काठमाडौं – सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा सभामुखलाई बधाई ज्ञापन गर्दै राजदूत श्रीवास्तवले उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले भारतको राष्ट्रिय दिवस २६ जनवरीको अवसरमा शुभकामना दिनुहुँदै नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्नुभयो। सभामुख घिमिरेले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं बर्ष मनाइरहेको सन्दर्भ स्मरण गर्नुहुँदै नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्नुभयो। उहाँले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको बताउँदै दुवै देशका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने धारणा राख्नु भयो ।
राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनका साथै नेपालले भारततर्फ विद्युत निर्यात गरेर राष्ट्रिय आयमा योगदान भइरहेको र आगामी दिनमा अरुण तेश्रो आयोजनाबाट विद्युत उत्पादन हुन थालेपछि सो व्यापार वृद्धि भई दुवै मुलुकलाई लाभ पुग्ने आशा व्यक्त गर्नुभयो । राजदूत श्रीवास्तवले विभिन्न सुख्खा बन्दरगाहमा काम भइरहेको तथा झापाऔसिलिगुडी पेट्रोलियम पाईपलाइन कार्यान्वयनबाट नेपालका पूर्वीभेगका नागरिकलाई राहत हुने अपेक्षा राख्नुभयो।






प्रतिक्रिया