अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुपरिचयको एउटा बिम्व केपी शर्मा ओली

बहुपरिचयको एउटा बिम्व केपी शर्मा ओली


फागुन ११, हाम्रो लागि एउटा विशेष दिन अर्थात नेपाली जनताको मष्तिष्कमा बस्न सफल आदरणीय अविभावक र प्यारो नेता “केपी बा” को जन्मदिन । नेपाली राजनीति क्षेत्रमा आफनै गौरवपूर्ण बलिदान र त्याग, ४ वर्ष गोलघर सहितको १४ वर्षको कारावास जीवन र जनताको जगमा आर्जित भएको नाम केपी शर्मा ओलीका बारेमा प्रायशः सवै मानिसहरु परिचित नै छन् । बहुपरिचय सहितको एउटा विम्व केपी शर्मा ओलीलाई समाजका हरेक मानिसहरुले विभिन्न हिसाबले बुझने र विश्लेषण गरिए पनि र उहाँलाई समग्रमा नेपाली राजनीतिका सफल र राष्ट्रवादी राजनेताको रुपमा बुझिए पनि उहाँप्रतिको बुझाई त्यतिमै मात्रै काफी हुँदैन । त्यसैले यहाँ मैले उहाँलाई उहाँको राजनीति छवि, उहाँले आत्मसात गरेको राजनीतिक दर्शन बाहेक उहाँले आफनो अध्ययन र अभिव्यक्तिबाट पाइने अन्य केही विशेषताहरुको टिपोट गर्ने जमर्को गरेकी छु ।

नेपालको बामपन्थी र लोकतान्त्रिक आन्दोलनका लागि साढेपाँच दशकभन्दा वढीको समय व्यतीत गरेका केपी ओलीका राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरमहरुमा व्यक्त गरेका भाषणहरुको संख्या कति छन् , यकिन गर्न कठिन छ । उहाँका यी अभिव्यक्तिहरु कति रेकर्ड पनि गरिएका छन भने कति पुस्तकको रुपमा पनि प्रकाशित भैसकेका छन । त्यसमध्ये उहाँका केही मुख्य प्रकाशनहरुमा समवेत दृष्टि, उक्ति सङ्ग्रह, दृष्टिकोण, मेरो आकांक्षा (भाग १ र २), सेलेक्टेड स्पिच अफ केपी शर्मा ओली, महामारीको वर्ष र समृद्धिको यात्रा जस्ता महत्वपुर्ण कृतिहरु प्रकाशन भैसकेका छन । उहाँले संसदमा अभिव्यक्त गरेका भाषणहरुको संकलन गरिएको पुस्तक संसदमा ओली प्रकाशोन्मुख रहेको छ । उहाँका पुस्तकहरुको अध्ययन र उहाँले औपचारिक र अनौपचारिकरुपमा अभिव्यक्त गरेका शव्द, त्यसको भाव र सन्देशलाई बुझने र विश्लेषण गर्ने हो भने हामीले केपी शर्मा ओलीलाई त्याग र वलिदानको जगमा उभिएको राष्ट्रवादी एउटा राजनेता, देशको पूर्व प्रधानमन्त्रीकारुपमा मात्रै बुझने हो भने उहाँप्रतिको बुझाईमा अन्याय हुन्छ भन्ने मेरो बुझाइ रहेको छ । मेरो विचारमा केपी शर्मा ओली यी कुराभन्दा पनि अझ माथि हुनुहुन्छ भन्ने मेरो बुझाइ रहेको छ।

पुर्वीय दर्शन परम्परालाई समेत बुझने नेता
दर्शनलाई भौतिक र आध्यात्मिक दृष्टिकोणबाट व्याख्या विश्लेषण गरिन्छ र मानिसहरुले जीवन र जगतलाई पढ्न र बुझ्न यी दर्शनहरुको विधिलाई आत्मसात् गर्दछन । मानिसहरु भौतिकवादी पनि हुन सक्दछन र आध्यात्मिकवादी पनि हुन सक्छन । मानिसको विचारवाट उत्पति भएको र जीवन र जगतलाई बुझने हतियारकोरुपमा रहेको दर्शनका विविध पक्षहरुको अध्ययन भएका, व्याख्या विश्लेषण र अभिव्यक्त गर्न सक्ने र आफनो व्यवहारमै उतार्नु पर्छ भन्ने धारणा बोकेका नेताका रुपमा हामीले केपी शर्मा ओलीलाई बुझनुपर्दछ । केपी शर्मा ओलीको राजनीतिक जीवनको दर्शन भनेको माक्र्सवाद हो । माक्र्सवादी भएको नाताले अहिलेसम्म हामीलाई पढाइएको र हामीले पढेको पक्ष भनेको माक्र्सवादका सङ्गठक अङ्गहरु भौतिकवादी दर्शन, बैज्ञानिक समाजवाद, र राजनीतिक अर्थशास्त्रलाई मात्रै बुझेका छौ । तर मेरो बुझाइमा केपी शर्मा ओली त्यो भन्दापनि पृथक मान्छे हुनुहुन्छ ?

