काठमाडौं – सिमा रक्षकको रूपमा सप्तरीका देवनारायण यादवको जति चर्चा भयो उनीभन्दा दशकौं पुराना योद्धा गोपाल गुरुङ त्यती चर्चा नपाइ अस्ताए। केही मिडियाहरूले ‘कर्नर’मा गुरुङको मृत्युको समाचार लेखे, देखाए र प्रशारण गरे। भारतले दशकौं देखि अतिक्रमण गरेको भूमी सुस्ताको बचाउमा गुरुङले करीब २५ वर्ष संघर्ष गरको योगदानको चर्चा कमै थियो यो। सुस्तामा भारतीय अतिक्रमण रोक्नकै लागि सुविधा सम्पन्न ठाउँमा बसोबास गर्न छोराछोरीले निरन्तर आग्रह गर्दा पनि गुरुङले कहिले पनि मानेनन्। अन्तत सुस्ताको भूमी संरक्षणको लागि संघर्षरत अवस्थामा माघ १० गते उनको निधन भयो।
गोपाल गुरुङलाई मैले २०६१ सालमा चिनेको हुँ। कान्तिपुर दैनिकको रिर्पोटरको रूपमा नवलपरासीमा काम गर्दा सुस्ता जाने क्रममा गुरुङसँग चिनाजान भएको हो। तर उनी केवल सुस्ताबासी मात्र थिएनन् नारायणीपारीको टापु गाउँका नेता पनि थिए। भारतले पटक-पटक सिमा मिच्दै सुस्ता हड्पने नियतका अवरोधक र नेपाली सिमा रक्षाका एउटा पर्खाल थिए गोपाल गुरूङ ।
नेपाल प्रहरीका पूर्व हवल्दार गुरुङले काम विशेष बाहेक नारायणी तरेनन् । बरू भारतीयको चियो चर्चो गरेर उतै बसे। बर्खामा नारायणीको बाढीले कहिले सुस्ताबासीको घर डुबाउथ्यो। सुरक्षित ठाउँमा आउन भारतकै बाटो प्रयोग गरेर गण्डक बराज हुँदै त्रिवेणी आउनु पथ्र्यो । हिउँदमा पक्लिहवा देखि नारायणीमाथि बग्ने डुंगाको साहायताले वारीपारी हुन्थ्यो । अझ भनौ करीब ६ महीना सुस्ताबासी भारत र नारायणीको नाकाबन्दीमा हुन्थे । आफ्नै खेतबारीमा काम गर्न जाँदा भारतीय सुरक्षाकर्मीबाट असुरक्षित दिदीबहिनीहरूलाई उनी अभिभावक भएर सुरक्षा दिन्थे । भारतीय सुरक्षाकर्मीहरू सुस्ताको पूर्वी भागमा हतियार लिएर गस्ती गर्दा गुरुङ खुकुरी र लाठी भिरेर भारतीय सिमानामा डुलिरहेका हुन्थे । गोपाल थिए र सुस्ता बचेको थियो। सुस्तेलीहरूले छहारी पाएका थिए । तर त्यो छहारी अब सधैंका लागि ढलेको छ । अब सुस्ता जाँदा गोपाल गुरुङ भेटिने छैनन् । ब्रेन हेमरेजका कारण उनको भैरवहास्थित मेडिकल कलेजमा निधन भइसकेको छ।
भारतले पटक-पटक सिमा मिच्दै सुस्ता हड्पने नियतका अवरोधक र नेपाली सिमा रक्षाका एउटा पर्खाल थिए गोपाल गुरुङ।

गुरुङले गुमनाम मृत्युवरण गरे । न उनी रोगले थलिंदा सरकार जानकार रह्यो न मृत्युमा सरकारले चासो नै राख्यो। सिमा रक्षाका लागि लडिरहेका एउटा योद्धा ढल्यो । सुस्ताको पर्खालको रूपमा रहेका गुरुङको मृत्युपछि सुस्तेलीले असुरक्षित महसूस गरेका छन् । उनीहरूलाई अब कसले सुरक्षा देला ? गोपालले भारतीय सुरक्षाकर्मी र त्यहाँका बासिन्दाको नेपालको सुस्ता मिच्ने चाहनामा गरेको अवरोधको बदला अब सुस्तेलीहरूसँग लिने हुन् कि भन्ने त्रास यहाँका बासिन्दामा छ।
