काठमाडौं -काठमाडौं बुद्धनगर स्थित घरमै ग्याँस सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गराइरहेका छन्।
त्यहाँ शुक्रबार उनका दुवै खुट्टाको शल्यक्रिया सकिएको उनको सचिवालयले जनाएको छ। यो पहिलो शल्यक्रिया हो।
मुम्बईमा सँगै रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले आज बिहान दिएको जानकारीअनुसार पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा एकदमै गहिरो घाउ रहेका कारण सोचेभन्दा धेरै समय लाग्यो। ‘अब्जरबेसन’ पनि कम्तीमा १\२ घण्टा राख्नुपर्ने नियमका कारण दोस्रो अप्रेसन हिजो गर्न नसकिएको जानकारी डा. मुकेशले दिनुभएको छ ।
आज बिहान साढे ६ बजे डा। धनञ्जयले दिएको जानकारीअनुसार अहिले सबै पारामिटर नर्मल छन्। फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको छ। तर यो तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने जानकारी डाक्टरबाट प्राप्त भएको न्यौपानेले बताएका छन्।
बुद्धनगरस्थित घरमा ग्याँस लिक भएर पड्किँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेकी आमाको भने बिहीबार नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भयो।





प्रतिक्रिया