अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महान विचारको कार्यान्वयनको ओझेलमा रहेका पाटाहरू

महान विचारको कार्यान्वयनको ओझेलमा रहेका पाटाहरू


काठमाडौं – संसार परिवर्तनशील छ, यो परिवर्तित संसारमा मानिसहरूले अपनाउने दर्शन, सिद्धान्तहरू सँगै मानिसहरूका सोच, व्यवहार र आवश्यकताहरू पनि परिवर्तित छन्। यी मानवीय आवश्यकताहरू पूरा  गर्न मानिसका व्यवहार र सोचहरूको सम्बोधन गर्न अर्थात् उनीहरूको जीवन र बाँचेको जगतको विश्लेषण गर्नका लागि समय–समयमा सिद्धान्त र दर्शनहरूको जन्मन्छन्। पश्चिमा जगतमा प्लेटो, एरिष्टोटलदेखि माक्र्सवादसम्म र पुर्वीय जगतमा जन्मिएका कन्फुसियस, कौटिल्य, वुद्ध आदिको दर्शन, सिद्धान्त र वादहरू पनि मानिसका सोच, आवश्यकता र व्यवहारमा आधारित थिए। राष्ट्रहरूको उत्पति र विकासको श्रृङ्खला, नेताहरू जन्मने र उनीहरुले लिने सोच र दृष्टिकोणहरु, देश चलाउने सरकारहरु र उनीहरुले बनाउने नीति र कार्यक्रमहरुको मुख्य जग नै मानिस हो, जसले मानिसहरुका सोच, व्यवहार र आवश्यताहरूलाई सम्बोधन गर्ने प्रयत्न गरिरहेका हुन्छन्।

नेपाली धरातलमा केपी शर्मा ओलीले अगाडि सार्नु भएको समृद्धि र सुखको दर्शन भनेको मानिसका सोच, व्यवहार, चाहना र आवश्यकताहरूलाई सम्बोधन गर्ने आजसम्मका सवै सोच, दर्शन र सिद्धान्तहरुको समुच्च रुप हो। जसका दुईवटा पाटाहरुमा समृद्धिले देश र समाजको जीवनसँग सरोकार राख्दछ भने सुखले मानवीय जीवनसँग। वर्तमानमा हामीले यो समृद्धि र सुखको सोचलाई नेपाल र नेपालीको राष्ट्रिय आंकाक्षामा मात्रै सीमित गरेका छौ, तर यसको ओजन र आयतन अब नेपालमा मात्रै सीमित नहुन सक्दछ। किनकी समृद्धि कुनैपनि देशको अन्तिम लक्ष्य हो र त्यस देशभित्र बस्ने मानिसहरुको साझा र अन्तिम प्राप्ति भनेको उनीहरुको सुख हो । राज्य र मानिसको हितका लागि अहिलेसम्म चाहे पूर्वमा वा पश्चिममा जन्मिएका दर्शन, सिद्धान्त, नीतिहरु हुन, ती सवै सवैको सार र समुच्चय भनेको समृद्धि र सुखको दर्शन हो।

समृद्धिलाई बुझने र बुझाउने सन्दर्भमा हाम्रा केही अलमलहरू छन् । समृद्धि भनेको के हो ? यसलाई के के सूचकहरूबाट बुझने ? र, यसको प्राप्ति कसरी गर्ने अर्थात् के-के काम गरियो भने समृद्धि प्राप्त हुन्छ ? हामी अझै यसमा खारिन सकिरहेका छैनौं।

समृद्धिलाई बुझने र बुझाउने सन्दर्भमा हाम्रा केही अलमलहरू छन्। समृद्धि भनेको के हो ? यसलाई के के सूचकहरूबाट बुझने ? र, यसको प्राप्ति कसरी गर्ने अर्थात् के–के काम गरियो भने समृद्धि प्राप्त हुन्छ ? हामी अझै यसमा खारिन सकिरहेका छैनौं । यसमा हामीले अध्ययन अनुसन्धान गर्न सकिरहेका छैनौं। मेरो बुझाइमा अभावहरूको सम्बोधन नै समृद्धि हो। हामीले नागरिकका भौतिक, सामाजिक, आर्थिक जैविक, पर्यावरणीय  आवश्यकताहरु सम्बोधन गर्नका लागि राज्यका जीवनमा जे–जे अभाव र आवश्यकताहरु देख्यौ, तिनीहरुको सम्बोधनबाट प्राप्त हुने प्रतिबिम्ब नै समृद्धि हो। त्यसैले हामीले समृद्धिलाई बुझनका लागि अभाव र आवश्यकताहरुलाई बुझन सक्नु पर्दछ र त्यसको प्राप्तिबाट आएको यो परिणामलाई हामीले समृद्धि हो भनेर बुझनु पर्दछ । तर यहाँ बुझन छुटाउन नहुने प्रमुख कुरा के हो भने एकपल्ट र एउटा परिवेशमा प्राप्त गरेको समृद्धि दीर्घकालिन नहुन पनि सक्दछ, त्यो केही समयपछि अभावमा रुपान्तरण हुन सक्दछ र त्यसको सम्वोधनपछि फेरि समृद्धि प्राप्त हुन्छ। त्यसैले हामीले राज्यको जीवनमा समृद्धि प्राप्त गर्न अभाव र समृद्धिको सम्बन्धलाई एक सिक्काका दुईवटा पाटाहरु हुन भनेर बुझन सक्नु पर्दछ।

