काठमाडौं- संसदीय यात्रा थाल्दै गरेका साँसदहरु विभिन्न पृष्ठभूमीबाट आएका छन् । कोही लामो समय राजनीतिक क्षेत्रमा नै थिए भने कोही विभिन्न पेशागत जिम्मेवारीमा । तर अहिले उनीहरु देशको नीति निर्माण गर्ने थलोमा छन् । त्यसका लागि सबभन्दा पहिला उनीहरुले देश बुझ्नु पर्दछ । नेपालीको वास्तविक अवस्था के छ त्यसका आधारमा कुन क्षेत्रमा कस्ता कानुनको आवश्यकता पर्दछ भन्ने कुराको आधारभुत ज्ञान थाहा पाउनु पर्दछ ।
साँसदहरुका लागि यी सबै विषयको आधारभुत जानकारी दिने उद्धेश्यले जनसंख्या तथा विकासका लागि साँसदहरुको मञ्च (एनएफपिपिडी)ले एउटा पुस्तक प्रकाशन गरेको छ । पुस्तकको नाम हो ‘संसदीय सरोकार,जनसंख्यादेखि भूराजनीतिसम्म । ’
मञ्चले प्रकाशन गरेको यो पुस्तकमा नेपालका विविध क्षेत्रको चिनारी गराउने १३ जना लेखकका लेखहरु प्रकाशन गरिएको छ । जसमा कानुन निर्माणमा संसदको भूमिका देखि नेपालको जनसंखिक असन्तुलनले ल्याएका विविध चुनौतीहरुको चर्चा गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फूयाँलले लेखेको लेख ‘गुणस्तरीय कानुन निर्माण संसद र साँसदको भूमिका’संसद भवन र संसद सचिवालय भित्र एकजना साँसदको भूमिका के के हुन्छन् ? विधेयकको उत्पती कसरी हुन्छ ?त्यसलाई के कसरी छलफलमा लगिन्छ ? संसदीय समितीले उक्त विधेयकलाई कसरी छलफल गरेर अघि बढाउछ?संसदको कार्यसुचीमा विधेयक कसरी पर्दछ र संसदले यसलाई कसरी पास गर्छ भन्ने कुराको बेलिबिस्तार पाइन्छ । त्यती मात्र होइन संसदको बैठकमा प्रयोग हुने ‘विरोधको सुचना,दफावार छलफल,सैद्धान्तिक छलफल ’ जस्ता विषयहरुको शिलसिलेवार व्याख्या गरिएको छ । साँसदले आफूलाई प्रभावकारी रुपमा संसदमा प्रष्तुत गर्नका लागि के के गर्ने भन्ने कुराका केही टिप्सहरु पनि यो आलेखमा पाइन्छ ।
पुस्तकमा नेपालको अर्थतन्त्रको चरित्र र यसका चुनौतीहरुका बारेमा प्रा. डा. अच्युत वाग्लेले चिरफार गर्नुभएको छ । यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिका विषयमा दिनेश भट्टराईले नेपालको परराष्ट्र नीति,कुटनीतिक सम्बन्ध,परराष्ट्रनीतिका संवैधानिक र निर्देशक सिद्धान्तहरुका बारेमा लेख्नु भएको छ । नेपालको परराष्ट्र नीतिका बारेमा साँसदहरुले बुझ्नै पर्ने कुराका लागि यो लेख धेरै सान्दर्भिक छ । नेपालको स्वास्थ्य सेवा र वित्त प्रणालीका विषयमा डा.सुशिल बरालले तथ्यांक सहित विभिन्न विषयहरु उठान गर्नु भएको छ । डा.भिष्मनाथ अधिकारीले ‘संघीय स्वास्थ्य संरचना र ऐनहरु’ शिर्षकको लेखमा नेपालमा हालसम्म जारी भएका स्वास्थ्य सम्बन्धी २७ वटा ऐनहरुको सुची उल्लेख गर्नुभएको छ । लेखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शाखा र महाशाखाहरुले के के काम गर्छन् भन्ने संक्षिप्त चिनारी पनि उल्लेख गरिएको छ ।
संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्लेले ‘ दिगो विकास लक्ष्य र राष्ट्रिय गौरवका आयोजना ’ विषयमा लेख लेख्नु भएको छ । उक्त लेखमा दिगो विकासका १७ वटा लक्ष्य,नेपालले हालसम्म हासिल गरेका उपलब्धी,दिगो विकास लक्ष्य र राष्ट्रिय गौरवका आयोजनाको सम्बन्ध बारेमा पनि लेखमा व्याख्या गरिएको छ । लेखमा ६ वटा मन्त्रालयसँग सम्बन्धित २५ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको संक्षिप्त परिचय पनि उल्लेख गरिएको छ ।
कृषी अनुसन्धान परिषदकी कृषी विज्ञ डा.सुनिता सञ्ज्यालले ‘नेपालको कृषी क्षेत्रको अवस्था’ शिर्षकमा नेपालको कृषीको अवस्था,कृषी तथा पशुपंक्षी मन्त्रालयले गर्ने काम र यसको क्षेत्राधिकारका बारेमा विस्तृत रुपमा उल्लेख गर्नुभएको छ । यसैगरी कृषी सम्बन्धी नियामवली र नेपालमा विभिन्न बालीहरुको उत्पादनको अवस्था पनि यस लेखमा पढ्न पाइन्छ ।
शिक्षा मन्त्रालयका सहसचिव डा.हरी लम्सालले नेपालको शिक्षाको एक झलक तथ्यांक सहित प्रष्तुत गर्नुभएको छ । डा.रोजनाथ पाण्डेले संसद सचिवालयले के काम गर्छ भन्ने कुराको विस्तृत वर्णन गर्नुभएको छ । पर्यटन विकासका सम्भावना शिर्षकमा बुद्धिसागर लामिछानेले नेपालको पर्यटनको अवस्थाका,हवाइ तथा स्थलगत मार्गहरु,नेपालमा पर्यटकको औषत बसाई आदि जस्ता विषयहरुलाई तथ्यगत रुपमा उल्लेख गर्नुभएको छ । डा.थानेश्वर प्रसाद भुसालले वैदेशिक रोजगारी र सामाजिक सुरक्षाको चिनारी प्रष्तुत गर्नुभएको छ । ‘गरिवी निवारण ः आकांक्षा तथा अवस्था ’का बारेमा कपिलप्रसाद तिमिल्सेनाले लामो लेख लेख्नु भएको छ ।
नेपालको जनसंखिक अवस्था,जनसंख्याको असन्तुलित वितरण,जनसंख्याको ऐतिहासिक वृद्धिदरको अवस्था आदिका बारेमा चेतन अधिकारीले लेख्नु भएको छ । साँसदहरुले यो पुस्तक पढ्दा नेपाल कहाँ छ ?अब कसरी विकासको बाटोमा अघि बढाउने भन्ने एक झलक पाउनेछन् । नयाँ साँसदहरुका लागि त झन् यो एउटा गाइड बुक जस्तो हुनेछ ।






प्रतिक्रिया