काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनःसरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ।
आज मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार सङ्कटमा नरहेको बताउनुभयो ।
उहाँले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको बताउनु भयो।
मन्त्री शर्माले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकरको समर्थन फिर्ता लिनुभएको छैन। त्यसकारणले सरकार सङ्कटमा भन्ने स्थिति देखिँदैन। उहाँहरूले सरकार छोड्नुभयो, उहाँहरूको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो ।’
राजनीतिक संयन्त्रमा यस विषयमा छलफल हुने जानकारी दिनु हुँदै मन्त्री शर्माले भन्नुभयो, ‘त्यो राजनीतिक विषय भएकाले गठबन्धन सञ्चालन संयन्त्रका विषयमा छलफल गरेर राजनीतिक ढङ्गले नै समाधान गर्नुपर्छ, प्रधानमन्त्रीज्यूले बाहिर सार्वजनिक रूपमा पनि बोल्नुभएको छ कि हामी यो गठबन्धनलाई बचाउनको निम्ति र उहाँहरूलाई पनि फेरि सरकारमा सहभागी गराउनको निम्ति प्रयत्नशील छौँ । त्यसका लागि पहल, प्रयत्न भइरहेको छ । सरकारको समर्थन फिर्ता नलिसकेपछि सरकार सङ्कटमा परेको छैन ।’






प्रतिक्रिया