२०३३ सालतिर म आईएमा ईलाम क्याम्पस भर्ना भएँ । त्यसपछि मैले जीवनमा पहिलो पटक केपी, सिपी, आरके, झलनाथ र मोहन चन्द्रहरुको नाम सुनेको हुँ । यी सबै नामहरुलाई सिपी मैनालीको नामले छपक्क छोपेको थियो त्यो बेला। त्यसै बेला अखिल पाँचौ हुँदै म नेकपा मालेको सम्पर्कमा पुगें । त्यसबेला पार्टीको मुखपत्रका रुपमा प्रकाशित हुने ‘वर्ग संघर्ष’ र ‘मुक्ति मोर्चा’ जस्ता पत्रिकामा प्रकाशित हुने राजनैनिक लेखहरुमा उल्लेख भएका नामहरुबाट भूमिगत नेताका भूमिगत नामहरु थाहा हुन्थ्यो । वास्तविक नाम त थाहा हुने त कुरै हुदैनथ्यो। हामी अखिल पाँचौका विद्यार्थीहरु माझ नेकपा माले सम्बद्ध नेताहरुको बारेमा चर्चा हुदा सिपी, मोहनचन्द्र र आरकेहरुकै बढी चर्चा हुन्थ्यो । केपी ओलीको नाम आक्कल झुक्कल मात्र आउथ्यो । मेरो स्मृतिको एउटा साँघुरो कुनामा केपी ओलिको नाम समेत सेभ गरेर मैले इलाम क्याम्पस छोडे।
झापा झरे पछि त्यसबेलाको माले भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका कारणले पार्टी संगको मेरो सम्पर्क अनौपचारिक र ब्यक्तिगत हुन पुग्यो । इलाम क्याम्पस छोड्दा अण्डरग्राउण्ड,युजी (भूमिगत) जाने भनेर पार्टीले उपलब्ध गराएको फारम भरेर हिडेको थिएँ । छ महिनासम्म पनि पार्टीबाट कुनै सम्पर्क नआए पछि फर्म भर्ने अन्तिम दिन मैले बीए अध्ययनका लागि विराटनगर क्याम्पस भर्ना गरें । विराटनगरमा पनि अखिल पाँचौको विद्यार्थीका रुपमा विद्यार्थी गतिविधिमा मात्र सिमित भईयो । बि एको अध्ययन सकेर म झापा फर्किए र आफ्नो ब्यवसाय शुरु गर्नतिर लागे ।
२०४४÷०४५ तिर गोबिन्द गौतम, भक्ति अधिकारी र म बस्ने दमक स्थित डेरामा एक दिन झमक्क साँझ पर्न लागेको बेला एकजना चश्मा लगाएको दुब्लो पातलो मान्छे खेम भण्डारीसंग कोठाभित्र पस्दै गरेको देखें । अलि टाढाबाट गविन्दजीले मलाई केही ईशारा गर्नु भयो । मैले अनुमान गरे कि ती नवागन्तुक पार्टीको कुनै माथिल्लो तहका नेता हुनुपर्छ । त्यसपछि म कोठातिर गइन बरु त्यो रात भक्तिदाइ लाई समेत लिएर अन्यत्रै सतें । भोलिपल्ट गोबिन्दजीले हिजो हाम्रो कोठामा आउने केपी ओली हो भनेर चिनाउनु भयो । मैले भौतिकरुपमा केपी ओलीलाई पहिलो पटक देखेको त्यहीं हो । त्यसबेला उहाँ जेलबाट छुटेको यस्तै तीन चार महिना भएको हुँदो हो ।
केपी ओलीको पहिलो त्यो आम निर्वाचन