हाम्रो पुर्वीय दर्शन परम्परामा आधारित वेद, षड्दर्शन (साख्य, न्याय, वैशेषिक, योग, पूर्वमीमासा, वेदान्त दर्शन, महाभारत, गीता, रामायण) आदिजस्ता ग्रन्थहरुको अध्ययनको सीमालाई खुम्च्याएका छौ र यिनीहरुका विभिन्न पसलहरु थापेर आफुभित्र इश्वर खोज्ने र मोक्षकोबाटोमा आफुलाई रुपान्तरण गर्ने काममा मानिसहरुलाई उत्प्रेरित गरिरहेका छौ । तर हामीले हाम्रो पुर्वीय दर्शन परम्परालाई जोडेर माक्र्सवादको अध्ययन कहिल्यै गरेनौ । हाम्रो मुल भाषा संस्कृत र हाम्रो गौरव पूर्वीय संस्कार र त्यहाँभित्र रहेको ज्ञानलाई जीवन र जगतसँग जोडेर बुझने हाम्रो प्रयास निकै कमजोर रहयो । हामीले हाम्रो पूर्वीय दर्शन परम्परालाई राज्य सञ्चालनको विधिसँग जोडन निकै कन्जुस्याई गर्‍यौं। हामीले श्रुती परम्पराबाट विकास भएको हाम्रो पूर्वीय दर्शन परम्पराको माक्र्सवादसँगको सम्वन्ध र साइनो के छ भनेर समेत अध्ययन गरेका छैनौं। हाम्रा पुर्वीय दर्शनभित्र रहेको भौतिकवाद र द्वन्द्ववादलाई उजागर गर्ने प्रयास गरेकै छैनौ भन्दा पनि हुन्छ । माक्र्सवादी हुनुको नाता हामीले भौतिकवादमात्रै बुझयौ, यसका स्रोतहरुमात्रै खोजौं, त्यही पढ्यौ, त्यही पढायौं र त्यसैलाई जीवन र जगत हो, त्यही राज्य हो भनेर बुझायौं ।

एउटा नेताको रुपमा केपी शर्मा ओली पृथक नेता हुनुहुन्छ । उहाँसँग जुन अध्ययन छ, त्यो माक्र्सवादी चिन्तन परम्परामा मात्रै सीमित छैन भन्ने मेरो बुझाइ छ, उहाँले कहिले, कहाँ र के पढनु भयो, अहिले हामीले उहाँलाई पढ्दा वा बुझदा उहाँभित्रको माक्र्सवादी अध्ययन परम्परा पनि पुर्वीय दार्शनिक चिन्तनको समेत प्रभाव छ। उहाँका अभिव्यक्तिहरुमा पुर्वीय दर्शनको व्याख्या हुनु, उहाँको जीवनमा देखिएको त्याग, वलिदान, मनोवल र आत्मविश्वास समेत पुर्वीय दर्शनबाट केही न केहीवाट निर्दैशित छन भन्ने मेरो बुझा छ । यो सम्वन्धि थप अध्ययन र अनुसन्धानको आवश्यकता छ र आजको वदलिदो सन्दर्भमा माक्र्सवाद र पुर्वीय दर्शन परम्पराको सम्बन्धमा समेत थप अध्ययन आवश्यक छ।

