दमक – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको बताउनुभएको छ। देशमा काम गर्न नदिने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको उहाँको भनाइ छ।
आइतवार गृहनगर झापाको दमकमा आउनुभएका ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको बताउनुभयो।सो षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश नहुन आग्रह गर्नुभयो।
देशलाई अघि बढाउने र विकास पक्षधर शक्ति पनि सरकारमा भएकाले निराश हुनु नपर्ने ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो सरकारले जनभावनाअनुसार काम गरेर देशका समस्या समाधान गर्छ।’
आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धनलगायतका समस्या सामधान गर्दै लैजाने ओलीले बताउनुभयो। कृषिको आधुनिकीकरण, रोजगार सिर्जनालगायतका विषयमा पनि आफ्नो ध्यान गएको उहाँले बताउनुभयो ।
आइतबार अपरान्ह झापा आउनुभएका ओलीले अबेरसम्म विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । आइतवार बेलुका अबेर उहाँ दमकमा भइरहेको एक धार्मिक अनुष्ठानमा समेत सहभागी हुनुभयो ।
झापाको गौरादह-४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उहाँले उद्घाटन गर्नुभयो । यसैगरी आफ्नै निर्वाचन क्षेत्रको कटकपुर-खयरबारी चाँदु खोलाको पुल उद्घाटन र एक धार्मिक कार्यक्रममा सहभागी बन्नुभएको एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताउनुभयो ।







प्रतिक्रिया