गोपालले सुस्ता बचाउनका लागि आफ्नो वर्गतले भ्यासम्म गरे । सरकारलाई गुहारे। सिमाविद्धलाई सुस्ता घुमाए । सांसद र प्रशाशकलाई बोलाए । बासै सुस्तामा बसाए । पूर्वप्रहरी हवल्दार गुरुङले यी सबै मनोवैज्ञानिक युद्ध लडेका थिए भारतीय पक्षसँग।
सरकारी बन्दुक छोडेर लाठीको साथ
गुरुङ नेपाल प्रहरीमा हवल्दारको रूपमा कार्यरत थिए । २०५५ सालमा उनको सरूवा तत्कालीन त्रिवेणी सुस्ता गाविसको सुस्ता प्रहरी चौकीमा भयो । सुस्ता पुगेपछि गुरुङले थाहा पाए दिनहुँ भारतीयको ज्यादती । नारायणी नदीले घेरिएको सुस्तामा दाल, चामल किन्न र औषधीमुलो गर्न पनि भारतीय बजारको विकल्प थिएन । नेपाली भूमिमा आउनका लागि हिंउदमा डुंगा तर्न सकिन्थ्यो । बर्खामा तीन/चार वटा घोला तरेर भारतीय भूमि हुँदै गण्डक बराज पार गरेर त्रिवेणी आउन सकिन्थ्यो । करीब एक वर्षको सुस्ता बसाईमा कैयौं पटक भारतीयले सुस्ताको सिमा मिचे । तथापी हवल्दारको तहबाट रमित हेर्ने, आफ्नो तालुकदार अडालाई खबर गर्ने बाहेक अर्को काम गोपालले गर्न सक्दैन थिए। जागिरको दौरानमा उनले योजना बनाए । अब जागिर छोड्छु नेपाल प्रहरीको बन्दुक बोकेर गर्न नसकेको सुस्ताको जमिनको सुरक्षा नागरिक भएर लाठी बोकेर गर्नेछु ।
आफनो अठोट अनुसार २०५५ सालमा गुरुङले जागिर छोडे । तर उनीसँग सुस्तामा बस्ने जमिने थिएन । गोपालको अग्रसरता देखेर एकजना समाजसेवी टेकनारायण उपाध्यायले उनलाई एक कठा जमिन उपलब्ध गराए । गोपालले त्यही जमिनमा सानो घर बनाएर सुस्त संरक्षणको ठूलो अभियान सञ्चालन गर्न थाले । त्यो अभियानमा जोड्एि सुस्ता कै लैला बेगमहरू । लैला मुसलमान समुदायकी एक योद्धा नारी हुन् । सुस्ता बचाउनका लागि भारतीयसँग भिड्ने, नेपालका प्रहरी प्रशासनलाई दबाब सृजना गर्ने सुस्ताको समस्या लिएर सिंहदरबार धाउने काम गोपालसँगै लैलाले पनि गरिन् ।
एक वर्ष भारतीय जेलमा
सुस्ता बचाउ अभियान थालेको दुईवर्ष मात्र बितेको थियो । भारतीय सुरक्षाकर्मी नेपाली भूमीमा प्रवेश गर्दा गुरुङ लाठी मुंग्री गरेरै धपाउथे । उनलाई देख्नेहरू भन्छन् ‘हतियारधारी भारतीय सिपाहीसँग भिड्न गोपाललाई कसरी आँट आएको हो ? पश्चिमतिर विशाल नारायणी नदी पर्वतिर जंगलसहितको भारतीय भूमी । यती असुरक्षित भूगोलमा गोपालको साहसले सबै सुस्तेलीलाई सुरक्षा दिएको आभास हुन्थ्यो ।’
२०५७ सालमा खाद्यान्न किन्न सिमावर्ती बजार भेडियारी जाँदै थिए । भारतीय प्रहरीले जंगली जनावर शिकार गरेको आरोपमा गुरुङलाई पक्राउ ग¥यो । त्यसपछि एकवर्षसम्म बगाहा चौकीमा थुनेर राख्यो । उनलाई भारतका विरूद्ध गतिविधि नगर्न अनेकन प्रलोभन गरियो । भारतीय सुरक्षाकर्मीले सोचेका थिए अब गुरुङले सिमा रक्षाका नाममा भारतीय सुरक्षाकर्मीलाई अवरोध गदैनन् । तर त्यसो भएन भारतीय जेलमा बस्दा उनले यो अभियानलाई कसरी काठमाडौंलाई चिनाउने र सुस्ताको सिमाबाट भारतीलाई कसरी अघि बढ्न रोक्ने भन्ने बारेमा थुप्रै योजना बुनेर बसेछन् ।

गोपाल गुरुङलाई पहिलो पटक भेट्दा…..
