अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीले जितेका १२ मृत्यु

केपी ओलीले जितेका १२ मृत्यु


केपी शर्मा ओलीमृत्युलाई जितेको एउटा व्यक्तित्व हुनुहुन्छ। त्यो पनि एक पटक हैन पटक-पटक। हरेक समय उहाँ मृत्युको मुखमा पुग्दै फर्कंदै गरेको मान्छे हो । शायद मृत्युलाई नजिक नजिकबाट देखेर होला उहाँ मर्नबाट डराउनुहुन्न । आफूलाई कमजोर सम्झनुहुन्न । र, निरन्तर आफ्नो लक्ष्य प्राप्तीमा खटिरहनु हुन्छ । दिनको १८/२० घण्टा देश र जनताका लागि भनेर नै समय दिनुहुन्छ।

केपी ओलीको दैनिकी: चार पटक औषधि, सुताइ राती १-२ बजे
उहाँलाई म बिहान ८ बजे उठाउछु। किनकि बिहान ८ बजे उहाँले नियमित औषधि खानुपर्छ । त्यसपछि ब्रेकफास्ट गर्नुहुन्छ। ब्रेकफास्टमा खासगरी फलफूल, दूध खानुहुन्छ। पहिले अली ह्यावी खानुहुन्थ्यो तर हिजोआज त्यो मात्रा घटेको छ। स्याउ, केरा, सुन्तला, आँप, अम्बा उहाँलाई बढी मनपर्ने फलफूल हुन् ।

बिहान ९ बजेतिर देखि भेटघाट र बैठक सुरु हुन्छन् । उहाँलाई भेट्न नेताहरु देखि कार्यकर्ता र शुभचिन्तकहरुको भिड लाग्छ। कोही कामले आउँछन्, कोही उहाँसँग फोटो खिच्न आउँछन् । कोही टीभीमा मात्र देखेको छ, प्रत्यक्ष हेरौं न भन्ने इच्छा लिएर आउछन् । सकेसम्म सबैलाई भेट्ने व्यवस्था मिलाइएको छ। उहाँ राजनीतिको केन्द्र भागमा भएर, राजनीतिमा भूमिका बढ्दै गएर पनि होला पहिला भन्दा उहाँलाई भेट्न र कुराकानी गर्न चाहनेहरुको संख्या झन् झन् बढेको देख्छु। अर्को कुरा यातायातको सुगमताले होला दुरदराजका मान्छेलाई पनि काठमाडौं आउजाउ सहज भयो । काठमाडौं आएको बेला केपी ओलीलाई भेटेर जाउँ न त भन्ने मानिसहरुको संख्या पनि बढ्यो । अरु नेताको भन्दा उहाँको जीवन शैली अली फरक र अनौपचारिक भएर पनि होला धेरै मान्छेले भेट्न खोज्ने गर्दछन् ।

भेटघाट गर्न आउने मान्छेकै बीच भए पनि उहाँलाई ११ देखि १२ बजेको बीचमा खाना खुवाउने गरेकी छु। किनकि खाना खाएपछि १२ बजे औषधीको दोस्रो डोज खुवाउनु पर्दछ। खानामा उहाँलाई यही परिकार भन्ने रोजाइ छैन। सागसब्जी, दालभात, दही, कहिलेकाहीं मासु र अण्डा उहाँको मेनु हो । मासु र अण्डाको रुचि चाहिं पहिला भन्दा घट्दै गएको छ।

साँझ ७:३० बजे उहाँलाई अर्को पटक औषधी खुवाउनु पर्दछ । भेटघाट, कार्यक्रमहरुमा भएको बेलामा राजेशले कहिले सुरक्षाकर्मीले पनि औषधी खुवाउँछन्। भेटघाटका लागि घरमा मानिसहरु उस्तै गरी आएकै हुन्छन् । आएका सबैलाई समय दिएर, उनीहरुका कुरा सुनेर, तल्लो तहसम्मका सूचना राख्ने बानी उहाँको छ। त्यही भएर कहिलेकाही‌ गाउँ-टोलसम्मका प्रारम्भिक सूचनाहरु उहाँको मुखबाट व्यक्त हुँदा मानिसहरु अचम्मित हुन्छन् । रातीको खाना १०-११ बजेतिर खानुहुन्छ । त्यसपछि अर्को औषधीको चौथो डोज खुवाउनु पर्दछ।

