अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेश : नवनियुक्त अर्थमन्त्री यादवद्वारा पदभार ग्रहण

मधेस प्रदेश : नवनियुक्त अर्थमन्त्री यादवद्वारा पदभार ग्रहण


धनुषा – मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सञ्जय यादवले पदभार ग्रहण गर्नुभएको छ। गत बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गर्नुभएका मन्त्री यादवले आज पदभार ग्रहण गर्नुभयो।

पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजस्वलाई वृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो। मन्त्री यादवले बजेटमा भएका प्रावधानअनुसार चालु खर्चलाई मितव्ययी बनाउँदै खर्च कटौती गर्ने र पुँजीगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले जानकारी दिनुभयो।

यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री ई वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरिसक्नुभएको छ। गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका सरोजकुमार यादवले पुस २९ गते बिनाविभागीय मन्त्रीसँगै शपथ लिनुभएको थियो।

मुख्यमन्त्री यादवले माघ १२ गते बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोक्नुभएको थियो । मुख्यमन्त्री यादवले नेकपा ९एमाले० संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो।

मुख्यमन्त्री यादवले प्रदेशका बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राख्नुभएको छ। मधेस प्रदेशको सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति जुट्न नसक्दा सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन।