काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजबाट ७२ वर्षमा प्रवेश गर्नुभएको छ। नेपालको कम्यूनिष्ट आन्दोलन बचाउन र नेपालको अन्तर्राष्ट्रिय छवि बनाउन केपी शर्मा ओलीको महत्वपूर्ण योगदान छ । मेरो राजनीतिक जीवनका विभिन्न कालखण्डका मार्गदर्शक नेता हुनुहुन्छ उहाँ। मेरो राजनीतिक जीवनमा उहाँसँगका धेरै संयोग छन् । तीमध्ये एउटा उल्लेख गर्छु । २०४७ सालमा बहुदलीय व्यवस्थाको घोषणा भएपछि भूमिगत सबै नेता सार्वजनिक भए । तर मैले अहिले नै सार्वजनिक हुनु नहुने अडान राखेको थिएँ । त्यसबेला म अर्घाखाँचीको जिल्ला सचिव थिएँ। तर उहाँले अब भूमिगत बसिरहनु पर्दैन भनेपछि २०४७ साल बैशाखमा म लुम्बिनी अञ्चलका तत्कालिन इन्चार्ज केपी ओलीको उपस्थितिमा सार्वजनिक भएको हुँ ।
अब म केपी शर्मा ओलीले नेपालको कम्यूनिष्ट आन्दोलन बचाउन, देशको स्वाभिमानलाई उच्च राख्न उहाँको भूमिकाका बारेमा चर्चा गर्दछु ।
नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन र राष्ट्र निर्माणका चारवटा आयाममा केपी ओलीले केही महत्वपूर्ण लिगेसीहरु स्थापित गर्नुभएको छ । ती लिगेसीहरु निकै महत्वपूर्ण छन् । अहिले उहाँका विरुद्ध भइरहेका प्रहार, षडयन्त्र र घेराबन्दीलाई उहाँले स्थापित गर्नुभएका लिगेसीको सन्दर्भलाई जोडेर हेर्नु उपयुक्त हुन्छ ।
केपी ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने, पुनर्जार्गित गर्ने र एकताबद्ध गर्ने कामको अगुवाई गर्नु भयो–झापा आन्दोलनमार्फत । हामी सबैलाईं थाहा छ, तेस्रो महाधिवेशनपछि नेपालको कम्युनिष्ट आन्दोलन अनेकौं टुक्रामा विभाजित, विखण्डीत र झण्डै झण्डै विघटनको संघारमा पुगेको थियो । त्यतिबेला झापा जिल्ला कमिटीमा एकदमै युवा अवस्थामा रहनु भएका केपी शर्मा ओलीसहितका नेताहरुले तल जगबाट नेपालको कम्युनिष्ट आन्दोलनमा पुनर्गठन र विद्रोहको सुरुवात गर्नुभयो। त्यसको एकजना महत्वपूर्ण पात्रको हैसियतले कम्युनिष्ट आन्दोलनलाई विद्रोह, पुनर्जागरण र एकताको मोड दिने योगदानको श्रेय केपी शर्मा ओलीलाई जान्छ । आज कम्युनिष्ट आन्दोलन जहाँ छ, विशेष गरेर नेकपा एमाले जहाँ छ, त्यसका जरा चाहिं हामीले झापा आन्दोलनमा खोज्नुपर्छ।
जेलभित्रबाट पनि उहाँले नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनलाई दिशा दिनका निम्ति विभिन्न ढंगले भूमिका निर्वाह गर्नुभयो । जेलभित्रका आफ्नै सीमा थिए, प्रत्यक्ष भूमिका खेल्न सक्ने अवस्था थिएन। २०४४ सालमा जेलबाट छुटिसकेपछि २०४६ सालको जनआन्दोलनको जग बसाल्न, चौथो महाधिवेशनपछि संयुक्त जनआन्दोलनको कार्यक्रम अथवा दिशा पारित गराउन र कमरेड मदन