अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ: मुख्यमन्त्री कार्की

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ: मुख्यमन्त्री कार्की


बनियानी – प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौवटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।’ प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ।

प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो । प्रदेश सरकारको संचरना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उहाँले बताउनुभयो। मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकरण गरिने बताउनुभयो। ‘पाँच वर्षसम्म प्रदेशको न्वारन  हुन सकेन’, उहाँले भन्नुभयो, ‘प्रदेशको नामकरण हुननसक्दा मलाई लज्जाबोध भइरहेको छ।’ प्रदेशको नामकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो।

कार्यक्रममा रेवतीरमण नेपाल स्वयम्सेवा सम्मानबाट तीनजनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नारायण ढुङ्गाना, दिव्यप्रसाद भुर्तेल र तुलसी काफ्ले रहनुभएको छ । नगद रु. ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर मुख्यमन्त्री कार्की, पुरस्कारका संरक्षक वेदकुमारी नेपाल र रेडक्रस झापाका सपभाति लोकराज ढकालले उहाँहरुलाई सम्मानित गर्नुभएको थियो । यस्तै जिल्लामा धेरै रक्तदान गर्ने विरता लेडी जेसिज, तेरापन्थ युवा परिसद् र विराट अर्जुन उपभोक्ता सहकारीलाई प्रशंसापत्र प्रदान गरिएको छ।