अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली 

लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली 


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले लोकतन्त्रलाई सुदृढ तुल्याउन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘सत्ताका लागि नभइ सुशासन, भ्रष्टचार न्यूनीकरणका लागि साझा सहमति कायम गर्न सकिन्छ।’

बहस र तर्कले जनताको पेट नभरिने र उद्योग पनि नफस्टाउने भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘कहिले देश र जनताप्रति इमान्दार भएर राजनीति गर्ने ?’ बदलिँदो अवस्थामा राजनीतिक दल र सरकार नयाँ ढङ्गले अघि बढनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले राजनीति स्थिर भएन भने नागरिक र लोकतन्त्रमा असरपर्ने धारणा राख्नुभयो।

वर्तमान सरकारलाई आफूहरुले पूर्ण र रचनात्मक सहयोग गर्ने उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वका लागि अपिल गर्नुभयो। अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशको विकास र समृद्धिमा खेलेको भूमिका र प्राप्त उपलब्धिबारे जानकारी गराउँदै कमजोर बन्दै गएको आर्थिक अवस्था उकास्न गठबन्धनको सरकारले भूमिका खेल्ने बताउनुभयो।

‘वर्तमान सरकारले अर्थतन्त्रलाई तत्काल सही दिशामा अघि बढाउँछ। अर्थतन्त्रको समस्या, स्टे«स र अर्थतन्त्रमाथिको दबाबलाई सम्बोधन गर्न कदम चाल्न सुरु भइसकेको छ,’ उहाँले भन्नुभयो।अध्यक्ष ओलीले आगामी १० वर्षमा समृद्ध नेपाल सुखी नेपालीको माध्यमबाट विकसित मुलुकको सूचीमा स्तरोन्नति गर्ने  दाबी गर्नुभयो।

यसअघि अध्यक्ष ओलीले गठबन्धनको सरकारको साझा न्यूनतम कार्यक्रमबारे चर्चा गरिरहँदा नेपाली कांगे्रसका सांसद रामहरि खतिवडाले संसद्मा प्रवेशनै नपाएको कार्यक्रमबारे बैठकमा भनाइ राख्न नमिल्ने भनि आपत्ति जनाउनुभएको थियो।