अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ: प्रदेश प्रमुख गुरुङ

शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ: प्रदेश प्रमुख गुरुङ


गण्डकी – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको छ। गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताउनुभयो।

‘सङ्घर्षका  बेला  जनताका सामु तपाईँहामीले गरेका प्रतिबद्धता पूरा गर्ने गरी शासन पद्धतिलाई अघि बढाउनसक्ने हो भने मात्र आम नागरिकले  लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन्’, उहाँले भन्नुभयो। आम नागरिकले पटक–पटक फेरिने मुद्दा र नारा होइन परिणाममा उपलब्धि खोजिरहेको बताउँदै उहाँले अबका योजना परिणाम दिने गरी बन्ने अपेक्षा गर्नुभयो ।

यसअघि निमित्त प्रदेश सरकारका माध्यमबाट जनस्तरमा धेरै कार्य भएको उल्लेख गर्दै उहाँले जनताको घर दैलोमा प्रदेश सरकारका माध्यमबाट हुने विकास र समृद्धिका कार्यको राम्रो सुरुआत भएको र समृद्ध गण्डकी प्रदेश बनाउन धेरै कार्य गर्न अझै बाँकी नै रहेको बताउनुभयो ।

जनताले प्रदेश सरकारका माध्यमबाट जुन उपलब्धिको आशा गरेका छन् त्यो पूरा गर्न प्रदेश सरकार अझै गम्भीर भएर लाग्न जरुरी भएको बताउँदै प्रदेश प्रमुख गुरुङले सरकारले विभिन्न राजनीतिक दल र आम नागरिकको भावनालाई समेटेर साझा बाटोमा हिँड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा आफूले पहल गरेको बताउनुभयो । संविधानको मर्मअनुसार अधिकारको प्रत्यायोजन नहुँदा समस्या आएको बताउँदै उहाँले प्रदेशको समृद्धि र विकासका लागि सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदेश संरचनालाई व्यवस्थित बनाउँदै लैजानेतर्फ सबैको सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको संरचनामाथि भइरहेको आक्रमणको जवाफ कामले दिनुपर्ने बताउनुभयो । प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको नजिकैको प्रदेश सरकारले चुनौतीका बीचमा पनि अवसर खोज्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको मर्म र भावनाअनुरुप केन्द्रले निर्वाध रुपमा अधिकार प्रत्यायोजन गर्नुपर्ने बताउनुभयो । प्रदेशको समृद्धिका लागि कोरोला त्रिवेणी सडकलाई व्यवस्थित गर्नुपर्ने र आएका समस्यालाई समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्राप्त उपलब्धिलाई रक्षा गर्ने सबैको साझा दायित्व भएको बताउनुभयो । संविधानले दिएका अधिकारलाई तीनवटै तहले आपसी समन्वयका साथ उपयोग गर्ने वातावरण तयार हुनुपर्ने उहाँको भनाइ छ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापा, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले प्राप्त उपलब्धिलाई रक्षा गर्दै प्रदेशको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।