काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसंग उल्लेख गर्दै उहाँले ती समस्यालाई संविधान अन्तर्गत नै हल गरेर अघि बढन आफूहरु सक्षम रहेको बताउनुभयो ।
शहिद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
संविधान जतिसुकै राम्रो भएपनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाई थियो । उपाध्यक्ष नेम्वाङले भन्नभयो, ‘अहिले भर्खरका पनि घटनाक्रमहरु छन्न नि । सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तर्गत हामी राजनीतिक दलहरुलाई यसलाई एउटा टुंगोमा पुर्याउन सक्षम छौं । पुर्याउँछाै । यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन । यस्ता कुराहरु उत्पन्न हुन्छन् । त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो । मिश्रित निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर हामीले पहिले नै सोचेर संविधान बनाएको हो । त्यसैले यो चिन्ताको विषय होइन ।’
उहाँले भन्ननुभयो, ‘संविधानसभाको अध्यक्षको कुर्सीबाट त्यो संविधानलाई जारी गरिरहँदा मैले भनेको थिएँ– हामीले राम्रो संविधान, समझदारीको संविधान, हाम्रा दलहरुको बुद्धिमानीको परिणाम यो संविधान हामीले बनायौं । जारी गर्यौं । यसलाई कार्यान्वयन गर्न पर्छ । तर यो संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा जिम्मेवारी भनेको हाम्रो हो । जतिसुकै रामो संविधान होस्। आज शहीद दिवसको दिनमा म त्यो भनाई सम्झन्छु–जतिसुकै राम्रो संविधान होस्, त्यसले बुद्धि, विवेक र क्षमता चाँहि बाँडदैन । मिल्ने भए त एक किलो, दुई किलो, १५ किलो बुद्धि, विवेक क्षमता बाँडदा हुन्थ्यो नि । तर राम्रो संविधानले त्यो गर्न सक्दैन । त्यो बुद्धि, विवेक र क्षमता हामीले देखाउन सक्नुपर्दछ । मलाई विश्वास छ– हाम्रो पार्टी अग्रपंक्तिमा उभिएर सबै समस्याहरुलाई समाधान गर्दै अगाडि बढनुपर्छ भनेर अगाडि बढिरहेको छ । जुनसुकै समस्यालाई हामी यो संविधान अन्तरगत रहेर समाधान गर्छौंं ।’
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र त्यसको नेतृत्व समक्ष रहेको बताउनुभयो ।






प्रतिक्रिया