२०४६ पछि माले माक्र्सवादी एकीकरण हुनुभन्दा अघि पार्टीले व्यापक रुपमा पार्टी सदस्यता वितरण गर्यो । पार्टी सदस्यता लिन फलामे ढोका पार गर्नु पर्ने कम्यूनिष्ट पार्टीमा हामी थोरैले पार्टी सदस्यता पायौं । आफ्नो ब्यवसायको कारणले सधैं प्राय जसो दमक बाहिर बस्नु पर्ने मैले २०४८ सालको प्रतिनिधि सभाको निर्वाचनका लागि एक महिनाको समय निकालेर दमक आँए । चुनावी चहलपहल सुरु भइसकेको थियो । यसै दौरानमा उहाँसंग घुलमिल हुने मौका मिल्यो । त्यसबेला जीप तथा मोटर साईकल जस्ता सवारी साधन एकदमै न्यून थिए । मसँग दुईवटा मोटर साईकल र दुईवटा ट्रक थिए । चुनावमा तिनको भरपुर उपयोग गरियो । तर त्यो निर्वाचनमा केपी कमरेडलाई धेरै जसो हिडाएरै चुनाव प्रचार गरियो । पार्टीका जिम्मेवार साथीहरु भर्खर भूमिगत जीवनबाट खुल्ला परिवेशमा आएका हुनाले आम व्यापारी तथा उद्योगीहरुसँग परिचित थिएनन् । यसर्थ उनीहरुसँग घुलमिल हुने र आर्थिक सहायता संकलन गर्ने जिम्मा म, खेम भण्डारी, गजेन्द्र श्रेष्ठ, आँसु ताम्राकार जस्ता साथीहरुलाई थियो ।
खुला परिवेशका हामीहरु पञ्चायती निर्वाचनमा समेत सकृय सहभागी हुने भएकोले हामी अन्य पार्टीकाहरुसँग पनि परिचित थियौ । तिनका आनिबानि,क्षमता र चालबाजीका बारेमा थोर बहुत जानकार थियौं । यस कुराले हामीलाई विपक्षीहरुका चुनावी रणनीति बुझ्न र तिनलाई निस्तेज तुल्याउन सहयोग पुर्यायो । यसै चुनाव देखि म उहाँको सम्बन्ध निकट भएको हो ।
चुनावको जितौरी खान २० रुपैंया
चुनावमा सिङ्गै मेची अंचलमा पार्टीले जीत हात पार्यो। यो बिजय पछिको एउटा रोचक प्रसंग पनि छ । चुनाव जितेपछि भोज खुवाउनु पर्यो नि भनेर जिस्क्यायौं । उहाँले कुर्थाको गोजीबाट हात हालेर २० रुपैया निकाल्दै भन्नुभयो ‘पार्टीले बाटो खर्च भनेर ३ सय रुपैंया दिएको थियो । बसको टिकट र खाना खाएर बचेको यही हो । यसैले भोज खानुहोस ।’
उहाँका खास बिशेषताहरु मध्ये एउटा के हो भने आफू भित्रको अथाहा ज्ञानको भण्डारलाई बिना प्रसंग कहिल्यै उजागर गर्नु हुन्नथ्यो । औषत खालको नेता हुनुहुन्छ। भविष्यमा वाहाले यो उचाई लिनु हुनेछ भन्ने त्यो बेला कल्पना पनि गरिएको थिएन ।तर एमालेको नौ महिने सरकारको गृहमन्त्रीको रुपमा उहाँले कुशलता पूर्वक निर्वाह गरेको भूमिकाबाट थाहा लाग्यो कि उहाँहासंग जस्तो सुकै जिम्मेवारी वहन गर्ने गजबको क्षमता छ । राप्रपालाई साथ लिएर पनि सरकार जोगाउनु पर्छ भन्ने उहाँको बिचारसंग त्यसबेला आम कार्यकर्ता र पार्टी सहमत नभए पनि केही समय पछि नै त्यसको सान्दर्भिकता पुष्टि भएबाट लाग्यो उहाँ अत्यन्त दुरदर्शी नेता हुनुहुन्छ ।
२०४९ सालतिर केपी कमरेड राधिका कमरेड सहित मेरो घरमा करिव डेढ महिना बस्नु भयो । त्यस बेला उहाँहाका दुईवटा गजबका विशेषताहरुसंग परिचित हुने मौका मिल्यो । एउटा ल सुतौ भनेपछि निदाउन मिनेट नलाग्ने र यति बजे उठ्ने भनेर उठ्न पनि मिनेट फरक नपर्ने । अर्को कुनै पुस्तक पढे पछि त्यसमा उल्लेख भएका घटना र मिति कम्प्यूटरको मेमोरिमा सेभ भए जस्तै दिमागमा स्मरण हुने ।