२०६२ साल असारको सुरूवाती दिन । देशमा माओवादी युद्ध चरम अवस्थामा थियो । देशका विभिन्न भागमा माओवादी लडाकु र सरकारी सुरक्षाकर्मीबीच गोली हानाहान भइरहेका खबर आउँथे । निर्दोष मानिसहरूलाई सुराकी र माओवादीका नाममा अपहरण र हत्याका खबर चारैतिरबाट आँउथे । तर नवलपरासीको सदरमुकाम परासीमा अर्कै प्रकारको खबर फैलियो । त्यो खबर भारतले सुस्ताको करीब तीन सय विगाहा जमिन अतिक्रमण गरेर टहरा बनाउदै गरेको १०औं ट्याक्टर लगाएर खनजोग गर्दै गरेको । सुस्ताबासीले त्यसको प्रतिकार गर्न प्रयास गरे पनि सफल नभएको खबर फैलियो । नवलपरासीमा द्वन्द्वको नयाँ तत्व थियो, प्रतिकार समिति । जसलाई माओवादी विरूद्ध लड्न सेनाले हतियार उपलब्ध गराउने, तालिम दिने काम समेत गरेको थियो । प्रतिकारको आधारभूमी भएर सुस्ता जानु पर्दथ्यो । यो नयाँ भूगोलमा पुगेर नयाँ विषयको रिर्पोटिङ गर्न म मा ठूलो कौतुहल जाग्यो ।
उक्त अतिक्रमणको स्थलगत अवलोकन गर्न सिडीओ र एसपीको टोली सुस्ता जाने जानकारी मैले पाएँ । सिडिओलाई मलाई लिफ्ट दिन अनुरोध गरें । उनले अस्विकार गरे । त्यसपछि एसपी रामकुमार खनाललाई अनुरोध गरे । उनले पनि सिडिओले नमानेको जवाफ दिए । परासी चौराहाबाट एसपीको गाडी अघि बढेको पाँच मिनेट नपुग्दै एकजना प्रहरी मेरो छेउमा मलाई एसपीले सुस्ता जाने प्रवन्ध गरेको खबर सुनाए । उनले ‘झिल्के कान्छा’ नामको जीप मगाएर त्यसैमा चढेर म प्रहरीको साथमा भारतीय भूमी भेडियारी हुँदै सुस्ता पुगे । आँखाले भ्याएसम्मको विशाल मैदानमा उखुबारी थियो । प्रहरी चौकी छेवैमा केही मानिसहरू मलिन मुहार लगाएर उभिएका थिए । उत्तरपश्चिमतिर १० वटाजती भारतीय ट्रयाक्टर धमाधम नेपाली जमिन जोत्दै थिए । केही ठाउँमा आगो लगाइर ढालफाँडको काम भइरहेको थियो ।
केही मान्छेको भिडमा पुरानो पहेंलो भेष्ट हाफपेन्ट रातो ह्याट र चप्पल लगाएका एकजना मंगोलियन सुस्ता अतिक्रमणको बेलिबिस्तार लगाउदै थिए । मधेसीमुलको बसोबासो भएको सुस्तामा यी पहाडी मुलका मतवाली अनुहार कहाँबाट आएछन् भनी मनमनै गमे । केहीबेरपछि थाहा भयो उनी सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरूङ रहेछन् । उनको पुख्र्यौली घर तनहुँ रहेछ । तर यो सिमा क्षेत्रमा उनकै अग्रसरतामा भारतीयले सुस्ता हडप्नबाट जोगाएका रहेछन् । त्यसैदिन गोपाल गुरूङसँग औपचारिक चिनजानी भयो ।

दलहरूको जनआन्दोलनको तयारी, गोपालको सुस्ता बचाउने तयारी