भण्डारीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनको एउटा नयाँ धार जनताको बहुदलीय जनवादको निर्माणका लागि अत्यन्त नजिक कोर टीममा रहेर उहाँले भूमिका निर्वाह गर्नुभयो। जबज निर्माणमा स्वभाविक रूपमा कमरेड मदन भण्डारीको नेतृत्वदायी भूमिका थियो नै । त्यो टिममा रहेर त्यो विचारलाई समृद्ध बनाउने सन्दर्भमा केपी ओलीको महत्वपूर्ण योगदान थियो। २०५० मा दासढुंगा घटनामा रहस्यमय ढंगले मदन कमरेडको अवशान भइसकेपछि जनताको बहुदलीय जनवादको रक्षा र विकासको कमाण्ड निरन्तर केपी ओलीले समालिरहनु भयो । आज जनताको बहुदलीय जनवादलाई राष्ट्रिय रुपमा स्थापित गर्नका लागि र नेपालको सिंगै राष्ट्रिय विचारको रुपमा स्थापित गर्नमा उहाँले भूमिका खेलिरहनु भएको छ । आज जबजको ठोस अभिव्यक्तिको रुपमा एउटा समृद्ध नेपाल सुखी नेपालीको निर्माण अथवा समाजवादको आधार निर्माणमा हामीले यसको जसरी पनि व्याख्या गरिरहेका छौं, यसमा स्वभाविक रुपमा महत्वपूर्ण भूमिका केपी ओली कै छ।
हामीले हाम्रो कार्यकालमा मुलुकलाई समृद्ध बनाउन सक्छौं भन्ने सपनाको विजारोपण र त्यो समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने कुराको आत्मविश्वास स्थापित गर्ने कुरा केपी ओलीको पछिल्लो सबैभन्दा महत्वपूर्ण योगदानको रुपमा हामीले लिनुपर्छ।
केपी ओलीको लिगेसी अथवा उहाँको योगदानका बारेमा कुरा गर्दा अर्को महत्वपूर्ण पाटो नेपालमा जारी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण अवतरण गराउन र शान्तिपूर्ण अवस्थामा आइसकेपछि पनि माओवादीबाट सिर्जित जुन एउटा भय दोहन र एक किसिमले सत्ता कब्जाका प्रयासहरु थिए । त्यसलाई विफल बनाउनका लागि उहाँले एकदमै जोखिमपूर्ण बाटो लिनु भएको छ । २०६३ साल मंसीरमा विस्तृत शान्ति सम्झौता भएपछि माओवादी खुला प्रक्रियामा आयो । शान्ति प्रक्रियालाई टुंग्याउने, संविधान निर्माण गर्ने र द्वन्द्वका घाउहरुलाई मेटाउने भन्दा पनि शान्ति प्रक्रियाको खुकुलोपनलाई सत्ताकब्जाको एउटा खत्तरनाक बाटोतिर माओवादीले प्रयोग गर्न खोजिरहदा निकै थोरै व्यक्तिहरु मात्रै हुनुहुन्थ्यो । जसले माओावदीको गलत प्रयोगको डटेर मुकाबिला गर्नु भयो। यी सबैको अग्रणी ठाउँमा केपी ओली हुनुहुन्थ्यो। जसले देशलाई डरलाग्दो द्वन्द्वमा धकेल्न सक्थ्यो, त्यो प्रयास असफल भयो।