उहाँका भेटघाट र बैठकहरु जारी नै रहेका हुन्छन् । तर म चाहिं १२ बजेतिर सुत्छु । उहाँ १२-१ बजेसम्म भेटघाट गरेर किचेनमा पस्नुहुन्छ। आफैं चिया पकाएर खानुहुन्छ। कहिलेकाँही चियाको कप आफैं माझेको पनि थाहा पाउँछु।

त्यसपछि बेडमा जानुहुन्छ। अनि मोबाइल खोलेर अनलाइन समाचार, सामाजिक सञ्जाल हेर्नुहुन्छ । केहीबेर किताब पनि पढ्नुहुन्छ । उहाँको सुताइ राती १/२ बजेतिर हुन्छ । कहिलेकाहीं ३/४ बजे मात्र सुत्नुहुन्छ । त्यसैले उहाँको दैनिकीलाई कुनै फर्मेटमा भन्न सक्दिन। कहिले ४ घण्टा सुत्नुहुन्छ। कहिले २ घण्टा मात्रै।

सकेसम्म म आफैं उहाँलाई खाना बनाएर खुवाउछु । पछिल्ला दिनमा त बजारबाट किनेको तरकारी खुवाउन पनि कम गरेको छु । विषादी मिसाएको हुन्छ भनेर । त्यसको विकल्पको रुपमा कौशीमा, गमलामा आफैंले तरकारी लगाएकी छु।

मानिस स्वास्थ्य हुनका लागि मुख्यगरी भान्साको सरसफाई ज्यादै महत्वपूर्ण हुन्छ। भान्सेको व्यक्तिगत सफाई,भाडाँकुडाँहरुको सफाई,खानेकुराको सफाई यस्ता कुरामा मैले अति ध्यान दिने गरेको छु। यसैगरी सन्तुलित भोजन पनि स्वास्थ्यको अर्को महत्वपूर्ण टिप्स हो ।

१२ वटा मृत्यु जितेको मान्छे
मैले थाहा पाएसम्म केपी ओलीले १२ पटक मृत्यूलाई नजिकबाट देख्नु भएको छ ।