२०६२ सालको मंसिरमा तत्कालिन सात दल र विद्रोही माओवादीबीच भारतमा १२ बुँदे सहमती भएर संयुक्त जनआन्दोलन गर्ने तयारी गरिरहेका थिए । यता भारतले सिमा मिचेर हैरानी परेका सुस्तेलीहरू काठमाडौं आएर देशको सिमा रक्षाको आन्दोलन चर्काउने तयारी गर्दै थिए । हुन त यस अघि साउनमा पनि ४० जनाको टोली लिएर गुरूङ काठमाडौंमा धर्ना बस्न आएका थिए । त्यही सालको हिंउदमा ८४ जना सुस्तेलीलाई पछि लगाएर गोपाल काठमाडौं आए । माइतीघरमा धर्ना बसे । काठमाडौंको चिसोले सुस्ता बचाउन माग गर्दै धर्नामा बसेका रामानन्द चमारको निधन भयो । तर सरकारले सुस्ता बचाउन भारतीय पक्षसँग कुनै पहल नगरेको अभियानका प्रवक्ता रविन्द्र जयसवाल बताउछन् ।
दलहरूले राजा ज्ञानेन्द्रले संसद भंग गरेर सत्ता हडपेको विरूमा गरेको आन्दोलन सफल भयो । देशमा गणतन्त्र घोषणा भयो । दलहरूका माग पुरा भए । माओवादीले बन्दुक बिसाएर शान्ती प्रक्रियामा आयो । तर गोपालको सुस्ता बचाउने अभियान सफल भएको थिएन । र,दलहरूको ध्यान यो आन्दोलनप्रति खिचिएको पनि थिएन । तथापी गुरूङले हरेश खाएनन् । माओवादी शान्ती प्रक्रियामा आएपछि गाउँ गाउँबाट विस्थापित भएका टेलिफोन बुथहरू गाउँमै फर्किए । त्यती मात्र होइन मानिसहका हातहातमा मोबाइल भयो । जसले गर्दा खबर ओहोर दोहोर सहज भयो। तथापी सुस्तामा मोवाइलको नेटवर्क थिएन । उनीहरू नारायणीवारी त्रिवेणीमा आएर मोवाइलमा सम्पर्क गर्थे ।
एकदिन अपरान्हतिर मेरो मोवाइलको घण्टी बज्यो। सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरूङले गरेका रहेछन्। उनले भने बिहारी फेरी सुस्ता पसे । काठमाडौंसम्म खबर गर्नुपर्यो । त्यहाँको सिडिओ र एसपीलाई तताउनु पर्यो । तपाईं भोली सुस्ता आउनुहोस । करीब एक मिनेटमा गोपालले एकोहोरो सुचना मलाइ दिएर मोवाइल राखे । तर उनले भनेजस्तो भोलीपल्ट म सुस्ता जान सकिन ।
२०६३ को असारमा सिमाविद्ध बुद्धीनारायण श्रेष्ठको टोली सुस्ता आउनेभयो । जसमा थिए सिमाविद्ध चेतेन्द्रजंग हिमाली,फणिन्द्र नेपाल,डा.शास्त्रदत्त पन्त,रामचन्द्र चटौत,गोपाल शिवाकोटी चिन्तन,रतन नेपालहरू । उक्त टिममा परासीबाट मिसिएर म दोस्रो पटक सुस्ता गएं । हामी गण्डक बराज तरेर भारतीय भूमी पुगेपछि ट्याक्टर चढेर सुस्ता पुगेका थियौं। करीब दुई घण्टा त्यहाँ बस्दा अतिक्रमण भएको क्षेत्र गोपाल र लैलाले देखाए । सिमाविद्धहरूले लगेको नक्सा अनुसार नारायणी नदीमा २०३४ सालतिर आएको बाढीले धार बदलेर पश्चिमतिर जाँदा सुस्तालाई भारतले आफ्नो दाबी गरेको हो । उसले नारायणीलाई सिमा नदी मान्नुपर्छ भन्ने कुतर्क अघि सार्दै सुस्तालाई कहिले आफ्नो भूमि त कहिले विवादित भूमिको संज्ञा दिने गरेको थियो । नारायणी नदीले धार परिवर्तन गरेको दुई वर्ष नपुग्दै भारतले सुस्ता अतिक्रमण सुरू गरेको हो।
गोपालको गोठमा धुँवामा निसाँसिदा...
