अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन: सभामुख घिमिरे

संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन: सभामुख घिमिरे


काठमाडौं – सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ ।

सोमबार संसदीय मामिला पत्रकार समाजसँग आबद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्नुहुँदै सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको हो ।

सभामुख घिमिरेले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरू सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरूलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । पत्रकारहरूलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने उहाँको भनाइ छ । सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिबद्धता जनाउनुभयो ।

‘मिडिया भनेकै भइरहेका कुराहरूलाई समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने होला । अब हुने कुराहरू भनेको देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरू र गरिएका निर्णयहरू हुन् । ती निर्णयहरूलाई, पत्रकारहरूलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठ्यारो पार्नुपर्ने हुँदैन । पत्रकारहरूले पनि नभएका, नचाहिँदा, नहुने कुराहरू गर्न लागेको भए पो ती कुराहरू कसरी प्राप्त गर्ने ? के गर्दा प्राप्त गर्ने ? कोसँग बसेर प्राप्त गर्ने ? कोसँग जुधेर प्राप्त गर्ने ?’ सभामुख घिमिरेले भन्नुभयो, ‘’तर त्यो नभएपछि यी कुराहरू सहज ढङ्गले जाने कुराहरू हुन्। हाम्रो हलको अवस्था, त्यहाँ भित्रको सुरक्षाको कुरा, त्यहाँ भित्रका अन्य प्रबन्धका कुराहरूलाई मिलाउने सन्दर्भमा भएका अप्ठ्याराहरूलाई सहजता गर्न सकिने के छ त्यसलाई अपनाउने कुरा सामान्य कुरा हो ।’

उहाँले थप्दै भन्नुभयो, ‘पत्रकार जनताका बीचमा सही कुरा सम्प्रेषण गर्न लाग्ने। सही कुरा रोक्नको लागि चाहिँ संसद्, संसद् सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरू छैन, आउँदैन, आउनु हुँदैन । जहाँसम्म गोप्य राख्दाखेरी त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रसारण गर्दाखेरी फाइदाको विरुद्धमा बेफाइदा हुँदैन र रु मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो ।’

उहाँले समाजलाई सचेत गराउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरूलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।