अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घट्यो अन्तर बैंक एटीएम शुल्क, वालेटबाट बैंक खातामा २ लाखसम्म पठाउन मिल्ने

घट्यो अन्तर बैंक एटीएम शुल्क, वालेटबाट बैंक खातामा २ लाखसम्म पठाउन मिल्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले अन्तर बैक एटीएम सेवामा लाग्ने घटाएको छ। एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क अब अधिकतम् १५ रूपैयाँ लाग्ने व्यवस्था गरेको छ। क्युआर स्क्यानसहित मोबाइल बैंकिङका माध्यमबाट हुने डिजिटल कारोबारमा रहेको रकमको दैनिक सीमा पनि बढाइएको छ।

हालसम्म एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा बैंकहरुले यस्तो कारोबारको शुल्क २० रुपैयाँसम्म लिँदै आएका थिए ।

राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै सो व्यवस्था गरेको हो। यससँगै, अबदेखि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ रुपैयाँ सम्म शुल्क लाग्नेछ। यसअघिसम्म मासिक दुईवटा अन्तर बैंक एटीएम कारोबार निःशुल्क हुने व्यवस्था थियो। संशोधनपछि मासिक दुईवटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ।

यसैगरी, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ। यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन २ लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ । त्यस्तै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो ।

एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत राखिएको छ ।

मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत)बाट यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने बनाइएको छ ।

सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस)मा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् सञ्चालन गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि संशोधन भएको छ । यसअघि ३ हजार रुपैयाँसम्मको कारोबारमा ५ रुपैयाँ शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा ५ हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । त्यस्तै रू.पाँच हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्नेछ ।

यसअघि ३ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्ने गरेको थियो । १० हजार १ रुपैयाँभन्दा माथिको सबै कारोबारमा २० रुपैयाँ शुल्क लाग्ने गरेकोमा त्यस्तो शुल्क घटाएर १० रुपैयाँ बनाइएको छ ।