अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ

ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ


काठमाडौं – यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। यसअघि ४ जनालाई पक्राउ गरिएको थियो। योसँगै लुटपाटमा संलग्न पक्राउ पर्नेको संख्या १९ पुगेको छ।

बुधबार काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न ४ जना र प्रहरीको गाडी आगजनीमा संलग्न ६ जना गरी १० जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। बाँकी १५ जनालाई उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। अनुसन्धान कार्यालयले पक्राउ गरेका १५ जना ल्होत्से मलमा तोडफोड र लुटपाटमा संलग्न रहेका मुख्य व्यक्ति हुन्। उनीहरुलाई भिडिओका आधारमा पहिचान गरेर पक्राउ गरेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताउनुभयो ।

बुधबार विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि बालाजु वृत्त र महाराजगन्ज वृत्तमा पठाइएको छ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखालका १९ वर्षीय सुरज मगर, नुवाकोटको सूर्यगढ ४ का १९ वर्षीय केशर राई, सिन्धुलीको सिन्धुलीगढी ६ का १८ वर्षीय इन्द्र तामाङ रहेका छन्। उनीहरु तिनै जना सहचालक हुन्।

यस्तै नीलकण्ठ ६ धादिङका चालक २६ वर्षीय इलाराज गुरुङ, नमोवुद्ध २ काभ्रेका १८ वर्षीय चालक हरिशरण तामाङ, सहचालक नीलकण्ठ ६ धादिङका १८ वर्षीय विकास गुरुङ, सहचालक उदयपुरगढी ६ उदयपुरका २७ वर्षीय राजन राउत, रत्ननगर ११ चितवनका २७ वर्षीय संविधान परियार छन्।  बाँकी ७ जना अन्य छन्।

ज्याला मजदुरी गर्ने चौदण्डी ५ उदयपुरका ३० वर्षीय रितेश बस्नेत र बेलवारी ४ मोरङका ३० वर्षीय यमन राई, ककनी ८ नुवाकोट घर भई काठमाडौंमा पढ्ने विद्यार्थी १८ वर्षीय सुनिल कालिकोटे र ककनी ७ नुवाकोटका १८ वर्षीय सुदीप तामाङ, व्यापारी काठमाडौं महानगरपालिका १६ माछापोखरीका २२ वर्षीय रोमन कालिकोटे र माछापोखरीकै व्यापारी ३३ वर्षीय माधव शाही छन्।