अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति एमालेलाई दिने सहमतिबाट प्रधानमन्त्री पछि हट्नु हुँदैन : पृथ्वीसुब्बा गुरुङ

राष्ट्रपति एमालेलाई दिने सहमतिबाट प्रधानमन्त्री पछि हट्नु हुँदैन : पृथ्वीसुब्बा गुरुङ


वीरगञ्ज – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी भित्र देखिएको व्यक्तिवादी अवसरवादको समूल अन्त्य गर्नुपर्ने बताउनुभएको छ।

प्रेस चौतारी नेपालले आज वीरगञ्जमा आयोजना गरेको संगठन सुदृढीकरण कार्यशालालाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले पार्टी भित्रदेखिएको व्यक्तिवादी अवसरवादकै कारण गएको निर्वाचनमा एमालेले धेरै ठाउँमा पराजय भोग्नु परेको बताउनुभयो। यसको समीक्षा गरेर पार्टीले आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपमहासचिव गुरुङले कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्ता जनतासँग जोडिनु पर्ने बताउनुभयो । पार्टी भित्रका समस्या पहिचान गरेर समाधानको उपाय खोज्नु पर्ने उहाँको भनाई छ । नेपालको कम्युनिष्ट पार्टीलाई अन्य देशको जस्तो होइन नेपालको जस्तै बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल कम्युनिष्ट पार्टीलाई नेपालकै कम्युनिष्ट पार्टी बनाउनु पर्छ ।’

जनताबाट अनुमोदित भएको पार्टीले सरकार चलाउने र कार्यकर्ताबाट अनुमोदित भएको नेताले पार्टीले चलाउने कुरालाई बिर्सन नहुने उहाँले बताउनुभयो । क्याडर बेस पार्टीको पुरातन वादी सोच र मास बेस पार्टीको दलदलबाट एमाले माथि उठ्नु पर्नेमा उहाँले जोडदिनुभयो । उहाँले भन्नुभयो, ‘अन्य देशको कम्युनिष्ट पार्टी र नेपालको कम्युनिष्ट पार्टी फरक छ, क्याडर बेस पार्टी बनाएर नेपालको कम्युनिष्ट पार्टी चल्दैन ।’

अहिलेको सत्ता समीकरण कांग्रेसकै कारण बनेको पनि गुरुङले प्रष्ट पार्नुभयो । यदि माओवादीलाई पहिला प्रधानमन्त्री दिएको भए पुरानो सत्ता गठबन्धन नभत्किने उहाँले बताउनुभयो । कांग्रेसको अहंकारले पुरानो सत्ता गठबन्धन भत्किएको र नयाँ गठबन्धन बनेको उहाँले बताउनुभयो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री र सभामुखमा आलोपालोमा सहमति भएको उहाँले बताउनभयो। माओवादीको प्रधानमन्त्री हुँदा एमालेको सभामुख र एमालेको प्रधानमन्त्री हुँदा माओवादीको सभामुख हुने सहमति भएको उहाँले प्रष्ट पार्नुभयो।

राष्ट्रपति एमालेलाई दिने विषयमा दुई दलबीच पहिला नै सहमति भएको उहाँले प्रष्ट पार्नुभयो । अहिले अनावश्यक रूपमा नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको रटान रटिरहेको उहाँले बताउनुभयो । राष्ट्रपति निर्वाचनमा खेल्न सकिन्छ कि भनेर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘गठबन्धनको सहमति नै राष्ट्रिय सहमति हो, १६९ जनाको गठबन्धन आफैमा राष्ट्रिय सहमति हो ।’

उहाँले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर अहिलेको गठबन्धनलाई कुनै प्रभाव नपर्ने उहाँले बताउनुभयो । अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो गठबन्धन तोडेर अर्को गठबन्धन बनाउने चुनौती नमोल्ने उहाँले प्रष्ट पार्नुभयो । अहिलेको गठबन्धनलाई जोगाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि पुनः सरकारमा ल्याइने उहाँले बताउनुभयो।