१२ बुँदे सहमतिको मस्यौदाकार पनि उहाँ हुनुहुन्थ्यो, माओवादीसँगको निर्णायक वार्ताकारमा पनि उहाँ हुनुहुन्थ्यो । तर सँगसँगै शान्ति प्रक्रियाका नाममा हुन खोजेका कयौं गलत कुराहरुलाई रोक्ने कुरामा उहाँको निर्णायक भूमिका हामीले देख्न सक्छौं । त्यतिबेला पनि माओवादीको सत्ता कब्जाको प्रयास अथवा त्यो दबदवाका अगाडि एकदमै निरिह बन्ने स्थिति पनि कतिपय नेताहरुमा देखा परेको थियो । कतिपय नेताहरु त अब एमालेको भविष्य छैन भन्नेसम्म निष्कर्षमा पुग्नु भएको बेला एउटा आत्मविश्वास कि यो हिंसा र सत्ताकब्जा सफल हुँदैन, यो बाटो सफल हुँदैन भन्ने विश्वास दिलाउने काम उहाँले गर्नुभयो ।
चौथो कुरा नेपालमा पहिचानको राजनीतिको नाममा करिब १० वर्ष असाध्यै धेरै गलत बहसहरु भए । नेपालजस्तो बहुभाषिक, बहुसाँस्कृतिक, भौगोलिक विविधतायुक्त मुलुकमा जातिय पहिचानलाई वा भाषिक पहिचानलाई संघीताको आधार बनाउने, हजारौं वर्षदेखि मिलेर बसेको नेपाली समाजमा जातिय र सामाजिक विद्धेषहरु, साम्प्रदायिक विद्धेषहरु मच्याउने र जनता–जनताको बीचमा चाहिँ कटुता, आशंका र द्वन्द्व निम्त्याउने प्रयासहरु अनेक कोणबाट भए । यसमा देशभित्रका कतिपय शक्तिहरु त लागे नै, यसमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको समेत काफी चासो, संलग्नता र लगानीसमेत पनि देखियो । त्यस्तो बेलामा उहाँले जातीय उन्मादको र समाजलाई विभाजन, विखण्डन गर्ने कुराको निरन्तर आलोचना गर्नु भयो । त्यसको सामना गरेर नेपाललाई आजको जातीय सद्भाव र एकताको पक्षमा ल्याउन र त्यो एउटा पहिचानको नाममा आएको एउटा अतिवादलाई परास्त गर्ने कुरामा पनि उहाँको एउटा महत्वपूर्ण योगदान हामी पाउँछौं ।
केपी ओलीको पाँचौ महत्वपूर्ण लिगेसीको कुरा गर्दा संविधान निर्माणको एउटा अभियानको नेतृत्व हो । एउटा संविधानसभा असफल भइसकेको अवस्था थियो । दोस्रो संविधानसभालाई पनि असफल बनाउने हिसाबले विभिन्न प्रयासहरु भएका थिए । सहमतिवेगर संविधान बन्ने नदिने, सहमति चाहिं हुनै नदिने । गलत कुरामा स्वीकृति जनायो भने मात्रै सहमति हुने तर देश र जनताका हितका पक्षहरुमा सहमति नै नहुने डेडलक संविधानसभाभित्र उत्पन्न भएको थियो । त्यस्तो बेलामा पनि नेपाली कांग्रेसलाई साथमा लिएर र पछि माओवादीलाई पनि साथमा लिएर संविधान निर्माण गर्न उहाँले जोखिम मोल्नु भयो । मधेस केन्द्रित दलहरु संविधानसभा बहिस्कार गरेर बाहिर निस्किए । उहाँ माथि अत्यन्त ठूलो प्रहार पनि भयो । सरकारमा अरु नै थिए तर सबैभन्दा बढी प्रहार नेकपा एमाले माथि र त्यसभन्दा बढी पार्टीका अध्यक्ष केपी शर्मा ओली माथि भयो । संविधानसभाले संविधान बनाइसकेपछि त्यसलाई जारी गर्न नदिनका निम्ति बाह्य दवाव पनि असाध्यै धेरै आए। त्यो बाह्य दवावलाई थेग्ने, त्यसलाई सामना गर्ने, संविधान निर्माण भनेको कुनै पनि राष्ट्रको आत्म अधिकार, स्वनिर्णयको अधिकार, सार्वभौम अधिकार हो भन्ने कुरा स्थापित गर्ने र देशभित्र बढीभन्दा बढी शक्तिहरुलाई साथमा लिएर अगाडि बढ्ने तर सहमतिका नाममा राष्ट्रलाई सधैभरी अनिर्णयको बन्दी बन्न नदिने कुरामा केपी ओलीको योगदान उल्लेख्य छ भन्ने म ठान्छु ।
