दाङ – दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ।
घोराही–१७ को गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोलामा पुल बनाउन जमिनमुनी फलामको छड गाडेको दुई वर्ष भयो । तर अझै निर्माण सम्पन्न भएको छैन्।
तुलसीपुर उपमहानगरपालिका–१७ बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल पनि समयमा निर्माण हुन सकेको छैन्।
समयमा नै काम सम्पन्न गर्ने गरी २०७८ असार १४ मा ठेक्का सम्झौता गरेको महादेव खिम्ती–अन्जना–जलजला जेभी काठमाडौंले अहिलेसम्म खोलाको दुई किनारमा ‘पाइलिङ फाउण्डेशन’को काम मात्रै गरेको छ।
निर्माणको जिम्मा लिएको कम्पनीलाई स्थानीय प्रतिनिधिले बारम्बार ताकेता गर्दापनि आलटाल गरिरहेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ। खोलाको दुई किनारमा नालासहितको सडक बनिसकेको छ तर खोलामा पुल बन्न नसकेको जनाइएको छ।
सम्झौता पत्र अनुसार कामले निरन्तरता पाएको भए हालसम्म गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोला पुल र तुलसीपुर उपमहानगरपालिका–१७ को बगौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल निर्माण सकिने थियो।
कटुवा खोलामा पुलको काम पुस १३ गते सम्पन्न गरिसक्ने गरी म्याद थप भएको थियो । मकुन्डाँडा जोड्ने पुल भने २०८० पुस १३ मा सक्ने गरी सम्झौता भएको छ । तर निर्माण व्यवसायीको काम हेर्दा समयमा नै सम्पन्न हुनेमा आशङ्का रहेको कार्यालय प्रमुख मनिषकुमार अर्यालले बताउनुभयो । “सम्झौताको म्याद नाघेको छ, अबको कार्य सम्पादन हेरेर धरौटी जफत गर्नुपर्ने र कारबाही किन नगर्ने भनेर जवाफ पनि मागेका छौँ”, उहाँले भन्नुभयो ।
कटुवा खोलामा रू चार करोड १७ लाख २४ हजार र हापुर खोलामा रू आठ करोड ३६ लाख ८३ हजारमा पल निर्माण सक्ने गरी व्यवसायीसँग सम्झौता भएको थियो । तर डेढवर्षमा २५ प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इञ्जिनीयर अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुल निर्माण सन्तोषजनक नभएको र समय थप गर्दा पनि समयमा निर्माण सम्पन्न हुने अवस्था नदेखिएपछि निर्माण व्यवसायीलाई जरिवानाका लागि सम्झौता सकिएको मितिले दुई सय दिनको गणना सुरु गरिएको छ । कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएपछि निर्माण कम्पनीलाई ताकेता गर्न थालिएको उहाँको भनाइ छ ।
प्रमुख अर्यालका अनुसार जिल्लामा दुई सय साठी आयोजना सञ्चालनमा छन् । जसमा ७० प्रतिशत आयोजनाको बजेट २५ लाख भन्दा कम छ । देउखुरीको राप्ती गाउँपालिका–५ मा रहेको दोलही खोला पुलको काम पनि म्याद थपेर २०७९ साउन १० सम्म सम्पन्न गर्नेगरी व्यवसायीलाई जिम्मा लगाइएपनि काम अलपत्र परेको छ ।
बिजौरीदेखि उत्तर नयाँ गाउँ जोड्ने दोलई खोलामा जयबुद्ध–विराटजेभी काठमाडौँले रू पाँच करोड २० लाख सात हजारमा २०७७ भदौ २१ मा निर्माणको जिम्मा लिएको थियो । दङ्गीशरणको गाउँपालिकाको माया खोला र पातु खोलामा भने पुल निर्माण सुचारु रहेको कार्यालयले जनाएको छ ।
पातुखोलाको २०८० असोज ३० सम्म म्याद थपिएको छ भने माया खोलाको २०८० असार मसान्तसम्म थपिएको छ । जिल्लाभरी प्रदेश आयोजना धेरै भएपनि जनशक्ति अभावका कारण कार्यसम्पादनमा कठिनाई हुने गरेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ । निर्माण कम्पनीले भने कोरोनालगायतका कारण देखाउदै जनशक्ति अभाव भएकाले समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको जनाएका छन् ।





प्रतिक्रिया