काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्ने बताउनुभएको छ।
बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने उहाँले बताउनुयभो । नेपाल नर्सिङ संघको ६१औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
स्वास्थ्यमन्त्री गिरीले भन्नुभयो, ‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ । नर्सहरूले एउटा लेभल पास गर्नुहुन्छ। मैले सुने ८-१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्युनतम तलब भत्ता पनि नदिइ श्रम शोषण गर्ने कुरा कुनै पनि हालतमा ठिक हुँदैन । त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रो गरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नविकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ ।’
संवेदनशिल पेशा भएकाले नर्सहरूमा धैर्यता जरुरी रहने उहाँले बताउनुभयो । ‘तपाईंहरू यो पेशामा आउँदाखेरी नै यो पेशाका चुनौती के–के हुन् भन्ने थाहा पाएरै आउनुभएको छ। त्यसैले जस्तोसुकै बेलामा पनि धैर्याता चाहिन्छ । तपाईंहरुको सानो लापरबाहीले एकजनाको ज्यान जानसक्छ । उसका बालबच्चा टुहुरा हुन सक्छन् र आफन्तले परिवारको सदस्य गुमाउँछन् । त्यसैले नर्सहरुको काँधमा ठूलो अभिभारा हुन्छ,’उहाँले भन्नुभयो।
दक्ष नर्सहरू राम्रो सेवा–सुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक पाटो रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी संसारको जुनसुकै कुनामा गएर भएपनि जागिर गर्दा हुन्छ । तर हामी दक्ष हुनुपर्यो। हामीले पाउने सेवा सुविधा त्यही मापदण्डको हुनुपर्यो । आज विदेशीहरू नेपालमा आएर जागिर खाइरहेका छन् । हामी पनि जान हुन्छ । तर श्रमको न्युन मुल्य लिएर जाने कुरा उचित हुँदैन ।’
प्रतिक्रिया