हामीले यो दर्शनलाई प्रभावकारी हिसाबले कार्यान्वयन गर्ने हो भने समृद्धिका डोमिन्सहरु, त्यो डोमिन्स अन्र्तगतका पिलरहरु र ती पिलरहरु अन्र्तगतका आवश्यक इलेमेन्टस्हरुको पहिचान गर्न सक्नु पर्दछ । समृद्ध समाज र देश निर्माणको पहिलो शर्त भनेको मानिसहरुको क्षमता अभिवृद्धि हो। जुन देशमा मान्छेको विकासलाई पहिलो विकासकोरुपमा बुझिन्छ, उनीहरुको जीवनस्तरलाई उकास्ने काम गरिन्छ, उनीहरुको शिक्षा, स्वास्थ्य, आवास, र उनीहरु बाँचेको र बाँच्ने सामाजिक र पर्यावरणीय पक्षहरुमा देखिएका आवश्यकताहरुलाई राज्यकातर्फबाट सम्बोधन गरिन्छ, त्यस्तो समाज वा देश स्वाभाविक रुपमा समृद्ध बन्दै जान्छ। त्यस्तै समृद्ध देश निर्माणको दोस्रो डोमिन्स भनेको देशको आर्थिक नीति हो । जस अन्र्तगत राज्यका तर्फबाट बहुसख्यक नागरिकले प्राप्त गर्ने सेवा सुविधाहरु पर्दछन्। जसमा राज्यले हरेक नागरिकहरुको आर्थिक गतिविधिमा सहभागी हुने अवसरहरुको सुनिश्चिता गर्दछ र नागरिकहरुको आर्थिक वृद्धिका लागि समान अवसर प्रदान गर्दछ। हरेक नागरिकको रोजगारसहितको आर्थिक सहभागिता र पहुँचका लागि राज्यले लिने आर्थिक नीतिमा देखिएका अभावहरुको सम्बोधन गर्दै आर्थिक नीति र पूर्वाधारहरुको निर्माण समृद्ध देश निर्माणको अर्को महत्वपूर्ण पक्ष हो। त्यस्तै समृद्धि प्राप्तिको अर्को डोमिन भनेको न्यायपूर्ण समाजको निर्माण हो । न्यायपूर्ण समाज भनेको यस्तो समाज, जहाँ नागरिकहरुको सुरक्षाको ग्यारेण्टी गरिएको हुन्छ, जुन समाजमा हरेक नागरिकहरुको व्यक्तिगत स्वतन्त्रतालाई सुनिश्चित गरिएको हुन्छ, जुन समाजमा कानुनको शासन, र राजनीतिक उत्तरदायित्वसहितको लोकतान्त्रिक संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् र जुन समाजमा समाजका आर्थिक, सामाजिक भौतिक र वातावरणी पक्षका कामहरुमा नागरिकहरुको सहभागितालाई सुनिश्चित गरिएको हुन्छ र यस्तो समाजमा नागरिकहरु एकअर्कामा विश्वास गर्न र परिवारका सदस्यहरुवीचमा कसिलो सम्वन्ध र विश्वास कायम भएको हुन्छ । हामीले यी आधारभुत तहमा देखिएका ग्यापहरुको पहिचान गरेर नीतिहरु निर्माण गर्न सक्यौ भने हामीले हाम्रो समाज, नगर, प्रदेश वा देशलाई समृद्ध बनाउन सक्दछौं ।

अध्ययन, त्याग, समपर्ण, सोच, व्यवहार र निष्ठाका आधारमा केपी शर्मा ओली नेपाली समकालीन नेताहरूमा निकै अग्लो हुनुहुन्छ।