दलहरूको नेतृत्वमा सुरू भएको जनआन्दोलन सफल भयो । राजाले विघटन गरेको सँसद पुनस्र्थापना भयो । जनताका अधिकार जनतामै फर्काइए । दलहरूसँगै गोपालले सुरू गरेको सुस्ता बचाउ अभियान सफल भएको थिएन । न त भारतले आफूले मिचेको भूमी फिर्ता गरेको थियो न त सिमा मिच्न नै छोडेको थियो ।
सुस्ता मिचेको विषयमा काठमाडौं मै धर्ना बसेका,पटक पटक डेलिगेसन गएका गोपालको आग्रहमा लोकतन्त्र स्थापना भएको करिब पाँच महिनापछि संसदीय समिती सुस्ता पुग्यो । उक्त टोलीमा तत्कालिन साँसदहरू तिर्था गौतम,नवराज सुवेदी लगायत थिए । परासीबाट साँसद,सिडिओ माधव रेग्मी,एसपी रमेश पाण्डे सहित म पनि सुस्तातर्फ गँए । त्रिवेणी पुग्दा झमक्क साँझ पर्यो। अब भारतको बाटो भएर सुस्ता जानु पर्दथ्यो । भारतीय भूमीमा केहीबेर गाडीमा गएपछि अब पैदल जानु पर्नेथियो । रात परिसकेकोले ठूला ठूला टर्च लाइट बालेर साँसदहरूको टोली सुस्ता पुग्यो राती ८ बजेतिर । त्यहाँ ठूलो आश र भरोसा बोकेर पर्खिरहेका थिए गोपाल गुरूङ,लैला बेगम र सुस्तेलीहरू । सुस्तामा सरकारी तहबाट उच्च तहको यो पहिलो निरीक्षण भ्रमण थियो ।
गोपाल थिए र सुस्ता बचेको थियो । सुस्तेलीहरुले छहारी पाएका थिए । तर त्यो छहारी अब सधैंका लागि ढलेको छ । अब सुस्ता जाँदा गोपाल गुरुङ भेटिने छैनन् ।

धेरैजना भएकोले सुत्नलाई समस्या हुने भयो । सुरक्षाको दृष्टिकोणले पनि सबै वरिपरीका घरमा नै बस्नु पर्दथ्यो । त्यही भएर म गोपालको गोठको माथिल्लो तलामा सुत्नु पर्नेभयो । तल गाई भैंसी बाँधेको थियो । माथी म सुतें । राती १ बजेतिर वरिपरी धुँवाले गाँजिएर म निस्सासिएको अवस्थामा अवस्थमा ब्यूझिंए । गोठमा आगलागी भएपछि भनेर आँगनमा झरें । तर होइन रहेछ । लामखुट्टेको टोकाइबाट जोगाउन टाँडमुनी धानको भूसमा आगोे लगाएर गोपालले धुँवा लगाइदिएका रहेछन् । झूलको अभावका कारण लामखुट्टेबाट जोगाउन धुँवाको साहारा लिनु परेको रहेछ । राती नै भूसको आगो निभाएर म सुतें ।
त्यसबेला संसदीय समितीलाई गोपालले दिएको जानकारी अनुसार सुस्तामा कुल ४० हजार ९ सय ८० हेक्टर जमिन हो। १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेका छन् । उक्त जमिनको लालपूर्जा सुस्ताका नेपालीहरूसँग छ । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दैछन् । १९ हजार ४सय ८० हेक्टर जमिनलाई लाई भारतले विवादित भन्दै नेपालीलाई उपभोग गर्न दिएको छैन ।
गोपालकै आग्रहमा सुस्तामा २०६५ सालतिर शसस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको छ । सडक र विद्युतको विस्तार गरिएको छ । पक्लिहवाबाट सुस्ता जोड्ने झोलुंगे पुल निमार्णाधिन छ । नेपालतर्फको चहलपहल बढेका कारण सुस्तामा भारतीय अतिक्रमण क्रमश घटेको छ । तर भारतले हडपेको जमिन फिर्ता गरेको छैन । विवादित भूमी भनेर भारतले करिब २० हजार हेक्टर जमिन उपयोग गर्न दिएको छैन । गोपाल यो जमिन फिर्ता ल्याउन संघर्षरत थिए । भारतीयहरूको कब्जामा सुस्ता नपरोस भनेर राज्यका हरेक निकायलाई उनी घच्घच्याइरहेका थिए।
प्रतिक्रिया