पोखरा – पोखरामा आज बिहान आगोमा जलेका दुईजनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ।
पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उहाँ बस्दै आउनु भएका घरको घरधनी संगीता सापकोटा जलेका हुन्।
उहाँहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आउनुभएको थियो । ‘महिला ८५ प्रतिशत जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ, अवस्था चिन्ताजनक छ’, अस्पतालका निर्देशक भरत खत्रीले भन्नुभयो, ‘पुरूष २५ प्रतिशतमात्र जलेका छन्, इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ।’

घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन्। कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन्। घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकिन भएको छैन ।
प्रहरीका अनुसार कृष्णले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी महिलाले देखेर बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो।
‘शनिबार नै बाइकमा पेट्रोल सकियो भनेर साथीसँग एउटा बोटलमा पेट्रोल लिएका रहेछन्’, एक प्रहरी अधिकारीले भन्नुभयो, ‘बिहान पेट्रोलको बोटल लिएर बाथरुममा गई शरीरमा छर्किएर आगो लगाउँदै रहेछन् । घरबेटी महिलाले देखेर बोटल खोस्दा उनको ज्यानमा पनि पेट्रोल खस्यो र उनलाई पनि आगो लाग्यो भन्ने छ । थप अनुसन्धान भइरहेको छ ।’
उनले चिकित्सकहरुलाई आफूलाई बाँच्न मन नभएको भन्दै उपचार नगर्न आग्रह गरेका छन्। प्रहरीका अनुसार कृष्ण आर्थिक समस्यामा थिए । उनकी श्रीमतीले मादीको ताङतिङमा पढाउँछिन् । कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेको र मर्न पाउनुपर्ने बताएका छन् । प्रारम्भिक अनुसन्धानले कृण्ण डिप्रेसनमा रहेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताउनुभयो ।





प्रतिक्रिया