हामीले राष्ट्रिय आकाक्षाको रुपमा अगासडि बढाएको अर्को पक्ष भनेको नागरिकहरुको सुख हो, यसकालागि देशको समृद्धि पहिलो शर्त हो । तर यसमा मानिसहरुले अपनाउने आध्यात्मिक र जैविक पक्षहरुलाई वेवास्ता गरेर हरेक नागरिकहरुकोवीचमा सुख सृजना गर्न सकिदैन । त्यसैले सुख सृजनाको पहिलो शर्त भनेको मानवीय रुचि, आवश्यकता, चाहना र उनीहरुको अभावको पहिचान र त्यसको सम्वोधनवाट नागरिकको जीवनमा आउने परिणामको रूपमा हामीले सुखलाई बुझन सक्नु पर्दछ।

अध्ययन, त्याग, समपर्ण, सोच, व्यवहार र निष्ठाका आधारमा केपी शर्मा ओली नेपाली समकालीन नेताहरूमा निकै अग्लो हुनुहुन्छ। स्वार्थ सम्बन्धका आधारमा उहाँका विरोधी कित्तामा उभिएका मानिसहरूलाई यो वाक्य मन नपर्न पनि सक्दछ । तर सत्य त सत्य नै हो, एकछिन कल्पना गरौं न, बलिदान, त्याग समपर्णका दृष्टिले के केपी शर्मा ओली विश्वका समकालिन नेताहरुभन्दा कमजोर नेता हुनुहुन्छ र ? आज उहाँ नेपालमा नजन्मिएर चीन, भारत, वेलायत, क्यानडा वा अमेरीका कुनैपनि देशको नेता हुनु भएको भए उहाँले अगाडि सारेको यो समृद्धि र सुखको दर्शन विश्वव्यापी हुन सक्थ्यो । त्यसैले नेताको पहिचानलाई पनि नागरिकको पहिचान जस्तै देश अनुसार हेरिदो रहेछ र त्यस्तै मूल्यांकन गरिदो रहेछ। तर यो विडम्वना हो ।

केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष एवं मुलुकको शपथ लिएर सहित गणना गर्ने हो भने दुईपल्ट र शपथ बाहेकको गणना गर्ने हो भने मुलुकको तीनपल्ट प्रधानमन्त्री बनिसक्नुभएको छ । उहाँको व्यक्तित्व, सोच र उहाँले सारेको समृद्धि र सुखको दर्शनबाट हामी धेरै मानिसहरु नेता बनेका छौं । मुलुकको मन्त्री, मुख्यमन्त्री, नगरपालिका गाउँपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य, संघीय र प्रादेशिक संसदको सदस्य बन्ने अवसर पाएका छौं । योजना आयोगहरुदेखि लिएर विभिन्न राजकीय निकायहरुमा बसेर काम गर्ने अवसर प्राप्त गरेका छौं । तर हामीले हाम्रो आर्थिक नीतिमा, वितीय र मौद्रिक नीतिहरुमा, मुलुकको राष्ट्रिय नीति र योजनाहरुमा, प्रादेशिक र स्थानीय नीति र योजनाहरुमा हामीले केपी शर्मा ओलीले अगाडी सारेको समृद्धि र सुखको सोचलाई कतिको कार्यान्वयन गरेका छौं? आज हामीले यो पक्षलाई गम्भिरतापुर्वक र निर्मम ढंगले समीक्षा गर्ने बेला आएको छ। हिजोका पञ्चायतकालिन नीति र नियमहरुलाई समात्ने, कांग्रेसकालमा अपनाइएका नवउदारवादी आर्थिक प्रणाली र योजना निर्माणको परम्परालाई नियमीतता दिने र व्युरोक्रयाटिक संरचनाबाट निर्देशित भएर काम गर्ने परम्पराले हाम्रो समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने राष्ट्रिय आंकाक्षा पूरा हुन सक्दैन । यो कुरालाई हामी सवैले महसुस गर्न सक्नु पर्दछ । मेरो बुझाइ सही छ भने हामीले उहाँको यो नारालाई अहिलेसम्म राग मात्रै अलापिउ तर व्यावहारिक कार्यान्वयनमा इमान्दारिताकासाथ काम गर्न सकेनौं । यो तथ्यलाई हामी यो दर्शन र सिद्धान्त बोकेका मानिसहरुले स्वीकार नगर्ने हो भने हामीले केपी शर्मा ओलीप्रति बेइमानी गरिरहेका छौं । उहाँले सारेको यो सोचप्रति अन्याय गरिरहेका छौं ।

