अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ: अध्यक्ष ओली

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताउनु भएको छ। अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै टिप्पणी गर्नुभयो । 

आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअल रुपमा शुभारम्भ गर्दै उहाँले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनुभयो।

अध्यक्ष ओलीले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरु अहिले पनि रहेकाले त्यस्ता शक्तिहरुको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौं, आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न । उनीहरुको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ ।’

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु गराउनु भयो । पार्टी हितको पक्षमा नभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले आगामी ४ वर्ष पछि हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको स्पष्ट पार्नुभयो । ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरु नरहेको जिकीर गर्नुभयो।