अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको उत्कृष्ट नीति र नेतृत्वलाई स्थापित गर्दै युवा संघ अगाडि बढ्नुपर्छ : काशिनाथ अधिकारी

एमालेको उत्कृष्ट नीति र नेतृत्वलाई स्थापित गर्दै युवा संघ अगाडि बढ्नुपर्छ : काशिनाथ अधिकारी


हेटौंडा – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज काशिनाथ अधिकारीले एमालेको नीति र नेतृत्व विश्वकै उत्कृष्ट रहेको बताउनुभएको छ।

आजदेखि हेटौंडामा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘नेकपा एमालेको नेतृत्व अर्थात् अध्यक्ष केपी शर्मा ओली नेताहरुको पनि नेता हो। अध्यक्ष ओली राजनेता हो ।’

एमालेको उत्कृष्ट नीति र नेतृत्वलाई स्थापित गर्दै युवा संघ अगाडि बढ्नुपर्ने नेता अधिकारीले बताउनुभयो। एमालेको नीति र नेतृत्व मात्र नभएर कार्यकर्ता पंक्ति पनि निक्कै बलियो रहेको भन्दै उहाँले सबै कुराले भरिपूर्ण पार्टी एमाले भएको बताउनुभयो ।

एमालेका नेताहरु अनुशासित हुने भन्दै उहाँले खराब कार्यशैली छ भने त्यो त्याग्नुपर्ने उहाँले बताउनुभयो ।

एमाले र एमालेका जनसंगठनलाई कुनै पनि कालखण्डमा हार्ने छुट नभएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘एमाले जितेका ठाउँमा सधैं एमालेले नै जित्नुपर्छ, एमालेले जितेमात्र सर्वहारा वर्गको हित हुनेछ, चाहे स्थानीय होस् चाहे अरु चुनाव पहिले जितेका ठाउँमा हामी किन हार्‍यौं ? यसको समीक्षा गर्न जरुरी छ ।’

अहिलेको युवा संघ भनेको भोलिको नेकपा एमाले भएको भन्दै उहाँले त्यसका लागि युवा संघका नेताहरु तयार हुनुपर्ने बताउनुभयो। नेपालमा विभिन्न पार्टीसँग आबद्ध थुप्रै संगठनहरु रहेका भएपनि एमाले आबद्ध युवा संघ विशेष भएको उहाँले बताउनुभयो ।

नेता अधिकारीले राजनीतिमा लाग्नेहरुले इमान्दारीता, धैर्यता र निरन्तरता यी तीन कुरालाई ख्याल गर्नुपर्ने  बताउनुभयो ।

देशमा देखिएका विकृति र विसंगतीलाई युवा संघले अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो। युवा संघले टोलटोलमा कमिटी बनाएर अघि बढ्नुपर्ने नेता अधिकारीको सुझाव छ। पार्टीले गरेका अपेक्षा युवा संघले पूरा गर्नुपर्ने भन्दै उहाँले त्यो अपेक्षा पूरा हुने संकल्प यस बैठकले गर्नुपर्ने बताउनुभयो।

नेता अधिकारीले एमालेका जनसंगठनमा नयाँ पुर्नजागरण आवश्यक रहेको उहाँले बतउानुभयो ।