रुपन्देही – नेकपा एमाले रुपन्देहीले ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ। नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रम अन्तर्गत कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण गरेको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश कमिटी इन्चार्ज छविलाल विश्वकर्माले प्रशिक्षण दिंदै वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिनुभयो । पार्टीको दशौं महाधिवेशनले पारित गरेका दस्तावेज र निर्णयहरु तल्लो तहका कार्यकर्तामाझ पुर्याउंदै दक्षिणपन्थी बिसर्जनवाद र संगठनात्मक अराजकताको अन्त्य गर्न पनि ग्रासरुट अभियान प्रभावकारी हुने सचिव विश्वकर्माले बताउनुभयो ।
संविधान सभाबाट बनेको संविधानले व्यवस्था गरेका उपलब्धीहरुको पक्षमा पार्टी प्रतिवद्ध रहेको भन्दै सचिव विश्वकर्माले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न निर्देशन दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य बैजनाथ चौधरीले स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी नेता-कार्यकर्तालाई वैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने पनि औंल्याउनुभयो ।
मिसन ग्रासरुट अभियान कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य गोपाल भट्टराई, पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरे,प्रचार विभाग प्रमुख हितराज पन्थी लगायतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पु¥याउने भएकाले सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । दुई महिने अभियानमा पोलिटब्यूरो र केन्द्रीय कमिटीका सात जना नेता १६ वटा पालिकामा खटिने छन् ।






प्रतिक्रिया