नाइट बसपार्कमा केपी ओलीलाई भेटेपछि……
उहाँको ठूलो कमजोरी भनेको उहाँ आफ्नो सुरक्षाप्रति पटक्कै चिन्तित नहुनु हो । २०५१ को साउनतिरको एक साँझ । दमक चोकको रात्री बसपार्कतिर यसै घुम्दैथिंए । केपी कमरेड र खेम भण्डारी आईपनि पुग्नु भयो । कता जान लाग्नु भएको भनेर मैले सोधे । उहाँले एउटा सानो झोला काँधमा भिर्नु भएको थियो ।े काठमाण्डौ हिडेको भन्नुभयो । मैले सोधे खेम जी पनि हो ? उहाँले होईन म एक्लै जान लागेको भन्नू भयो । …अनि मैले उहाँको काधबाट झोला खोसे र भने भर्खरै त्यत्रो ठूलो घटना भएको छ अझै तपाईहरुको चेत खुलेको छैन ? पर्दैन एक्लै जान । भोलि प्लेनबाट जानू । बसको टिकटको पैसा तिरी सकेको छ जान्छु भन्दै हुनुहुन्थ्यो तर मैले झोला दिदै दिईन । भोलि पल्ट मैले बिराटनगर पुर्याएर प्लेन चढाँए । त्यसपछि चाँही उहाँ बसमा यात्रा गरेको थाहा पाइन ।
२०५६ को निर्वाचनमा काँग्रेसको अनौठो प्रस्ताव ः उल्टो स्वस्तिक सदर कि बदर?
२०५४ सालमा एमाले विभाजन भएर माले भएपछि २०५६ को निर्वाचन निकै पेचिलो भयो । तत्कालिन मालेको उहाँ तारो बन्नु भएको थियो । देवी ओझा केपी ओली हराउने एक सुत्रीय नारा बोकेर मालेको उम्मेद्वार बनेको थिए । कांग्रेस माले —एमाले द्वन्दको फाईदा उठाउने ताकमा थियो । उहाँ साविकको झापा निर्वाचन क्षेत्र नं ६ र नयाँ निर्वाचन क्षेत्र नं २ बाट पनि उम्मेद्वार हुनुभयो । त्यहाँ मालेका सिपी मैनालीसँग उहाँको भिडन्त हुदैथियो ।
निर्वाचन शान्तिपूर्वक रुपमा संम्पन्न भयो । तर मत गणना शुरु हुनु पहिले एउटा नसोचेको डरलाग्दो समस्या आईलाग्यो। मत गणना पूर्व सर्वदलीय बैठक बस्यो र त्यसले मत गणनाका विधिहरुको बारेमा सहमति कायम गर्यो । सबै बिषयको छलफल टुङ्गिए पछि नेपाली कांग्रेसका मतगणना प्रतिनिधिले नसोचेको एउटा बुदाको उठान गरे । उनले भने कि ‘उल्टो स्वस्तिक भएको मत पत्र सदर हुने कि बदर हुने ?’ यो सुन्ने बित्तिकै मेरो शरिरमा एकै पटक चिसो पानी खन्याए जस्तै भयो । दमकबाट मतपत्रको बाकस लिएर हिड्ने बेलामा मलाई ने का का दिल बहादुर बुढाथोकीले ‘हामीले एउटा जादु गरेका छौ तसर्थ चुनाव हामी जित्छौं’ भनेको कुरा सम्झना भयो । मैले हाम्रा पकड भएका मतदान केन्द्रहरुमा उल्टो स्वस्तीक राखेको हुन सक्छ भन्ने अनुमान गरे । एमाले बाहेकका सबै प्रतिनिधिहरुले एक स्वरमा बदर हुनु पर्छ भने । एमालेका अरु साथीहरु केही नबोली चुपचाप बस्नु भो। अनि मैले भने ‘मतदाताहरुले आफै स्वस्तीक छाप बोकेर नआउने र निर्वाचन आयोगले उपलब्ध गराएको चिन्ह नै प्रयोग गर्ने भएकोले निर्वाचन आयोगको गल्तिको सजाय मतदाताहरुलाई दिनु हुन्न र यस्तो मतपत्र सदर हुनुपर्छ ।’
