अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट बाहिरिने चेतावनी

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट बाहिरिने चेतावनी


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

शक्ति बाँडफाँटमा उक्त मन्त्रालय आफ्नो भागमा परेकाले त्यसको नेतृत्वका विषयमा आफ्नो पार्टीले निर्णय लिने महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।

अन्य दलहरुसँगसमेत थप छलफल गरेर उक्त मन्त्रालयको जिम्मेवारीका विषयमा निर्णय लिइने ढकालले बताउनुभयो । बैठकले सभापति लामिछानेलाई नै पठाउने बारेमा अन्य दलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको आदेशपछि आज मात्रै पुनःनेपाली नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई पार्टी सदस्यतादेखि फेरि सभापतिको जिम्मेवारी सुम्पिएको स्वतन्त्र पार्टीले सरकारमा बसिरहन गृह मन्त्रालय नै पाउनुपर्ने बटम लाइन बनाएको हो।

संवैधानिक व्यवस्थाअनुसार लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पुनर्बहाली नगरे सत्ताबाट बाहिरिने स्वतन्त्र पार्टीको चेतावनीले बालुवाटारमा हलचल ल्याएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरूसँग लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली गराउने वा नगराउने विषयमा छलफल गरिरहेका छन्।

गृहमन्त्रीमा पुनः लामिछाने नै जाने या अरूलाई पठाउने भन्ने निर्णय भने स्वतन्त्र पार्टीले गरेको छैन। नेपालको संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री बन्न पाउने व्यवस्था छ।

ढकालले भन्नुभयो,  ‘यो हामीमा आएको समस्या हो। त्यसैले अन्य दलले त्यही अनुरुप बुझ्नुपर्छ। अरु दलले कसरी मूल्यांकन गर्नुभएको छ भन्ने विषयमा भने हामी छलफल गर्छौं। त्यसपछि उक्त मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा निर्णय लिन्छौं।’

शुक्रबार सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेका लामिछानेले नेपाली नागरिकताका लागि गर्नुपर्ने प्रक्रिया नगरी पुरानै नागरिकता प्रयोग गरी निर्वाचन लडेको भन्दै सांसद पद खारेज गरिदिएको थियो। केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्रीमा बहाली गर्न सकारात्मक रहे पनि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारमा परेका छन्।