संविधान जारी भइसकेपछि मुलुकले नाकाबन्दीको सामना गर्नुप¥यो। त्यो नाकाबन्दीका विरुद्ध एउटा राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हित र राष्ट्रिय अस्मिताको मैदानमा केपी ओली एक्लै उत्रिनु भयो र उहाँलाई सिंगो देशको साथ प्राप्त भयो । त्यतिबेलाका ठूला दलहरु नाकाबन्दीलाई पनि नाकाबन्दी पनि भन्न नसक्ने अवस्थामा थिए । नेपालजस्तो देशले आफ्नो स्वाभिमानलाई जोगायो मात्रै होइन, वास्तवमा नेपाललाई हेर्ने कतिपय मुलुकहरुको नजरियालाई बदल्न बाध्य पनि बनायो । हुन त त्यसका असरहरु अहिले पनि छन् । त्यसको सामना गरे वापत कतिपय मुलुकहरु खुशी छैनन् । अहिले पनि उनीहरु कही न कही तुष पालेर बसेको देखिन्छ । तर देशले त्यसै खालको एउटा देशभक्त नेता खोजेको थियो । त्यो आवश्यकतालाई, अभावलाई उहाँले पूर्ति गर्नु भयो । सरकारमा रहँदा उहाँले मुलुकको राष्ट्रियताको संर्वद्धनका लागि धेरै आयामहरुमा काम गर्नु भएको छ ।
पहिलो कुरा नेपाल जस्तो देशमा एक किसिमको लघुतावास। हामी सानो देश, हामी पछाडि परेको देश, हामीले कहाँ सार्वभौम बराबरीको कुरा गर्न हुन्छ र कहाँ हामीले अरु देशसँग आँखामा आँखा जुधाएर कुरा गर्न हुन्छ र ? त्यसो ग¥यो भने त सम्बन्ध बिग्रिन्छ । हाम्रा छिमेकीहरु र अन्य मित्रहरुले हामीलाई सहयोग गरिराखेका छन् भने दूध दिने गाईको लात्ती सहनु पर्छ भनेको जस्तो गरी हामी माथि भइरहेका कतिपय अन्यायपूर्ण कुराहरुलाई सहनुपर्छ भन्ने जुन एउटा राष्ट्रियहीन ढंगको मनोविज्ञान गरिएको थियो । जुन अहिले पनि गर्न खोजिँदै छ । त्यसका विरुद्ध सार्वभौम समानताको अर्थात् राष्ट्र ठूला होलान् अथवा साना, सम्पन्न होलान् अथवा विपन्न, धेरै जनसंख्या होला अथवा थोरै तर देशको सार्वभौमसत्ता बराबर हो भन्ने कुरा स्थापित गर्ने काम असाध्यै महत्वपूर्ण थियो । यसलाई उहाँले नेपालको राष्ट्रियताको सन्दर्भमा गरेको एउटा ऐतिहासिक योगदान भन्नपर्छ । आपूmले राज्य सञ्चालन गरिरहँदा नेपाल जस्तो देशले बाह्य सम्बन्धहरु निर्माण गर्दा, परराष्ट्र नीति सञ्चालन गर्दा सबैसँग मित्रता, कसैसँग छैन शत्रुता भन्ने एउटा मूल नाराका साथ हामी अगाडि बढ्नु पर्छ भनेर हामीले हाम्रा सम्बन्धहरुलाई एकदमै फराकिलो बनायौं । भारतले लगाएको नाकाबन्दीले अलिकति अविश्वासको स्थिति थियो । त्यसलाई नयाँ उचाइमा उठाउने प्रयास ग¥यौं र उहाँको दोस्रो प्रधानमन्त्रीत्वकालमा नेपालको सम्बन्ध असाध्यै फराकिलो