काठमाडौं – नेपालका प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई आज ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले १० लाख अमेरिकी डलर (नेपाली १३ करोड रुपैयाँबढी) को अवार्ड प्रदान गरेको छ।
बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन्।
आज राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा खालिफाले इशा डा. रुइतलाई अवार्ड प्रदान गरेका हुन्।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले अन्धोपना निवारणमा गरेको योगदान बापत बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो।
बहराइनका राजा हमाद बिन इसा अल खालिफाले रुइतलाई उक्त अवार्ड हस्तान्तरण गर्दै डा. रुइतले आँखा सेवामा निकै अमूल्य मानवीय सेवाको सर्वोत्कृष्ट काम गरेको बताउनुभयो ।
३० वर्षभन्दा बढी नेत्र विशेषज्ञका रुपमा काम गरिसकेका उहाँले कम रकममै शल्यक्रिया र प्रतिगोटा तीन डलरभन्दा कम मूल्यमै पाउन सकिने उच्च गुणस्तरको इन्ट्राओकुलर लेन्स निर्माण गर्ने केन्द्रहरू स्थापना गर्नुभयो ।
डा. रुइतले यसअघि सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार, सन् २०१८ मा भारत सरकारले दिने पद्मश्री सम्मान, २०७५ मा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक पाइसक्नुभएको छ ।







प्रतिक्रिया