निकै लामो रस्साकस्सिबाट पनि मतदान अधिकृतले कुनै निर्णय दिन सकेनन् । अनि म केपी ओलीलाई फोन गर्न बाहिर निस्कें । उहाँले प्रमुख निर्वाचन आयूक्तसंग कुरा गर्छु भन्नू भयो। म भित्र पुगे पछि रोमजीले जति बेला यो अवस्था आउँछ त्यति बेला छलफल गर्ने । अहिले मत गणना शुरु गरौ भनेर प्रस्ताव गर्नु भयो । मतगणना शुरु भयो ।
दक्षिणी क्षेत्र जुन कांग्रेसको प्रभाव क्षेत्र हो । त्यहाँ उसले लिड गर्यो । हामीलाई अपेक्षित मत आईरहेको थियो । महारानीझोडाका केही मतदान केन्द्रहरुको मतगणना हुँदा हामी लगभग १४सय जति मतान्तरले अघि लाग्यौं । त्यसपछि महारानीझोडाकै एउटा बुथ जुन एमालेको प्रभाव क्षेत्र थियो त्यस्को मत पेटिका खोल्नासाथ उल्टो स्वस्तिक लागेका मतपत्रहरु छरपस्ट देखा परे । मतगणना रोकियो । मैले पार्टीका प्रतिनिधिहरुसँग मतपत्र सदर गर्न निकै अनुनय गरे तर कसैलाई पनि मनाउन सकिन। रात बित्यो र बिहानको आठ बजेतिर जिल्ला निर्वाचन आयूक्त सेनाको टुकडी सहित मतगणना स्थलमा प्रवेश गरे र उल्टो स्वस्तिक लागेको मतपत्र बदर हुने निर्णय सुनाए । मैले सोचे अब चुनाव हार्ने अवस्था आयो भने मतपत्र च्यात्छु । यो सँगै अरु बुथका मतपेटिकाहरु पनि खोलिए र के थाहा भयो भने सबै बुथमा यो अपराध भएको छैन। मैले अनुमान गरे कि कम्तिमा दुई हजार पच्चीस सय मतले चुनाव जितिन्छ । लगभग ४४ सय हाम्रा मतहरु बदर गरिए तथापी करीब ४७ सय मतले हामीले चुनाव जित्यौं।
केपी ओलीलाई हराइएको चुनाव
२०६४ सालको संविधानसभाको निर्वाचनमा केपी ओली पराजित हुनुभयो । साउनमा मृगौला फेरेको चैतको अन्तिममा चुनाव थियो । शारिरीक रुपमा उहाँ निकै कमजोर हुनुहुन्थ्यो । लखनपुर, तोपगाछी, धरमपुर र दमक तीनवटा गाविस र एउटा नगरपालिका समावेस भएको यो क्षेत्र एमालेको लालकिल्ला थियो । यसर्थ यसपटक चुनाव जित्न खासै मेहनत गर्नुपर्छ जस्तो लागेको थिएन । यसर्थ मैले यस निर्वाचनमा १५ दिनको समय छुट्याएको थिएँ । म घर पुगेको भोलिपल्ट लखनपुरमा सानो चुनावी कार्यक्रम रहेछ । म पनि गएँ । तर मलाई त्यहाँको उपस्थिति देखेर मनमा चिसो पस्यो । करीब १० जना जतिको उपस्थिति थियो । तत्कालिन गाविस अध्यक्ष भोजकुमार घिमिरे लगायत धेरै अगुवा साथीहरु अनुपस्थित थिए । मलाई मनमा औडाह भएर आयो र म मोटर साईकल लिएर गाउँ पसे । घर-घरमा भेटिएका धेरै साथीहरु सकारात्मक कुरा गरेनन् ।
