काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर पानी बिनाको माछा जस्तै छट्पटाइरहेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
पुस १० मा आफ्नो पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मंसिर ४ को निर्वाचनको परिणामपछि कांग्रेसले सरकार बनाउने पहलकदमी लिन सकेन । त्यसकारण मैले पहलकदमी लिएर सानासहितका दलहरु जुटाएर यो सरकार बनाएका हौँ। यो सरकार बनेदेखि देशमा उत्साह जागेको छ। तर देशलाई फेरि अस्थिरतातिर लाने खेल हुन थालेको छ।’
उहाँले कांग्रेस संसदमा खेलेको भूमिकालाई विचित्रको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन । अहिले कांग्रेसले आफूलाई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ। यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको छ । कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’







प्रतिक्रिया