अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन ७ : उज्यालो युगको सुरुवात भएको दिन

फागुन ७ : उज्यालो युगको सुरुवात भएको दिन


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवशलाई उज्यालो युगको सुरुवात भएको दिनको रुपमा लिनुपर्ने बताउनुभएको छ ।
‘जहाँनिया राणा शासनबाट समाज ,देश र जनताले मुक्ति पाएको दिनको रुपमा आजको दिनलाई हामी स्मरण गर्दछौं’ ओलीले आज एक शुभकामना सन्देश दिंदै भन्नुभएको छ ।
ओलीको शुभकामना सन्देशमा शहिदहरुको बलिदानीको जगमा निर्माण भएको संविधानसभाबाट नेपालको संविधान बनेकोले यो जनहितको पक्षमा रहेको उहाँको भनाइ छ । संविधान जारी भएपछि बनेको नेकपा एमालेको सरकारले ‘मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाएको थियो ’ अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ‘संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पु¥याइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं । ’
अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशको पूर्ण पाठ यस्तो छ :

शुभकामना
आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन । २००७ साल फागुन ७ गते, आजकै दिनलाई नेपालको इतिहासमा हामीले उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं । जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।
समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं । संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आम निर्वाचनबाट बनेको हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो । अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाएको थियो । जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर थियौं । संविधानसभा मार्फत् जनताको संविधान निर्माण गरी तदनुरुपका संरचनालाई बलियो बनाउँदै हामी सुशासन र विकासको दिशामा अघि बढिरहेका थियौं । अर्थात्, हामीले प्रजातान्त्रिक आन्दोलन मार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहनालाई सफलताको दिशामा अभिमूख गराउन आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएका थियौं ।
नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहंदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरेको थियो । संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पु¥याइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले)को यस अभियानमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको साथ रहने छ भन्ने मेरो विश्वास छ ।
जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति म पुनः एकपटक हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजूट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु ।

७ फागुन २०७८ केपी शर्मा ओली
अध्यक्ष