काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको अनुसन्धानका कारण विकास निर्माणको काममा अवरोध नभएको बताउनु भएको छ ।
आयोगको ३२औ वार्षिकोत्सव कार्यक्रममा प्रमुख आयुक्त राईले विकास निर्माणका आयोजना प्रभावित हुनेगरी फाइल मगाउने र काम रोक्का राख्ने प्रवृत्ति अन्त्य गरेको लामो समय भइसकेको बताउनु भयो । उहाँले आयोगलाई कारण देखाई कुनैपनि विकास निर्माण तथा सेवा प्रवाह गर्ने आफ्नो पदीय जिम्मेवारीबाट विमुख नहुन सार्वजनिक पदाधिकारीहरुलाई चेतावनी समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘लामो समयदेखि आयोगले कुनै पनि उजुरीको छानबिनमा सक्कल कागजात मगाउने, काम रोक्का राख्ने, खरिद प्रक्रियामै अनुसन्धान अगाडि बढाउने वा काममा बाधा पुर्याउने नगरेको र आगामी दिनमा समेत यस्तो काम नगर्ने स्पष्ट पार्न चाहन्छु ।’
पूर्वाधारहरुको निर्मांणमा बर्षेनी ठूलो रकम खर्च भएपनि गुणस्तर कायम हुन नसकेको र दिगो व्यवस्थापन हुन नसकेर स्रोतको दुरुपयोग भएको भन्दै उहाँले सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।
तीनै तहका शिक्षा, स्वस्थ्य, कृषि, खानेपानी, सरसफाइ लगायतका संवेदनशील सेवा क्षेत्रमा सरकारी स्रोतको हानी नोक्सानी र दुरुपयोग गरिएको भन्ने उजुरीहरू पछिल्लो दिनहरुमा बढिरहेको भन्दै प्रमुख आयुक्त राईले तदारुकताका साथ छानबिन तथा अनुसन्धान भइरहेको दाबी गर्नुभयो ।
तीनै तहका सरकारबाट स्रोतको सुनिश्चितता र पूर्व तयारी विना ठेक्का लगाइएका र कतिपय महत्वपूणर् आयोजना तोकिएको समयमा सम्पन्न नभई अलपत्र परेको भन्दै उहाँले जिम्मेवार पदाधिकारीमाथि अनुसन्धान बढाइएको बताउनु भयो । उहाँले भन्नभयो, ‘आवश्यक भएपनि, नभए पनि, विकास निर्माण वा अन्य कामका लागि परामर्श सेवा लिने, संभाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, तर त्यसलाई प्रयोगमा नल्याइएमा त्यस्तो परामर्श सेवा लिने तर प्रतिवेदन प्रयोगमा नल्याउने पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।’
प्रतिक्रिया