अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका नेताले प्रतिपक्षको भूमिकालाई स्वीकार्न सकेनन्: अध्यक्ष ओली

कांग्रेसका नेताले प्रतिपक्षको भूमिकालाई स्वीकार्न सकेनन्: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरु प्रतिपक्षको भूमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

उहाँले संसदमा कांग्रेसका व्यवहारहरु बुझिनसक्नुको रहेको बताउनुहुँदै कांग्रेस यतिबेला पानी बिनाको माछो झैँ छट्पटाइरहेको बताउनुभयो । ओलीले सत्ता बाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार गठनका लागि बहुमत प्राप्त भएन, हामी त्यो चाहनामा थिएनौँ, तर कांग्रेसमा सत्ता गठनका लागि असाधारण रुचि र व्यग्रता थियो, कांग्रेसको स्वभावअनुसार सामान्य लिएका थियौँ । तर, प्रतिपक्ष मानसिकताका साथ कांग्रेस गठित सरकारको प्रतिक्षा गरिरहँदा संविधानको व्यवस्था बमोजिम निर्धारित समय सकिएपछि हामीले माओवादी केन्द्रका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्ने कुरा अघि बढायौँ । नयाँ सरकार गठन भएसँगै जनातामा उत्साहको सञ्चार भएको छ । यस बीचमा संसदमा नेपाली कांग्रेसका व्यवहारहरु बुझिनसक्नुका छन्। कांग्रेसका केही साथीहरुलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भएको छ । मन मानिरहेको छैन, तर प्रतिपक्षमा बस्नैपर्ने बाध्यता छ । कांग्रेस यतिबेला पानीबाहिरको माछा जस्तै छट्पटाएको देखिन्छ । सत्ता बाहिर काँग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा देखिन्छ ।’

उहाँले जनताका प्रतिनिधि र राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमानदारीका साथ नेपाल र नेपालीको भविष्यका लागि सङ्कल्प गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘हामी जनताका प्रतिनिधि राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमानदारीका साथ नेपाल र नेपालीको भविष्यका लागि सङ्कल्प गरौँ। राजनीतिक अस्थिरताको अन्त्य गरी मुलुकलाई राजनीतिक स्थायित्व नयाँ युगमा प्रवेश गरौँ । म सबै राजनीतिक दल र नेता साथीहरुलाई आग्रह गर्न चाहन्छु। राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा, सार्वभौमिक सत्ता, अखण्डता, स्वाधीनता, न्यायोचित हितको सवालमा, समावेशी विकास र सुशासनसहित समृद्धिको सवालमा, अर्थतन्त्रको सबलीकरण, सेवाप्रवाहको व्यापक सुधार ल्याउने सवालमा राष्ट्रिय सहमति गरौँ । एमाले जस्तोसुकै सहयोग गर्न तयार छ । यस्ता कुरामा राष्ट्रिय सहमति हुनुपर्छ ।’

अध्यक्ष ओलीले कांग्रेस प्रतिपक्ष मान्न तयार नै नरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई सरकारले गतिशील बनाउने पनि दाबी गर्नुभयो। अध्यक्ष ओलीले बृहत्तर राष्ट्रिय हीतमा काम गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गर्नुभयो । अध्यक्ष ओलीले स्वस्थानीका जालन्धरको प्रसङ्ग निकाल्दै कोही पनि जनमुखी काम गर्दा जालन्धर नबन्न आग्रह गर्नुभयो ।