लम्की – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा आयोजना हुने विशेष समारोहबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको शाहको सचियवालयका प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।
शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा, १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको थियो । उहाँले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो।
नवनियुक्त मुख्यमन्त्री शाहले आज सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । कांग्रेसबाट एक र नेकपा (एकीकृत समाजवादी)बाट एक गरेर दुईजना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको मुख्यमन्त्री शाहले बताउनुभयो । तर ककस्लाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको छ भने टुङ्गो लाग्न बाँकी छ।
मुख्यमन्त्री शाहले एक महिनाभित्र आफूले विश्वासको मत प्रदेशसभाबाट प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले एक महिनाभित्र विश्वासको मत लिन्छु । यो दल त्यो दलभन्दा पनि हामी सबैलाई मिलाएर अगाडि बढ्छौँ ।”







प्रतिक्रिया