अन्तर्राष्ट्रिय जगतमा नेपाल देखिने र सुनिने ठाउँमा पुग्यो । नेपाललाई हेर्ने हाम्रा मित्रहरुका दृष्टिकोणमा पनि एकदमै सकारात्मक परिवर्तन आएको हामीले पायौं । त्यसबेला नेपालले पारवहनमा विविधता हासिल ग¥यो । त्यही अवधिमा चीनसँग पारवहनमा विविधता र प्रोटोकलमा हस्ताक्षर भयो र अब उप्रान्त कहिल्यै पनि नेपालले नाकाबन्दीको सामना गर्नु नपर्ने एउटा सुनिश्चितता स्थापित भयो । केपी शर्मा ओलीका योगदानहरुको कुरा गरिरहदा अर्को एउटा महत्वपूर्ण पाटो भनेको २०६२/०६३ को आन्दोलन र नेपालको संविधान जारी भइसकेपछि नेपाल एउटा नयाँ चरणमा अथवा चलन चल्तीको भाषामा भन्दा एउटा नयाँ युगमा लोकतन्त्रका निम्ति संघर्षको युगबाट लोकतन्त्रभित्र समृद्धिको युगमा प्रवेश गरेको थियो । त्यो युगको ठीक ढंगले व्याख्या गर्ने मात्रै होइन, अब हाम्रो समग्र कार्यभारचाँही समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नु हो । हामीले हाम्रो कार्यकालमा मुलुकलाई समृद्ध बनाउन सक्छौं भन्ने सपनाको विजारोपण र त्यो समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने कुराको आत्मविश्वास स्थापित गर्ने कुरा केपी ओलीको पछिल्लो सबैभन्दा महत्वपूर्ण योगदानको रुपमा हामीले लिनुपर्छ । उहाँ प्रधानमन्त्री भइसकेपछि राष्ट्रिय बहसको दिशा नै मोडियो । अरुबेला दलहरुको बीचमा सत्ता बाँडफाड, अधिकार, लेनदेनमा सधैभरि गाँजिएको नेपाली राजनीतिमा समृद्धिका ठूला परियोजनाहरु, रुपान्तरणकारी परियोजनाहरु, रणनीतिक परियोजनाहरु बहसमा आउन थाले । मान्छेहरुले तथ्याङ्कमा कुरा गर्न थाले । प्रतिव्यक्ति आय कति भयो ? यो वर्ष आर्थिक वृद्धि कति भयो ? यो वर्ष कति सडकहरु बने ? यो वर्ष नेपालले विभिन्न सूचाङ्कमा के कति उपलब्धि हासिल गर्यो ? नेपालको स्थिति के छ ? यस्ता कुराहरुमा बहसहरु केन्द्रित हुन थाले अथवा मान्छेलाई एउटा आत्मविश्वास पनि जाग्यो र त्यसबारेमा ठोस मूर्त ढंगले कुराकानी पनि सुरु भयो । उहाँले त्यसको अगुवाई गर्नुभयो । यसरी सारमा हेर्दा उहाँले नेपालको बामपन्थी आन्दोलनलाई एउटा उचाइमा उठाउन र आज नेकपा एमालेलाई यावत घेराबन्दीको बीचमा पनि राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्न केपी ओलीले महत्वपूर्ण योगदान गर्नुभएको छ ।
