधानमा राजनीतिक दल तल्लीन रहन आवश्यक रहेको बताउनुभयो । जनताको आवश्यकता पूरा गर्नु नै दलको काम भएको भन्दै उहाँले जनताको समस्या समाधानका लागि पहिले समस्याको पहिचान गर्न आवश्यक रहेको चर्चा गर्नुभयो ।
पद र स्वार्थका लागि राजनीति कोही कसैले गर्न नहुने अध्यक्ष ओलीले चर्चा गर्नुभयो। विचारै नभएको, राजनीतिक मिसन नभएका दल चलाउनुको अर्थ नभएको पनि उहाँले चर्चा गर्नुभयो ।

पार्टीको मिसन जनताको समस्या समाधान गरी मुलुकलाई समृद्ध बनाउने रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले दक्ष जनमुखी प्रशासन निर्माण गरी समृद्ध देश बनाउने लक्ष्य रहेको बताउनुभयो । सुरक्षाको प्रत्याभूति, सबैलाई अवसर प्राप्त होस् र सबैले सम्मानित जीवन बाँच्न पाउन् भन्ने उद्देश्य एमालेको रहेको उहाँले प्रष्ट पार्नुभयो ।
अधिकार, अवसर, सामाजिक न्याय र समानता, समृद्ध र सुखी नेपालका लागि एमाले क्रियाशील रहेको बताउनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेका कार्यकर्ता नमुना हुनुपर्छ, जनताको समस्या समाधानमा तल्लीन, आचरणमा खोट लगाउने ठाउँ हुनुहुँदैन ।’

कुरा मात्र मीठा गर्ने, काम नगर्ने नेता कार्यकर्ता जनतामाझ लोकप्रिय बन्न नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निष्ठापूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्छ, हाम्रो दल र अन्य दलमा राजनीतिक विचार, मिसन र लक्ष्यमा अन्तर भएकाले आफूहरू जनताको चाहना पूरा गर्नमै केन्द्रित हुनुपर्छ ।’
‘रिबीले गरिबी निम्त्याउँछ, ऋण लिएपछि ब्याज बढ्छ’ अध्यक्ष ओलीले थप्नुभयो, ‘आम्दानी व्यक्तिको होस्, देशको किन नहोस् मितव्ययी ढङ्गले काम गर्नुपर्छ । आर्थिक अनुशासन कायम गरिनुपर्छ ।’






प्रतिक्रिया