राज्यकातर्फवाट परिणाम प्राप्तिका लागि दर्शन र सिद्धान्त अनुसारको नीति निर्माण हुन आवश्यक छ। यसरी बनेको नीतिअनुसारको कानुन र कार्यक्रमको निर्माण आवश्यक छ। त्यो कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि बजेटको व्यवस्था र संरचनाको निर्माण अर्को शर्त हो र त्यहाँ इमान्दारितापुर्वक कार्य सम्पादन गर्ने व्यक्ति भयो भने मात्रै त्यसले परिणाम हाँसिल गर्न सक्दछ। तर समृद्धि र सुखको दर्शनबाट निर्देशित भएर राज्य र पार्टीको जीवनमा जिम्मेवारी पाएका हामीहरुले नीति बदल्ने, कानून बदल्ने, त्यसअनुसारका कार्यक्रम निर्माण गर्ने, स्रोतहरुको व्यवस्था र संरचनाहरुको निर्माण गर्ने काममा हाम्रो प्रयासहरु खर्च ग¥यौ की पुरानो परम्परागत ढर्रामा आफनो व्यक्तिगत कद अग्लो बनायौ ? यो छाँयामा परेको पाटोको अव समीक्षा आवश्यक छ ।

हामीले हाम्रो आर्थिक नीतिमा, वितीय र मौद्रिक नीतिहरूमा, मुलुकको राष्ट्रिय नीति र योजनाहरूमा, प्रादेशिक र स्थानीय नीति र योजनाहरूमा हामीले केपी शर्मा ओलीले अगाडि सारेको समृद्धि र सुखको सोचलाई कतिको कार्यान्वयन गरेका छौं?

हाम्रा अगाडि चर्चा हुने गरेका तीनवटा दार्शनिक डकुमेण्ट्सहरु जनताको बहुदलीय जनवाद, समाजवाद उन्मुख देश, माक्र्सवाद आदिका बारेमा बहस छलफल हुने गरेका छन्। तर समृद्धि र सुखको दर्शन भनेका अहिलेसम्म देखा परेका सवै आध्यात्मिक र भौतिक दर्शन र सिद्धान्तहरुको पनि समुच्चरुप हो भने यो दर्शन जनताको बहुदलीय जनवादको कार्यान्वयनको विकसीत रुप हो। यदि हामीले समृद्धि र सुखको दर्शनलाई सही बुझने र यसको व्यावहारीक कार्यान्वयन गर्ने हो भने हामीले समाजवाद उन्मुख देश भनिरहनु पर्ला र ? अब हामीले समृद्धि र सुखको दर्शनलाई त्यही रुपमा व्याख्या विश्लेषण गर्न सक्नु पर्दछ।

अन्त्यमा, हाल विश्वमा जति पनि देशहरु छन् ती देशहरुको साझा लक्ष्य भनेको आफ्नो देशलाई समृद्ध बनाउने नै हुन्छ, चाहे त्यहाँ जस्तोसुकै सरकार होस्, अहिले विश्वमा साढे ७ अर्व मानिसहरु छन, ती सवै मानिसहरुको साझा लक्ष्य भनेको सुख प्राप्त गर्ने नै हुन्छ । विश्वलाई नै प्रभावित बनाउने हरेक सरकार र देशहरूको साझा निष्कर्ष समृद्धि र सुखको दर्शन केपी शर्मा ओलीद्धारा नेपाली धरातलमा विकसीत भएको छ। विश्वस्तरमै व्याख्या र विश्लेषण गर्न र अपनाउन लायक यो विचार दर्शन हामीले हाम्रो राज्यका हरेक क्षेत्र र तहहरुमा लागू गर्न सक्नुपर्दछ। यो आलेख तयार गरिरहदा यो विचारका जन्मदाता केपी शर्मा ओलीलाई हृदयदेखि सम्मान गरेको छु । उहाँको यो विचारलाई कुनै न कुनै रूपमा बुझने र त्यसलाई कार्यान्वयन गर्ने संकल्प गरेको छु। आज उहाँको जन्मदिन । २००८ साल तेह्रथुमको आठराईदेखि आजसम्म उहाँको घुम्तिहरु, उहाँका संघर्ष, वलिदान र समर्पणका कथाहरुवाट प्रेरणा लिन खोजेको छु। उहाँको जन्मदिनको अवसरमा उहाँलाई जीवनका हरेक क्षेत्रहरुमा सफलता मिलोस् भन्ने सुभेक्षा प्रकट गर्दै समृद्धि र सुखको विचारलाई अर्थपूर्ण हिसावले आफूले सकेको कार्यान्वयन गर्नका लागि पहलकदमी लिने सकल्प पनि गरेको छु।

(डा. रोका युवा स्वरोजगार कोषका उपाध्यक्ष हुनुहुन्छ ।)