प्रजातान्त्रिक आन्दोलनलाई सही दिशा दिन र प्रजातन्त्र भनेको पाँच वर्षमा एकपटक भोट हाल्ने कुरा मात्रै होइन, प्रजातन्त्र भनेको वास्तविक अर्थमा जनताको जीवनमा हुने सकारात्मक परिवर्तन हो । त्यसकारण प्रजातन्त्रले डेलिभरी दिनुपर्छ भन्ने कुरा स्थापित गर्ने कुरामा माथि उठाएर हामी पनि अरु विश्व समुदायको आँगनमा बराबरीका हिस्सेदार हौं भन्ने कुराको राष्ट्रिय स्वाभिमान माथि उठाउन र हाम्रो देशमा समृद्धि ल्याउन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर आत्मविश्वास जगाउन उहाँको विशेष भूमिका छ । त्यस अर्थमा उहाँले आफ्ना विचार र आफ्ना कर्महरुले राष्ट्रिय राजनीतिलाई निरन्तर अगुवाई गरिरहनु भएको हामी पाउँछौं ।
२०४४ सालको त्यो भेट
उहाँसँग मेरो पहिलो भेट २०४४ सालमा उहाँ जेलबाट छुटेपछि भएको हो । त्योभन्दा अगाडि भेट हुनसक्ने सम्भावना पनि थिएन । उहाँ जेल पर्दा म ११/१२ वर्षको थिए होला । तर मैले उहाँको बारेमा उहाँ जेलमा हुँदा धेरै कुरा सुनेको थिए । हाम्रो भेट कहाँ भयो भन्ने सन्दर्भमा अहिले मलाई याद भएन । म त्यसबेला काठमाडौं आएको थिए । त्यसबेला म अर्घाखाँचीमा काम गर्थे । पछि उहाँ लुम्बिनीको इन्चार्ज भएर जाँदा म अर्घाखाँचीको सचिव भइसकेको थिए । त्यस क्रममा त असाध्यै बाक्लो भेट हुने नै भयो । चौथो महाधिवेशनमा हामी सँगै थियौं ।
नाकाबन्दीका विरुद्ध एउटा राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हित र राष्ट्रिय अस्मिताको मैदानमा केपी ओली एक्लै उत्रिनु भयो र उहाँलाई सिंगो देशको साथ प्राप्त भयो ।
उहाँ इन्चार्ज र म अर्घाखाँची जिल्लाको पार्टीको सचिवको हैसियतले २०४६ को आन्दोलनमा निरन्तर बाक्लो सम्पर्क भयो । त्यसपछि भेटघाटका सिलसिला निरन्तर अगाडि बढें र अघिकांश मुद्दाहरुमा एकै ठाउँमा उभिने स्थिति बन्यो।
एउटा स्मरणीय विषय छ। २०४६ सालपछि पार्टीहरु खुला भए र हामीले जिल्लाहरुमा पार्टी विस्तारका निम्ति कार्यक्रमहरु अगाडि बढ्ने क्रममा अर्घाखाँचीमा पनि त्यही ढंगको कार्यक्रम राख्यौं । औपचारिक रुपमा उहाँ लुम्बिनीबाट बिदा हुने तरखरमा हुनुहुन्थ्यो । अर्घाखाँचीमा जिल्लास्तरीय कार्यकर्ता भेला थियो । त्यतिबेला पार्टी पूर्णरुपमा खुला गर्ने कि नगर्ने भन्ने द्धिविधा म थिएँ। म सार्वजनिक पहिचानका साथ खडा भइसकेको थिइनँ । तर उहाँ उपस्थित हुनुभएको जिल्लास्तरीय भेलामा मैले पहिलो पटक म प्रदीप ज्ञवाली जिल्ला कमिटीको सचिव भनेर चिनारी दिंए । सचिव भन्ने त साथीहरुलाई थाहा थियो तर नामको हिसाबले त्यसबेला मात्र सार्वजनिक भएको अवस्था थियो । यो वैशाखको महिना थियो । त्यसबेला भर्खर जेलबाट छुटेको हुनाले उहाँ दीर्घरोगी पनि हुनुहुन्थ्यो । त्यसकारण रातीमा उहाँलाई हिँडाउन धेरै अप्ठ्यारो हुन्थ्यो । शारीरिक हिसाबले जति कमजोर भएपनि उहाँको मनोबल यति दृढ थियो कि शरिरले नथेगेपनि उहाँ लामो लामो यात्रा गर्नु हुन्थ्यो । बाटैभरी हामीलाई निरन्तर प्रेरणा पनि दिइरहनु हुन्थ्यो । ती धेरै घटनाहरु छन्, जसलाई समयक्रममा मैले बाहिर ल्याउने पनि छु ।
