अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामशरण चौधरीद्वारा अनेरास्ववियुको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

रामशरण चौधरीद्वारा अनेरास्ववियुको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा


काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औँ राष्ट्रिय महाधिवेशनमा रामशरण चौधरीले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। हाल सचिव रहेका चौधरीले आफ्नो दावी उपाध्यक्षमा रहेको यो बेलाडटकमलाई बताउनुभयो।

नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन गइरहेको छ । सात वर्षपछि महाधिवेशन हुन लागेको हो। यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा माओवादी केन्द्रसँग पार्टी एकता भएपछि हुन सकेको थिएन।

२३औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न चौधरीले आग्रह गर्नुभएको छ। थारु समुदायबाट पदाधिकारीमा आफू एकमात्र उम्मेदवार हुने भएकाले सहयोगको निम्ति उहाँले आग्रह गर्नुभएको हो।

विद्यार्थी संगठन अनेरास्ववियुलाई समावेशी बनाउन पनि आफूलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो। हाल कार्यसमिति सचिवको जिम्मेवारीमा रहेर काम गरिरहेको भन्दै उहाँले जिम्मेवारी पाएमा आफूले संगठनलाई गतिशील बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो। चौधरी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य हुँदै सचिवको जिम्मेवारीमा पुगेको बताउनुभयो।

२०७२ पछि हुन लागेको महाधिवेशनलाई समयानुकुल समावेशी चरित्रको बनाउन आवश्यक रहेको भन्दै चौधरीले आफू उपाध्यक्षमा उम्मेदवारी दिने बताउनुभयो।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा फागुन २ गते महाविधेशन हुँदैछ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उदघाटन गर्नुहुने अनेरास्ववियुका सचिव रामशरण चौधरीले बताउनुभयो।

आगामी दुई वर्षका लागि अनेरास्ववियुको पदाधिकारी १७ जना, स्थायी कमिटी ४८ सदस्यीय र ६५ जना केन्द्रीय सदस्यसहित १९९ सदस्यीय नयाँ कमिटी चयन हुनेछ।

देशभरबाट करीब १६ सय प्रतिनिधि रहने महाधिवेशनले लोकतान्त्रिक प्रक्रियाअनुसार नयाँ कमिटी चयन गर्ने चौधरीले विश्वास व्यक्त गर्नुभयो । देशभरबाट विद्यार्थीहरु प्रतिनिधि भएर काठमाडौं आउने उहाँले बताउनुभयो ।