जीवनकोे जगमा उभिएका प्रकृतिवादी नेता

चेतनाले पदार्थको निर्माण गर्छ की पदार्थले चेतनाको ? निश्चित रुपमा पदार्थले नै चेतनाको निर्माण गर्दछ। तर यसरी निर्माण भएको चेतनालाई हामी कतिले आफनो जीवनशैली वनाएका छौ ? हाम्रा अभिव्यक्तिहरुमा हाम्रा व्यवहारहरुलाई हामीले कतिको रुपान्तरण गरेका छौ ? तर केपी शर्मा ओलीले जीवनको अध्ययन भनेको उहाँको व्यवहार हो । उहाँको अभिव्यक्ति भनेको उहाँको जीवन भोगाई र त्यसको जगमा उभिएको भविष्यप्रतिको दृष्टिकोण हो । आज उहाँका अभिव्यक्तिहरुलाई विश्लेषण गर्ने हो भने उहाँबाट धाराप्रवाहरुपमा अभिव्यक्त गरिएका विम्वहरुमा उहाँको जीवन वोल्छ । त्यो जीवन प्रकृतिसँगको सँगतमा र अन्तरघुलनमा आधारित हुन्छ र त्यसमा एउटा भविष्यप्रतिको स्वप्ना देखाएको हुन्छ। त्यसैले केपी शर्मा ओलीलाई एउटा प्रकृतिप्रेमी र त्यसको जगमा उभिएको नेताकोरुपमा समेत बुझन सकियो र यो विषयमा थप अध्ययन अनुसन्धान गर्न सकियो भने हामीले उहाँको योगदानलाई उहाँको जीवनकालमा नै न्याय दिन सक्छौं ।

सबैलाई समान माया गर्न सक्ने नेता
केपी शर्मा ओली आज सबैका मनका ढुकढुकी हुनुहन्छ । मेरो बुझाई गलत होइन भने यो उहाँको व्यवहारले आर्जन गर्न सकेको सम्पति हो भन्ने मैले ठानेकी छु । यदि व्यक्तिगत स्वार्थ र प्रलोभनविना कोही मान्छेले केपी शर्मा ओलीको सँगत गरेको छ र उहाँलाई सुनेको र बुझेको छ भने उहाँवाट प्राप्त हुने माया र सद्भाव समान छ । आज उहाँलाई सवैले सम्मानपूर्वक आफनो आस्था र भरोसाको केन्द्र बनाउनु र आदरपूर्वक “बा“ भनेर सम्बोधन गर्नुका पछाडी उहाँका व्यवहारमा देखिएको समानता हो । बच्चादेखि बृद्धसम्म, र समाजका हरेक तह तप्काका मानिसहरु सवैलाई समान व्यवहार गर्नसक्ने नेताकोरुमा, देश र जनताबाहेक अरु स्वार्थ नभएको नेताकोरुपमा र सवैलाई समान माया बाँड्न सक्ने नेताकोरुपमा समेत केपी शर्मा ओलीलाई बुझन सकिएमा उहाँप्रतिको बुझाईलाई न्याय हुन्छ भन्ने मेरो दृष्टिकोण रहेको छ।

व्यञ्जनाको धाराप्रवाह अभिव्यक्ति गर्न सक्ने नेता
केपी शर्मा ओलीलाई धारा प्रवाहरुपमा अभिव्यक्ति दिन सक्ने नेताको रुपमा सवैले बुझदछन् । तर उहाँका अभिव्यक्तिमा पाइने नयाँ स्वाद भनेको व्यञ्जना शक्तिको प्रयोग हो । तर उहाँका कतिपय समर्थक र आलोचकहरुले उहाँबाट प्रयोग भएका ती व्यञ्जनाहरुलाई उखानको संज्ञा दिन्छन । ती उखान वा टुक्का नभएर व्यञ्जना हुन भनेर बुझने प्रयत्न कम भएको छ । कुनैपनि शव्दले दिने अर्थका तीनवटा शक्ति हुन्छन, ती हुन् अभिधा, लक्षण र व्यञ्जना । अभिधा भनेको प्रयोग- वाक्यमा प्रयोग भएको शव्दको अर्थ र कृतिको अर्थ एउटै हुनुलाई वुभिन्छ भने लक्षणा भनेको-वाक्यमा प्रयोग भएको शव्दको अर्थ र कृतिगत अर्थ फरक भएको अवस्था हो । त्यस्तै वाक्यमा प्रयोग भएको शव्दको वा वाक्यको सामान्यरुपमा एउटै अर्थ भएपनि भिन्न व्यक्तिले आफनो सन्दर्भ र परिवेशअनुसार फरक अर्थ लगाउने अवस्था आएमा व्यञ्जनाको प्रयोग भएको मानिन्छ । प्रायः व्यञ्जनाहरूको प्रयोग अलङ्कार, उपमा र व्यङ्ग्यको रूपमा प्रयोग हुने गर्दछन् ।