उहाँ असाध्यै अध्यनशील हुनुहुन्छ । अहिले समाजको एउटा तप्का छ, जसले विश्वविद्यालयको एउटा औपचारिक डिग्रीहरुसँग तुलना गरेर वा दाँजेर हेर्छ । जुन सही होइन । उहाँ अध्यनशील मात्रै होइन, ग्रहणशील पनि हुनुहुन्छ । संसारमा ज्ञानका अथाह स्रोतहरु छन्, भण्डारहरु छन् । त्यसमध्ये हाम्रा लागि सान्दर्भिक विषयहरु के हुन्, भन्ने विषयमा उहाँको तिक्ष्ण शक्ति विलक्षण नै लाग्छ । त्यसकारण उहाँलाई नैर्सिगिक रुपले प्राप्त तिक्ष्णता र अत्यन्तै विलक्षण स्मरण शक्ति र निरन्तर अध्ययन । अध्ययनको दुईवटा पाटो छ, उहाँले केवल पुस्तक मात्रै अध्ययन गर्नु हुन्न । उहाँले संसारका विभिन्न ठाउँमा जाँदा वा नेपालका पनि विभिन्न ठाउँका उहाँले समाजका धेरै आयामसँग आपूmलाई निरन्तर साक्षात्कारमा राख्नु हुन्छ । उहाँलाई भेट्ने मान्छे राजनीतिकर्मी मात्रै हुँदैनन् । उहाँसँग खेलाडीहरु, धर्म गुरुहरु, विश्वविद्यालयका प्राध्यापकहरु, स्रष्टाहरु, मूर्तिकारहरुदेखि लिएर अनेकौं क्षेत्रका मान्छेहरुलाई उहाँले बोलाएर पनि भेट्नु हुन्छ । त्यसले उहाँको ज्ञानको विविधतालाई असाध्यै फराकिलो पनि बनाएको छ।
उहाँले जेलमा कठीन अवस्थामा पनि अध्ययन गर्नु भयो, अरु साथीहरुलाई पनि पढ्नका निम्ति प्रेरित गर्नुभयो । सामान्य पढाइबाट जेल परेका साथीहरु त्यहीँबाट मास्र्टस गरेर बाहिर निस्किए । त्यही जगमा कतिपय साथीहरुले विद्यावारिधि गरे । उहाँहरुलाई मार्गदर्शन गर्ने काम पनि उहाँले गर्नु भयो । आफैँले औपचारिक शिक्षा धेरै नलिएपनि उहाँले आपूmले मात्रै अध्ययन गर्ने होइन कि अरुलाई पनि अध्ययनका निम्ति प्रेरित गर्ने काम पनि गर्नु भयो ।
म बालकोटमा भेट्न जाँदा उहाँको कक्षमा सधैँ ६/७ वटा किताब रहेका हुन्छन् । त्यसमध्येबाट उहाँले कुन छान्नु हुन्छ मलाई थाहा छैन । पछिल्लो पटक मैले देखेको अरनिको एउटा जीवनयात्रासँग सम्बन्धित किताब उहाँको टेबुलमा मैले देखेको थिएँ । निसन्देह अरनिकोले त्यतिबेला नेपालको वास्तुकला, निर्माण कलालाई चीनमा कसरी फैलाए भन्ने कुरालाई पक्कै ग्रहण गर्नु भयो होला भन्ने ठान्छु । कुरा राजनीतिको भन्दा पनि ज्ञानका विविधताको पुस्तकहरु उहाँको टेबुलमा देखिरहन्छन् । उहाँ राती २/३ बजेसम्म पनि पढिरहेको देखिन्छ । हामी प्राय:१०/११ बजेपछि थाक्छौं र सुत्छौं तर उहाँ राती २/३ बजेसम्म पनि पढिरहेको देखिन्छ । त्यसले गर्दा समकालीन नेपाली राजनीतिज्ञहरुमा यति फराकिलो अध्ययनशीलता र ज्ञानको भण्डार अरुसँग छ भन्ने मलाई लाग्दैन ।
(ज्ञवाली नेकपा एमालेका उपमहासचिव हुनुहुन्छ)






प्रतिक्रिया