  • २०२७ साल जेठको अन्तिम हप्तातिर ताप्लेजुङको फूलबारीको चोपुर भन्ने ठाउँमा उहाँलाई प्रहरीले पिछा गरिरहेको रहेछ। तमोर किनारको गड्तिरै गड्तिर उहाँ ताप्लेजुङतिर जादै हुनुहुन्थ्यो रे । प्रहरीले समाउन खोजेपछि उहाँ झ्वाम्म खोलामा फालहाल्नु भएछ। बाढी आएको तमोरमा फाल हानेपछि मर्यो भनेर प्रहरी आफ्नो बाटो लागे । उहाँ पौडी खेल्दै अति तलसम्म बगेर निस्कन सफल हुनु भएछ। त्यसपछि आफ्नो पुरानै गन्तव्य ताप्लेजुङतिरै जानु भएछ।
  • दोस्रो २०२९ साल मंसिर २६ गते झापामा रामनाथ दाहाललाई पक्राउ गर्दा केपी सर पनि सँगै हुनुहुँदो रहेछ । तर उहाँ भाग्न सफल हुनुभयो । पक्राउ परेका रामनाथ सहित पाँचजना योद्धालाई त्यही सालको फागुन २९ गते सुखानीमा गोली हानेर मारियो ।
  • २०३० साल असोज २३ गते उहाँलाई रौतहटबाट पक्राउ गरियो । मंसिरको ३ गते उहाँलाई विरगञ्ज ल्याउने बहानामा जंगलमा मार्ने योजना रहेछ । तर सँगै आएका प्रहरी कमाण्डर मोहन अधिकारीले यो सुँईको पाएर अर्कैबाटो लगिदिंदा उहाँले नयाँ जीवन पाउनुभयो ।
  • जब उहाँलाई पक्राउ गरियो । त्यसपछि कठोर यातना दिइयो । त्यो यातनाको अनुभव स्वयम् केपी सरलाई थाहा छ कि यातना दिनेलाई थाहा होला । त्यसमा पनि चारवर्ष जेलभित्रको पनि महाजेल गोलघरमा राखियो । त्यो कठोर संघर्ष र कष्टपूर्ण जीवन व्यतित गर्ने ठाउँ हो रे । त्यो ठाउँमा पनि लडेर संघर्ष गरेर आफ्नो दृढ इच्छा शक्तिले सकुशल फर्किनुभयो। १४ वर्षको जेल जीवनबाट मुक्ति पाएपछि राजनीतिक आकासको उचाइमै हुनुहुन्छ उहाँ ।
  • २०४९ सालतिर हुनुपर्दछ । हामी पूर्वी पहाडी जिल्लाको यात्रामा थियौं पार्टी कामकै शिलशिलामा । पाँचथरबाट गाडी लिएर गयौं । दुखले ताप्लेजुङ पुग्यौं । हामीलाई पुर्याएर गाडी फर्कियो । कहेीदिनपछि हवाइजहाजबाट फर्कने तयारी गर्यौं। सदरमुकामबाट सुकेटार विमानस्थलसम्म हिडेर गयौं । आकासमा जहाजको आवाज सुनिन्छ तर देखिदैन । मौसमका कारण जहाज बस्न सकेन । त्यसपछि हामीले हिडेरै पाँचथरसम्म आउनु पर्ने भयो । निकै वर आएपछि एकान्त ठाउँमा उहाँ भुक्लुक्क ढल्नुभयो । वरीपरी हेरें कोही मान्छे छैनन् । निर्जन ठाउँ छ । कसलाई बोलाउँ ? यो नयाँ ठाउँमा । म आत्तिए । अहिलेजस्तो पानीको बोतल बोक्ने चलनन पनि थिएन । नजिकै कुलोमा कुलुलु…पानी बगेको आवाज आइरहेको थियो । तर पानी उठाएर ल्याउनु भाँडो केही छैन । उहाँलाई त्यही छोडेर अँजुलीमा पानी उठाएर ल्याएर मुखमा हालिदिंए ।
    मेरो झोलामा पुष्टकारी बोकेको थिंए । दुईवटा पुष्टकारी खान दिंए । त्यसपछि उहाँ अलि चंगा हुनुभयो । अहिले सम्झिंदा लाग्छ शायद त्यती बेला उहाँको सुगर डाउन भएर त्यस्तो भएको हो कि । त्यो घटना मृत्यूको मुखबाट फर्किएको घटना अर्को घटना हो ।
  • २०५१ सालमा उहाँ गृहमन्त्री हुनुभयो । एकदिन ओखढुंगाको कार्यक्रम सकेर फर्कनु भएको थियो । मन्त्री क्वाटर पुल्चोकमा मानिसहरु व्यामिन्टन खेल्दै थिए । लुगै नफेरी उहाँ पनि खेल्न थाल्नुभयो । केहीबेरमा क्वाटरमा उक्लिने क्रममा सिंडी चढ्न सक्नुभएन । तत्काल टिचिङ हस्पिटल लगियो । उहाँको अवस्था देखेर डाक्टरहरु डराए । उहाँको हेमोग्लोबिन अत्यन्त न्यून भएको रहेछ । केहीदिनको उपचारपछि उहाँलाई डिस्चार्ज गरियो तर सातादिन सम्म कसैको सम्पर्कमा नबसी आराम गर्नुपर्ने डाक्टरको सुझाव थियो । कसैले थाहा नपाउने गरी फर्पिङकोे एउटा रिर्सोटमा सात दिन बसेर हामी फर्कियौं ।
  • २०५२ साउन २९ गते उहाँ हेलिकप्टर दुर्घटनामा पर्नुभयो । प्रधानमन्त्री मनमोहन अधिकारीसँगै मध्यपश्चिम नेपालको बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि फर्कने क्रममा उहाँहरु चढेको हेलिकप्टर बाँकेको शम्शेरगञ्जमा दुर्घटनामा पर्यो । हेली दुर्घटनामा परेर पनि उहाँ बाँच्नुभयो । त्यो उहाँको मृत्यूको मुखमा पुगेर फर्र्केको अर्को घटना थियो ।
  • २०६२ सालमा त्यती बेलाका भूमिगत माओवादी नेताहरुलाई भेट्न भारतको दिल्ली जानुभएको थियो । माओवादीहरुलाई शान्ती प्रक्रियामा ल्याउन उहाँले विशेष पहल गरिरहनु भएको थियो । उनीहरुसँग भेटघाट गर्न जाँदा एपोलो अस्पतालमा जेनेरल चेकजाँच गरौं न त भन्ने कुरा भएछ । चेक गरेर रिर्पोट आउन समय लाग्ने भएकोले उहाँ फर्कनुभयो । पछि एकजना साथीले रिर्पोट ल्याइदिनुभयो । त्यो हेर्दा पनि हेरिएन । २०६२÷०६३ को जनआन्दोलनको हड्तालको बेला थियो । एकदिन घरमा भएका बेला त्यो रिर्पोट हेरियो । रिर्पोटमा मृगौला खराब भएको देखियो । यो अवस्था थाहा हुँदा हुँदै पनि सामान्य नै होला भनेर उपचारमा खास ध्यान र समय दिन पाइएन । उहाँ सरकारको उपप्रधान तथा परराष्ट्र मन्त्री हुनुभयो । उपप्रधानमन्त्रीको कार्यकाल सकिएपछि नेपालमा प्रारम्भिक उपचार गरेर २०६४ साउनमा भारतको अपोलो अस्पतालमा उहाँको पहिलो पटक मृगौला प्रत्यारोपण गरियो ।
  • २०६९ सालमा उहाँलाई निमोनियाले एक्कासी चाप्यो । नेपालमा उपचार सम्भव नभएपछि एयर एम्बूलेन्सबाट उहाँलाई भारतको मेदान्त अस्पताल लगियो । त्यहाँ पनि बाँच्नका लागि ठूलै संघर्ष गरियो । करिब १३ दिन अस्पताल बसेर डिस्चार्ज हुने बेलामा उहाँको अवस्था एकदम कमजोर देखियो । शरीरमा एक केजी पनि मासु नभए जस्तो देखिन्थ्यो । सबै हाडछाला मात्र थियो । यो अवस्था देखेपछि म धेरै भावुक पनि भएं । मृत्यूलाई जितेको यो अर्को चरण थियो । उहाँलाई निमोनिया भएर भेन्टिलेरमा राख्दा धेरै रोंए। निमोनिया हुँदा उहाँलाई एयर एम्बुलेन्समार्फत मेदान्त अस्पताल लगेका थियौं। मलाई दिनको एक पटक भेट्न दिन्थ्यो । भेन्टिलेटरमा राखेको थियो । उहाँको खोकी निको भएन । मेसिनलाई मुख भित्र पठाएर खकार निकाल्ने प्रविधि रहेछ । उहाँ किड्नी ट्रान्सप्लान्टको बिरामी भएको हुनाले त्यो प्रविधिको मेसिन राख्दा क्रिटिकल अवस्था आउन पनि सक्छ भनेर डाक्टरले भनेर मलाई त्यहाँ हस्ताक्षर गर्न भने । सबैभन्दा म चिन्तित भएको र एक ढंगले डर लागेको र अलिकति बढी नै रोएको म सायद त्यही बेला हो । त्यसो भनेपछि मैले हस्ताक्षर गर्न सकिनँ । मैले यहाँका डाक्टरहरुसँग पनि फोनबाट पनि सम्पर्क गरेँ । अपोलो अस्पतालका डाक्टरहरु जो उहाँलाई चेक गर्दथे, उहाँहरुसँग पनि सम्पर्क गरेँ । मैले पार्टीका मान्छेहरुसँग पनि सम्पर्क गरेँ । सबैलाई सम्पर्क गरेर अब के गर्ने भनेर सोधेें । मैले डाक्टरलाई आजको रात विचार गर्न दिनुस्, म सबैसँग छलफल गर्छु भने । त्यही रात मैले डाक्टर दिलिप र डाक्टर कैलाशलाई पनि फोन गरे । यो मेडिकलको विषय म त्यति बुभ्mदिनँ, । डाक्टरहसँग डिलिङ गर्न पनि सक्दिनँ । त्यसो हुनाले तपाईंहरु भोलि बिहान जसरी भए पनि यहाँ आउनुहोस् भने । उहाँहरु पहिलो उडानमै अर्को दिन आउनु दिल्ली आउनुभयो । उहाँहरुले त्यहाँको डाक्टर र अस्पतालका मान्छेसँग सल्लाह गर्नुभयो । सल्लाहपछि हायद त्यो प्रविधीको प्रयोग नगर्ने निर्णय भएछ जस्तो लाग्छ ।
    ८÷१० दिनमा आइसीयूबाट निकालेर एउटा जनरल कोठमा ल्याउँदा मैले उहाँको सबैभन्दा दयनीय(दुब्लो) अवस्था देखेको, हड्डी मात्रै, मासु त एक टुक्रा पनि थिएन जस्तो लाग्यो मलाई । २÷३ दिन जनरल बेडमा राखेर डिस्चार्ज गरेको थियो । त्यतिबेला हामी २ हप्ता अस्पताल बसेका थियौं ।