केपी शर्मा ओलीका अभिव्यक्तिमा प्रयोग भएका व्यञ्जनाहरू मौलिक छन् र ती व्यङ्ग्यको हिसावले फरक सन्दर्भ र परिवेशअनुसार प्रयोग भएका छन् । व्यञ्जना एउटै भएपनि ती फरक परिवेश र सन्दर्भ अनुसार प्रयोग गरिए भने त्यसका अलग अलग अर्थहरू पनि हुन सक्दछन । उदारणको रुपमा केपी शर्मा ओलीको अभिव्यक्तिमा प्रयोग भएको एउटा व्यञ्जनालाई यहाँ उदारणको रुपमा लिन सकिन्छ । माकुराको जालोमा झिँगा पर्ने हो, भैँसी पर्दैन । यो व्यञ्जनाको प्रयोगको परिवेश भनेको उहाँले नेतृत्व गरेको पार्टी नेकपा एमालेलाई चारैतिरवाट घेरावन्दी गर्दा जसरी भैँसी माकुराको जालोमा अल्झिदैन, त्यसरी नै एमालेका विरुद्धमा गरिएका घेरावन्दीले एमाले घेरामा पर्दैन भनेको हो ।

त्यस्तै उहाँका अभिव्यक्तिमा प्रयोग भएको अर्को व्यञ्जनालाई हेर्ने हो भने हावा भरिएको बेलुनजस्तो आकार मात्र ठुलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगत नामको छेस्कोले के घोचेको थियो, फ्यास्स हावा खुस्कियो । यो व्यञ्जनाको पनि प्रयोगको खास परिवेश छ । तत्कालीन प्रधानमन्त्री प्रच्ण्डले तत्कालीन नेपाली सेनाका प्रधान सेनापति रुक्मागत कट्वाललाई पदवाट हटाउने निर्णय कार्यान्वयन हुन नसकेपछि स्वयम् प्रधानमन्त्रीका रूपमा रहेका पुष्पकमल दाहालले पदवाट राजीनामा दिनु परेको तथ्यलाई लक्षित गर्दै उक्त व्यञ्जनाको प्रयोग गरिएको छ । तर यसको अर्थ भनेको हैसियत र धरातलवेगर मानिसहरुले वडप्पन देखाएमा त्यो फुलेको वेलुनमात्र हुने र त्यसमा कुनै छेस्कोले खोज्यो भने त्यसको हैसियत देखिन सक्छ भन्ने आशयकासाथ पनि उक्त व्यञ्जनाको प्रयोग भएको छ ।

केपी शर्मा ओलीका अभिव्यक्तिहरू व्यञ्जनाहरूले भरिएका छन् । ती व्यञ्जनाहरूका आफनै मौलिकता सन्दर्भ र परिवेशहरू छन्। केपी शर्मा ओलीका अभिव्यक्तिलाई अन्य नेताहरूका अभिव्यक्तिसँग तुलना गर्ने हो भने त्यहाँ केही न केही मौलिकपन पाइन्छ । आम स्रोतार दर्शकहरुले उहाँका अभिव्यक्तिलाई रूचाउनका कारण पनि त्यसमा पाइने व्यञ्जनाको स्वाद हो भन्न सकिन्छ । उहाँका अभिव्यक्तिमा व्यञ्जनाको प्रयोगको आफ्नै तरिकाको छ । आफूले ग्रामीण परिवेशमा देखेका भोगेका र आम मानिसले समेत बुझ्न सक्ने हिसाबका अभिव्यक्तिहरूमा व्यञ्जनाको प्रयोग भएको पाइन्छ । त्यसैले केपी शर्मा ओलीलाई धारा प्रवाहरुपमा व्यञ्जना शक्ति सहितको अभिव्यक्ति गर्न सक्ने नेताकोरुपमा बुझन सकियो भने उहाँप्रति न्याय हुन सक्छ ।

केपी शर्मा ओली हामी सवैका अविभावक हुनुहुन्छ । हामी सवैका आस्था, भरोसा र प्रेरणाका स्रोत पनि हुनुहुन्छ । २००८ सालमा तेह्रथुमको ईवामा जन्मिनुभएका हाम्रा नेताको देश र जनताबाहेक अन्य कुनै स्वार्थ छैन । जीवनका कठिन मोडहरु पार गरेर देशलाई उल्लेख्य योगदान गरेका हाम्रा नेता केपी शर्मा ओलीबाट देश र जनताले थप योगदानको माग गरेको छ । “बा“ तपाईको आत्मवल तपाईको सम्पति हो, देश निर्माणमा तपाई थप योगदान गर्न सक्नुहोस् नेपाली जनताको आशा र भरोसालाई सम्वोधन गर्ने काममा तपाईलाई थप शक्ति प्राप्त होस्, स्वस्थ्य रहनुस, तपाईको ७२औँ जन्मदिनको अवशरमा मेरो तर्फवाट धेरै धेरै शुभकामना ।

(शिक्षण पेशामा आवद्ध खड्का पेशागत महासंघको स्थायी समिती सदस्य हुनुहुन्छ ।)