काठमाडौं – नेकपा एमालेले आगामी हप्ता देखि दुई महिनासम्म सञ्चालन गर्ने ‘मिसन ग्रास रुट’का लागि नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको छ।
जसका लागि प्रदेशहरूमा सचिवहरूलाई अभियानको नेतृत्व गर्न खटाइएको छ । एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार प्रदेश नं १ मा टोपबहादुर रायमाझी, मधेस प्रदेशमा रघुवीर महासेठ वागमतीमा गोकर्ण विष्टलाई जिम्मेवारी तोकिएको छ। यसैगरी गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मालाई मिसन ग्रास रुट सफल पार्ने जिम्मेवारी दिइएको छ। यसैगरी कर्णालीमा योगेश भट्टराई र सुदुरपश्चिममा लेखराज भट्टले यो जिम्मेवारी पाउनुभएको छ।
सातै प्रदेशमा दुई महिनासम्म सञ्चालन हुने अभियानमा पार्टी कमिटीका बैठक, प्रशिक्षण, भेला आयोजना गरिने सचिव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षहरुलाई पनि यो अभियानको अनुगमनमा खटाइएको छ । जसको अन्तिम रूप दिन आज केन्द्रीय कार्यलय बस्दैछ ।
पार्टी स्रोतका अनुसार केन्द्रीय सदस्यहरूलाई विभिन्न पालिकाहरूको जिम्मेवारी दिएर संगठन सुदृढिकरणका लागि पठाइने छ। ‘एउटा जिल्लाका केन्द्रीय सदस्यलाई नजिकको अर्को जिल्लामा गएर अभियानमा सरिक हुने गरी जिम्मेवारी दिइनेछ’ एमालेका एक पदाधिकारीले भने ‘सम्बन्धित जिल्ला वा पालिकामा जिम्मेवारी दिंदा पार्टीका सवल र सुधार गर्नुपर्ने पक्षहरुको उचित रिर्पोटिङ नहुने भएकोले भूगोल परिवर्तन गरेर जिम्मेवारी दिन लागिएको हो ।’
संसदीय जिम्मेवारीमा भएका केन्द्रीय सदस्यहरुलाई पनि पालिकामा गएर काम गर्न अनिवार्य गरिएको छ । ‘पार्टीले निर्वाचन हारेका ठाउँमा त्यसको कारण खोज्ने,जितेका ठाउँमा पार्टीलाई अझै कसरी बलियो बनाउन सकिन्छ भनेर योजना बनाउने काम अभियानमा खटिएका नेताहरुले गर्नुपर्नेछ’ ती पदाधिकारीले भने ।
यो अभियानमा सबभन्दा तल्लो तहका पार्टीका सदस्यहरुसँग सघन अन्तरक्रिया गर्ने, उनीहरुको सुझाव लिने र त्यसका आधारमा पार्टी हाइकमाण्डले नीति र योजना बनाउने भएकोले यसलाई एमालेले यसलाई मिसन ग्रास रुट नाम दिएको हो ।






प्रतिक्रिया