– २०७० सालको संविधानसभाको निर्वाचनमा उहाँले झापाबाट शानदर मतका साथ चुनाव जित्नुभयो । अघिल्लो निर्वाचनमा गरेको गल्ती झापाली सचेत जनताले सच्याएका थिए । चुनावभन्दा अघि देखि नै उहाँमा रोगका लक्षणहरु देखा परिरहेका थिए । हात र शरिरका विभिन्न भागमा काला दागहरु देखिएका थिए । हातमा पट्टी बाँधेर भएपनि उहाँ चुनाव प्रचारमा लाग्नुभयो । चुनाव जितेर फर्केपछि पनि स्वास्थ्यलाई भन्दा राजनीतिलाई नै उहाँले बढी महत्व दिनुभयो । फागुन देखि विरामले थप चाप्दै लगेपछि ग्राण्डी अस्पतालमा भर्ना गर्यौं । अस्पतालमै पार्टीको बैठक बसेर वामदेवजीलाई एमालेको तर्फबाट सरकारको नेतृत्वमा पठाउने निर्णय भयो । अस्पताल बसेको दुई हप्ता भइसक्दा पनि विरामको कुनै पहिचान भएन । थप उपचारका लागि दिल्लीको म्याक्स अस्पताल लगियो । केही समयको उपचारपछि निको भएर फर्कियौं ।

  • २०७० सालको अन्त्यतिर दिल्लीबाट उपचार गरेर फर्केको महिना दिन पनि भएको थिएन । उहाँमा अर्को विरामको लक्षण देखियो । मान्छे हेर्दा धेरै सिरियस बिरामी जस्तो नदेखिने तर कुरा चाहिँ कता कता अन्कन्सियस गर्ने । ३ दिन हामीले उहाँलाई नर्स सहित घरमा स्लाइन दिएर राख्यौं । त्यसपछि टिचिङ अस्पताल लग्यौं । तर त्यो कुरा उहाँलाई थाहा छैन । बोलि राख्नु भएको छ, अलिअलि खाने कुरा पनि खानु भएको छ । पछि मैले घरमा आएर उपचार सेवा दिएका डाक्टर र नर्सलाई पैसा दिनका लागि कुरा गर्दा कहिलेको पैसा भन्नहुन्छ ! अस्ति तपाईंलाई ३ दिन घरमा नर्ससहित राखेको थियो त्यसको फि को पैसा तिर्न लागेको भने । उहाँले मलाई त थाहा थिएन भन्नुभयो । टिचिङ लगेर पनि २÷३ दिन राखियो । त्यहाँका डाक्टरको सिफारिस पछि थप उपचारका लागि बैङ्कक लगेको हो ।

बैङ्ककमा डाक्टरहरुले उहाँको २०÷२५ प्रतिशत मात्रै बाँच्ने सम्भावना भनेका थिए । तर १०÷१२ दिनमा ठीक भयो । नेपालमा असार देखि पार्टीको नवौं महाधिवेशनका हुँदै थियो । डाक्टरहरुले वैशाखी टेकेर मात्र हिँड्न सक्नुहुन्छ भनेका थिए । यस कुराले उहाँ बढी सिरियस हुनुभयो । मैले उहाँलाई सम्झांए । डाक्टरहरुलाई तपाईं को हो भनेर के थाहा ? तपाईंको आँट, आत्मविश्वास यिनीहरुलाई केही पनि थाहा छैन भने । यिनीहरुले त अरु बिरामीलाई जसरी सम्झाउने हो, तपाईंलाई पनि त्यसरी नै सम्झाए भने । तर त्यति बेलासम्म तपाईं एकदम तगडा हुनुहुन्छ, केही पनि चिन्ता लिनु पर्दैैन आँट भरिदिंए । उहाँले चिन्ता लिनुपर्ने कारण भनेको चाँही नेपाल फर्कने वित्तिकै पार्टीको महाधिवेशन थियो । उहाँ अध्यक्षको उम्मेद्वार हुनुपर्ने थियो । खटाई धेरै हुनेवाला थियो । पछि मैले भनेको जस्तै भयो । उहाँ निको हुनुभयो ।

  • २०७६ मंसिरमा एपेन्डिसाइडको अप्रेशन गरेर ल्याइसकेपछि अस्पतालको बेडमा हेर्दा उहाँ एकदमै गलेको जस्तो देखिनु भएको थियो । सेन्स त छ नै । म यहाँ बसौं कि जाउँ भनेर सोध्दा बोल्न त सक्नु भएन तर इशाराले जाउ तिमी भन्नु भयो । त्यसबेला मैले २ दिनसम्म डाक्टरहरु धेरै सिरियस भएको देखेँ । अरु प्यारामिटरको बारेमा मलाई खासै थाहा छैन । त्यो देख्दा उहाँहरुलाई कम मात्रै आश भएको हो कि जस्तो लाग्यो । म डाक्टरहरुको सिरियस अनुहार देख्दा बिरामीको अवस्था के रहेछ भन्ने अनुमान लगाउथे । सोध्न चाहिँ सोधिनँ, तर उहाँहरुको मनस्थितिको अध्ययन त गर्थेँ ।

दोस्रो पटकको मृगौला प्रत्यारोपण सामान्य जस्तो लाग्यो

  • २०७६ को फागुन २१ गते उहाँको दोस्रो पटक किड्नी ट्रान्प्लान्ट गर्नुपर्यो । पहिलो किड्नी ट्रास्नप्लान्टमा जस्तो डरलाग्दो अवस्था मलाई लागेन । दोस्रो पटकको किड्नी ट्रान्सप्लान्ट त केही पनि होइन कि जस्तो लाग्छ । नेपालकै शिक्षण अस्पतालमा ट्रान्सप्लान्ट गरेको हुनाले पहिलेको जस्तो दुख पनि गर्नुपरेन । उहाँ त्यसबेला प्रधानमन्त्री भइराखेको हुनाले डाक्टर, नर्स, आर्मी, प्रहरी सबैको सहयोग पनि प्राप्त भएको थियो । त्यसकारण म एक ढंगले फ्रि पनि भए ।

यति धेरैपटक मृत्युको नजिक पुगेर पनि आज उहाँ देश र जनताकै लागि नै काममा खटिरहनु भएको छ । यो सबै देखेर म खुशी छु । उहाँका लागि भनेर बहुसंख्यक नेपालीले प्रार्थना गरेका छन् । उहाँप्रति आम नेपाली जनताले भरोसा र विश्वास गरेकोमा गौरव लाग्दछ । देश र जनताको सुखका लागि केही गरौं भन्ने उहाँको इच्छामा उर्जा थपिदिने सबै शुभचिन्तकहरुप्रति म आज उहाँको जन्मदिनको दिन हार्दिक आभार र धन्यवाद भन्न चाहन्छु।

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धर्मपत्नी राधिका शाक्यसँग चेतन अधिकारीले गरेको कुराकानीमा आधारित )