बेलुका मैले केपी कमरेड लगायत अरु साथीहरुलाई आजको दिन सम्म चुनाव हारिदैछ भन्ने कुरा राखें । कसैले पत्याएनन् । प्रत्येक दिनको मेरो मुल्याङ्कनमा परिस्थितिमा कुनै सुधार आएको मलाई थिएन । हरेक दिन मैले स्थितिको जानकारी गराइरहें । एक दिन त केपी कमरेडले मलाई अलि झर्को मानेर मलाई भन्नुभयो ‘तपाईं धेरै निराशावादी हुनु भयो । हामी ५ हजार मतान्तरले चुनाव जित्छौ।’ यस भनाइमा मैले कुनै प्रतिवाद गरिन ।
मौन अवधीको दुईदिन अघि उहाँलाई एकान्तमा लगेर चुनाव हार्ने निश्चित छ भने ।त्यसपछि चाँही उहाँ गम्भिर हुनुभयो । तर समय घर्की सकेको थियो ।
निर्वाचनको दिन बिहानै देखि म बुथमा खटें । त्यो दिन पानी बाहेक केही खान पनि मन लागेन। चुनावी वातवरण बिल्कुलै निराशाजनक थियो। निर्वाचन सम्पन्न भए पछि मत पेटिकाहरु शिलबन्दी गरिसके पछि म नजिकैको होटलमा पसे र दुई बोतल बियर खाँए । अनि उहाँको घर तिर लागें । त्यहाँ पुग्दा रोमजीहरु मतगणनाको लागि चन्द्रगढी हिड्न तैयार भएर मलाई नै पर्खेर बस्नु भएको रहेछ । म पुग्ने बित्तिकै ल जाउ भन्नू भो तर मैले यो हार्ने चुनावको मतगणना गर्न म जान्न भन । तर केपी कमरेडले जानुहोस भने पछि मैले नाई भन्न सकिन।
मतगणना शुरु भयो। धरमपुरको एउटा बक्सा र दमकको एउटा बक्सा मिसाएर गन्दा माओवादी भन्दा हामी पचपन्न मतले पछि पर्यौ। अर्कोतिर खोलिएको मतपेटिकाले पनि राम्रो लक्षण देखाएको थिएन। त्यस पछि म साथिहरुलाई छोडेर हिडें । चन्द्रगढीकै एउटा होटलमा कोठा लिएर एक्लै बसे ।टिभिमा आएका परिणामहरुले माओवादीको पक्षमा परिणाम जाँदै थियो । यती हुदा पनि केपी ओलीले चुनाव जितिहालिन्छ कि भन्ने झिनो आशा छदै थियो । तर त्यस्तो भएन । उहाँले लगभग १४ सय जति मतान्तरले चुनाव हार्नुभयो । मलाई लाग्यो कमरेडहरुले मेरो कुरालाई गम्भिरतापूर्वक लिईदिएको भए र मैले भने अनुसार गरेको भए हामीले चुनाव जित्ने थियौं ।
बालकोटबाट फोन आएपछि……
चुनावमा पराजित भएको चार दिन पछि होला मलाई बालकोटबाट केपी कमरेडको फोन आयो । उहाँले मलाई काठमाडौं आउन भन्नुभयो । पर्सीपल्ट बालकोट पुगें । राधिका कमरेड सहित हामी बसेर कुरा गर्यौं । राधिकाजीले भन्नुभयो ‘चुनाव पनि हारियो । उहाँको स्वस्थले पनि साथ दिएको छैन। मेरो बिचारमा अब राजनीतिबाट बिदा लिने कि ? तपाईहरु के सल्लाह दिनुहुन्छ ? मैले भने ‘उहाँको परिचय नै राजनैतिक नेताको रुपमा स्थापित छ ।चुनावमा हार जीत हुन्छ । फेरी यस पटक हामीले मात्र चुनाव हारेको होईन ।’ केपी ओली चुपचाप हाम्रा कुरा सुनिरहनु भएको थियो । अन्त्यमा गर्न त राजनीति नै गर्ने हो भनेर उहाँले कुराको बिट मार्नु भयो ।
(दमक निवासी अधिकारी,नेकपा एमाले उद्योग व्यवशाय विभागका सदस्य हुनुहुन्छ।)






प्रतिक्रिया