अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मसानघाटमा पुगेको प्रेत ब्यूत्याउने प्रयास सफल हुन सक्दैन: शंकर पोखरेल

मसानघाटमा पुगेको प्रेत ब्यूत्याउने प्रयास सफल हुन सक्दैन: शंकर पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राष्ट्रिय शक्तिहरुलाई कमजोर बनाउने विदेशीहरूले चलखेल गरिरहेको बताउनु भएको छ।

आज काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा विदेशीले चलखेल गरिरहेको बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘विदेशीले गर्न खोजेको षड्यन्त्रलाई असफल पार्न अनेरास्ववियुले अग्रसरता लिनुपर्छ।’

महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्ने विदेशीहरूले खेल खेलिरहेका छन्। त्यो खेल असफल पार्न अनेरास्ववियुका योद्धाहरू देशभक्त योद्धाका रूपमा राष्ट्रिय राजनीतिमा अघि आउन जरुरी छ। स्वाधीनता र स्वाभिमान जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाल्ने कदममा सहयोग गर्न आग्रह समेत गर्दछु।’

महासचिव पोखरेलले नेपाली राजनीतिमा तीन प्रकारका चुनौती रहेको भन्दै ती समस्यामध्ये एक मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई जगाउने षड्यन्त्र रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘आज नेपाली समाजमा जुन प्रकारका समस्याहरू छन्। त्यो समस्याको जगबाट मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि व्युझ्याउने प्रयत्न भइरहेको छ। त्यसको खबरदारी गर्ने काम आजको अनेरास्ववियुले गर्नसक्नुपर्छ ।’

उहाँले मसानघाटमा पुगेको प्रेत व्युत्याउने प्रयास कुनै हालतमा सफल नहुने चेतावनी समेत दिनुभयो। उहाँले भन्नुभयो, ‘मसानघाटमा पुगेको प्रेत व्युत्याउने प्रयास किमार्थ सफल हुन सक्दैन। लोकतन्त्रलाई संस्थागत गर्न हामी पहरेदारका रूपमा उभिनेछौं।’