अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिमा एमालेमा नयाँ नामको इन्ट्री : किरण गुरुङको शितल निवास यात्रा तय होला त ?

राष्ट्रपतिमा एमालेमा नयाँ नामको इन्ट्री : किरण गुरुङको शितल निवास यात्रा तय होला त ?


काठमाडौं -राष्ट्रपतिको निर्वाचन नजिकिंदै जाँदा नेकपा एमालेमा राष्ट्रपतिका अनके नाममा चर्चा भइरहेको छ । सत्ता गठबन्धनमा उक्त पद एमालेले पाउने सहमति भएकोले कुन नेतालाई राष्ट्रपतिमा पदमा पठाउने भन्ने बारेमा अनेक कोणबाट चर्चा परिचर्चा भइरहेको छ ।

पार्टी केपी शर्मा ओलीले यस विषयमा मुख नखोले पनि दोस्रो र तेस्रो तहका नेताहरु भने कहिले कुन नेताको नाममा त कहिले कुन नेताको नाममा छलफल भइरहेको बताउने गरेका छन् । अध्यक्ष ओली भने ‘बेला भएपछि छलफल हुन्छ’ भन्दै अहिले यस विषयमा प्रवेश गर्नुभएको छैन ।

एमालेमा भित्र भित्र राष्ट्रपतिका नयाँ उम्मेदवारको चर्चा चुलिएको छ । एमाले पंक्तिमा भित्र भित्र फैलिएको नाम हो स्थायी कमिटी सदस्य किरण गुरुङ । नेकपा एमालेमा सिनियर नेता भएर पनि उपयुक्त जिम्मेवारी नपाएको गुनासो गरिरहेका गुरुङलाई यसपाली शीतल निवासको यात्रा गराएर अचम्म मान्नु नपर्नेमा धेरै नेताहरुको एक मत छ । मुख्यमन्त्री हुनका लागि गत निर्वाचनमा प्रदेशसभामा उठेका गुरुङ्गलाई उछिनेर पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री बनेपनि निरन्तर पार्टीले दिएको जिम्मेवारी निर्वाह गरिरहेका किरणलाई पार्टी उपाध्यक्षमा दाबी थियो । तर सहमतिका लागि अन्तिममा रोकियो ।

यसपालि तनहुँबाट प्रतिनिधीसभामा निर्वाचन लडेका गुरुङ पराजित हुनुभयो ।

पार्टीभित्र राष्ट्रपतिमा आदिवासी जनजाति फेस चाहिन्छ भनेर एकथरीले माग गरिरहँदा सुवासचन्द्र नेम्वाङको विकल्प दिन किरणलाई अघि सारिएको एमालेका नेता बताउँछन् ।

पहिलो राष्ट्रपति मधेसी, दोस्रो महिला भएकाले तेस्रो राष्ट्रपति आदिवासी जनजातिबाट हुनुपर्ने तर्क एमालेमा भित्रभित्रै सुरु भएको छ ।

एमालेका अन्य नेताहरु ईश्वर पोखरेल, विष्णु रिमाल, डोरमणि पौडेल, गुरु बराल आदिको नाम चर्चा भए पनि ती नाममा माओवादी पक्षले असहमति जाहेर गरेको स्रोत बताउँछ ।

वर्तमान संसदको बनावट हेर्दा कुनै पनि ठूलो दलको हैसियतले प्रधानमन्त्री हुनु पर्ने समय आउन सक्छ । त्यसैले एमाले अन्य दलहरुलाई मिलाएर आफू कांग्रेसभन्दा ठुलो दल बन्ने अविछिन्न प्रयत्नमा छ । ‘संविधानको धारा ७६(३) अनुसार सरकार बनाउनु पर्ने दिन आउन सक्छ भनेर अहिले प्रतिनिधिसभामा रहेका सांसद भन्दा बाहिरबाट राष्ट्रपतिको खोजी हुँदैछ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘त्यही क्रममा सुवास नेम्वाङ वा पीएस गुरुङ भन्दा किरण गुरुङ उपयुक्त पात्र हुनसक्छन् ।ु

काठमाडौंमा राष्ट्रपतिको चर्चा भएका नेता किरण गुरुङ भने अहिले गृहजिल्लातिरै हुनुहुन्छ ।