काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आदेश आउने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ ।
आज (शुक्रबार) गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा बढाइएको हो । मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यस्तै प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस्तै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसलाका लागि न्यायाधीशहरु आन्तरिक गृहकार्यमा लागेका छन् । फैसला आजै आउने वा मिति तोक्ने भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।
संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए । यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको थियो ।
प्रतिक्रिया