दोस्रो विश्वयुद्ध पछि सवैभन्दा शक्तिशाली बनेको सोभियत संघको विघटन हुँदै गर्दा यही एशियाकै एउटा कुना, नेपालबाट नयाँ सुर्योदय भइसकेको थियो। सन् १९९१ मा विशाल सोभियत संघ विघटनसँगै विश्वव्यापी रुपमा समाजवादी आन्दोलनमाथि प्रहार भइरहेको थियो । तर त्यसको झण्डै एक वर्ष अघि नै, २०४७ मा नेकपा एमाले स्थापना भएको थियो, जसले पार्टी निर्माणको ४ वर्ष पछि नै दक्षिण एशियामा पहिलो पटक जननिर्वाचित कम्युनिष्ट सरकार चलाउने पाइन राख्यो । अर्थात २०५१ सालको मध्यावधी निर्वाचनबाट पहिलो दल बनी पहिलो पटक जननिर्वाचित कम्युनिष्ट सरकार बनाएको एमालेले सोभियत संघको विघटनले निराश बनेको समाजवादी आन्दोलनलाई केही राहतको महसूस गरायो।
त्यही एमालेको अविछिन्न उत्तराधिकार सम्हाल्ने क्रममा झण्डै एक दशक देखि यसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको काँधमा आएको छ। आमनेपाली जनतालाई पहिलो पटक सरकारको अनूभूती दिलाएको त्यस सरकारलाई अभूतपूर्व सफल बनाउन मिहिन मेहनत गर्ने केपी ओलीले आफ्नै नेतृत्वको सरकार सञ्चालनका लागि त्यसपछि पनि अरु करीब दुईदशक धैर्य गर्नु पर्यो। गृहमन्त्री हुन साथ प्रधानमन्त्रीको ‘पाइप लाइन’ मा पुगेको ठान्नेहरुका लागि त्यो दुई दशक सम्म ओलीले गरेको धैर्यता, संघर्ष र पार्टी निर्माणमा खेलेको भुमिका राजनीतिमा चाख राख्ने र गर्न खोज्ने हरेक व्यक्तिका लागि पठनीय छ।
पार्टी: कसले बनायो, कसले बचायो ?
सोभियत संघको विघटन पछि संसार भरिबाटनै नेपाली कम्युनिष्टहरु खेदिएको भनेर साम्राज्यवादीहरुले ढोल पिटि रहेका थिए। तर जव त्यहि बेला नेपालको कलिलो प्रजातन्त्रको जगमा उभिएर आम निर्वाचनको माध्यमबाट यहि एशियाको एउटा कुनामा नेपाली कम्युनिष्ट पार्टीको मूल प्रवाह नेकपा एमालेले जननिर्वाचित सरकार सञ्चालनको नेतृत्व लिन सक्ने भई सकेको थियो । नेपालमा एमालेको घोषणाको केहि वर्षमै २०५१ सालमा दक्षिण एशियाको पहिलो कम्युनिष्ट जननिर्वाचित सरकार चलाउने ल्याकत स्थापित गर्नुको नाताले पनि एमालेको उचाई, विश्व कम्युनिष्ट राजनीतिका लागि एउटा आशाको दियालोको रुपमा उदाएको थियो।
तानाशाली, एकतन्त्रीय र जडशुत्रवादी भनेर कम्युनिष्टहरुलाई रुढीवादी दृष्टिकोणबाट हेरिई रहेको समयमा नेपालमा ‘जनताको बहुदलिय जनवाद’ को उदय हुनुलाई पनि विश्व समुदायले अर्को आश्चर्यको रुपमा हेरेको थियो । यहि ‘जवज’ को आलोकमा आलोकित नेकपा एमालेलेनै सोभियत संघ विघटन भएको एशियाबाट समाजवादी आन्दोलनको नयाँ संस्करण शुरु गरेको थियो, जुन कुरा नेपालमा पूँजीवादीहरुको मुठ्ठिमा रहेको जनाधारमा कम्युनिष्टहरुको दुई तिहाई हिस्सा कायम भई सक्नुले पनि स्थापित गरि सकेको छ।
वाकपटुता, नेपालीपना, जनतासँगको अन्तरघुलन–अन्तरसंवाद, प्रश्नहरूको सामना गर्न सक्ने, विचार र दृष्टिकोणमा रहेको चट्टानी अडान लगायतका कारणले स्वदेश होस् वा विदेश नेपालीभाषाीहरूमाझ सर्वाधिक लोकप्रिय नाम हो, केपी शर्मा ओली ।
एमालेको निर्माण पछि जो जो यसको नेतृत्वमा आए अहिले ति कोहि पनि यो पार्टीमा छैनन् । भौतिक रुपमा वितेर जाने त गई हाले तर जसलाई एमालेले बनायो (पार्टी प्रमुख/सरकार प्रमुख) उनीहरुनै पूँजीवादीहरुसँग सौदावाजी गरी यसलाई धुलीसाफ पार्ने लक्ष्यमा लागि सकेका छन् । लामो समय सम्म पनि पार्टी नेतृत्वको अवसर पाएकाहरु पार्टी भित्र गुट र स्वार्थ समूहको दाद-लुतो उमारेर किनाराकृत भए पछि एमालेलाई अझ बलियो, सुदृढ र जनजगको पार्टी बनाउने अभिभारा ओलीमा आएको छ। आफ्नै शिशूलाई दोवाटामा मिल्क्याएर भाग्नेहरुलाई जवाफ दिने गरि बलियो र पुष्ट बनाउने क्रम अहिले एमालेमा चलि रहेको छ, जसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातमा छ।
झापा विद्रोह गरि नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ संस्करण थालनी गर्दा होस् वा छिन्न भिन्न कम्युनिष्टहरुलाई एकतृत गरि एमाले बनाउँदा, पार्टी बनाउन र बचाउन ओलीको भुमिका बलशाली देखिदै आएको छ।
कम्युनिष्टहरु माथिको प्रहार
नेपालबाट विश्व समुदायलाई आशावादी बनाउने गरि कम्युनिष्टहरुले बहुदलिय व्यवस्थाको जगमा उभिएर सरकार सञ्चालन गर्न थालि सके पछि पूँजीवादीहरुको प्रहार बारम्बार भइरहयो । त्यसैको परिणिाम स्वरुप नेपालको पहिलो सर्वाधिक लोकप्रिय एमाले नेतृत्वको सरकारलाई ९ महिनामानै विघटन गराइयो । अर्का तर्फ कम्युनिष्टहरुको नाममा भड्काववादी ‘जनविद्रोह’ को नामले पँखेटा हाल्दै गरेको नेपाली कम्युनिष्ट आन्दोलनको थप तेजोवध गरी दियो । अनि दक्षिण एशियाकै उदियमान राजनीतिक शक्तिका रुपमा उदाएको नेकपा एमालेलाई विभाजन गराउने तत्व सक्रिय भए पछि नेपाली समाजवादी आन्दोलनले अर्को प्रहार खेप्नु पर्यो ।
२००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीका अनेक भङ्गाला र कुईनेटाहरु कहिले दरवारको सेप लागेर कठाङ्ग्रिए, केही उनीहरुकै टाट्नामा मिसिन पुगे, केही सिथिल भए र सेलाए । २०२० को दशकको मध्य सम्म आइपुग्दा पनि अनेक कुईनेटा, दोवाटा र चौवाटाहरुमा अल्मलिएको कम्युनिष्ट तथा समाजवादी आन्दोलनलाई पुनर्जिवन दिने शंखघोष भयो, झापाबाट। २०२६ देखि २९ सम्मको छोटो अवधीमै यो शंखघोषले झापा विद्रोहको नाम पाइसकेको थियो । यही झापा विद्रोहको आरनमा खारिएको अर्को योद्धा आइपुग्नु प¥यो, छिरोलिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई समेट्न, २०६२/६३ पछि । दुईतिहाई समाजवादी र कम्युनिष्ट जनमतलाई एउटै छातामा अटाउन गरिएको अभ्यासको रुपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको गठन भए पनि न यो टिक्न सक्यो, न टिकाउन सकियो । आत्मकेन्द्रित लालसाको राजनीति गर्नेहरुका कारण नेपाली जनताको मनमा हुर्किएको अर्को सुनौलो क्षितिजमा कहिल्यै नउघ्रिने गरि तुँवालो लाग्यो, नेकपाको विघटन पछि । त्यस पछि एक हद सम्म निराश बनेको नेपाली समाजवादी सपनालाई फेरि डो¥याउन एमाले र एमालेलाई डो¥याउन ओलीको आवश्यकता प¥यो।
समयले खोजेका ओली
२०६० को दशक शुरु भइसक्दा नेपाली कम्युनिष्ट आन्दोलन सुसुप्त बनि सकेको थियो । विद्रोहका नाममा जारी हिंशाले राजकिय सत्तामा समाजवादी प्रभुत्व कायम गर्न सकेको थिएन। जनआन्दोलन पछि स्थापित प्रतिनिधीसभामा विद्रोहबाट आएकाहरुले पाएको स्थान संविधानसभाको पहिलो निर्वाचन सम्म त टिक्यो । तर बहुदलिय व्यवस्थाको अभ्यासमा परालको डढेलो जस्तो धुँवाएको त्यो शक्ति दोश्रो संविधानसभाको निर्वाचन सम्म आई पुग्दा खरानीको डङ्गुरका रुपमा मात्र थुप्रिन पुग्यो। त्यस बेला देखिनै र हाल सम्म पनि उ अमिवा जस्तै टुक्रा टुक्रा बने पछि फेरि पनि नेपाली समाजवादी आन्दोलनलाई प्राण भर्न एमालेनै निर्णायक बनेर स्थापित हुनु परेको छ।
एकातर्फ हिंसात्मक आन्दोलन, त्यसैबीच राजाको प्रत्यक्ष शासन, त्यस पछिको गणतन्त्र घोषणा र संविधानसभाको निर्वाचन । यि परिदृश्यहरुका विचमा एमाले २०५१ को जस्तो एमाले थिएन । संघियता आउनु भन्दा झण्डै अढाई दशक अघि गाउँ-गाउँमा सरकारको बजेट, कार्यक्रम र पार्टी-साधन पु¥याएर संघीयताको अभ्यास शुरु गरेको एमाले क्रमिक रुपमा सुस्क बनि रहँदा तत्कालिन नेतृत्वले नीतिको नेतृत्व लिन सकेन । त्यसबेला सम्म पार्टी भित्रै विचार र नीतिको पेचिलो बहस गर्ने नेता केपी शर्मा ओली बारम्बार किनाराकृत हुन बाध्य पारिए । तर २०७१ असारको नवौ महाधिवेशन सम्म आइपुग्दा ढुङ्गाको काप फोरेर उम्रिएको पिपल जस्तो ‘जसको नीति, उसैको नेतृत्व’ को रुपमा ओली पार्टी अध्यक्षको रुपमा स्थापित हुनुभयो । यसरी हेर्दा राष्ट्रिय राजनीति मात्रै होईन, नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेलाई विचारयुक्त जनताको पार्टीको रुपमा बचाउँदै जनताकै विचमा थप मजवुद बनाउने समयमा पार्टीसँगै देशको नेतृत्व जिम्मा केपी शर्मा ओलीलाई आएको हो ।
योजना, विकास र चेतनाको पुनर्जन्म
पार्टीको मूल नेतृत्व पाउनु अघिनै नेपाली जनताले एमाले भित्रका प्रभावशाली नेताका रुपमा ओलीलाई अनुमोदन गरेका थिए । त्यसैले नवौ र दशौ महाधिवेशन हुँदै पार्टी र देशको नेतृत्व लिनु भएका ओलीलाई नेपाली जनताले लेखेको संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरे लगत्तै प्रमुख कार्यकारी भएर यो देशको नेतृत्व गर्ने अभिभारा आयो । समय यस्तो थियो कि, नेपालमा संविधान जारी भएकै कारण भारतले नाकावन्दी गरेको थियो । अत्यावश्यक वस्तु र सेवा ठप्प पारेको थियो । यस्तो बेलामा पनि नेपाली जनतालाई आत्मवल उँचो बनाउँदै बरु रिठा–गिट्ठा खाने विस्तारवादीका सामुन्ने घुँडा नटेक्ने दृढता ओलीकै नेतृत्वले जागृत गराएको थियो ।
जतिनै खुन–पसिना बगाए पनि सामाजिक सुरक्षाको कुनै ग्यारेन्टी नभएको बेला बलियो सामाजिक सुरक्षा व्यवस्था, परम्परावादी विकासको घनचक्करमा फसेकाहरुलाई सुन्दै कान विझाउने पूर्व–पश्चिम रेल मार्ग र हिन्द महासागरमा नेपाली जहाज चलाउने कुरा, चीन र भारत जोड्ने रेलमार्ग, खनिज र जडिबुटीको उत्खनन् र प्रशोधन गर्ने कुरा नीतिगत र कानूनी रुपमै कार्यान्वयन हुन थाले पछि वर्षौ सुसुप्त बनेका नेपालीका सपनाहरु नयाँ जीवन पाए ।
झण्डै डेढ दशकको कठोर यातना सहितको कारावास पछि रोगले खँगारेको शरीर लिएर फोक्सो भरी स्वतन्त्र श्वास लिने र आङभरि पारिलो घाम ताप्ने मौका पाएका ओलीको राजनीतिक उचाइ समकालिन राजनीतिमा सवै भन्दा अग्लो त छँदैछ, उत्ति नै ऊर्जाको स्रोेतको रूपमा पनि पहिचान स्थापित भएको छ।
नेपाली समाजलाई योजना, चेतना र विकासको नयाँ युगमा प्रवेश गराउन २०७२ असोज २४ देखि २०७३ साउन ९ सम्मको छोटो अवधीलेनै मार्गनिर्देश गरि सकेको थियो । आफ्नै साझेदारहरुबाट धोका भए पछि ओली नेतृत्वको सरकार परिवर्तन भयो । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकार पछि जनमूखी कुनै पनि सरकार नआएको अवस्थामा थियो । तर विकास र समृद्धीका लागि वर्षौ तिर्खाएका प्यासी नागरिकहरुलाई त्यहि पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारमा गृहमन्त्री रहेका ओली नेतृत्वकै सरकारले जनमूखी र लोककल्याणकारी सरकारको धित मेटाएको थियो।
अभूतपूर्व जनअपेक्षा
समयले केपी शर्मा ओलीलाई समकालिन नेपाली राजनीतिमा सवै भन्दा लोकप्रिय नेताको रुपमा उभ्याएको छ । वाकपटुता, नेपालीपना, जनतासँगको अन्तरघुलन–अन्तरसंवाद, प्रश्नहरुको सामना गर्न सक्ने, विचार र दृष्टिकोणमा रहेको चट्टानी अडान लगायतका कारणले स्वदेश होस् वा विदेश नेपालीभाषाीहरुमाझ सर्वाधिक लोकप्रिय नाम हो, केपी शर्मा ओली । तर कतिपयलाई यो स्विकार्न कठिन होला, मनले माने पनि बेकारको प्रतिवादमा उत्रिहालुँ जस्तो पनि लाग्दो होला । तर पहिलो पटक प्रधानमन्त्री हुँदा मात्र होईन २०७४ फागुन ३ मा दोश्रो पटक प्रधानमन्त्री भए पछि राष्ट्रको नेतृत्व गर्दा होस् वा दशौ राष्ट्रिय महाधिवेश पछि पार्टी भित्रको सर्वस्विकार्यता, त्यस पछिका हरेक कदमले पनि ओलीसँग नागरिकका अभूतपूर्व अपेक्षाहरु समयलेनै पुष्टि गर्दै आएको छ।
पहिलो प्रधानमन्त्रीत्वकालमा नाकाबन्दी विरुद्ध लिएको अडान, देशको दूरगामी विकासका लागि लिएका नीति, मुर्छित सपनाहरु व्युझाउन लिएका ऐतिहासिक निर्णयहरु अनि दोश्रो कार्यकालमा नेपालले गुमाएको भुगोल समेत समेटेर नेपालको सग्लो नक्सा जारी गर्नु जस्ता साहिसिक कदम पछि ओली पछिको जनअपेक्षाको चुचुरो झनै अग्लिएको छ।
उर्जाका स्रोत
पार्टी आफैंले निर्धारण गरेको सक्रिय राजनीति र कार्यकारी जिम्मेवारीको हदबन्दी नजिक पुग्न लागेको उमेरमा पनि ओलीको आश्चर्यजनक क्रियाशिलताले धेरैलाई उर्जा मिल्ने गरेको छ । तत्कालीन विकट पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्म, विकासका पूर्वाधार र सुविधाहरुको अभावपूर्ण परिभेष, सानैको मातृवियोग, पारिवारीक आर्थिकदुष्चक्र, बाढीले उठिबास यस्ता अनेकौं प्रतिकुलताका विच पनि किशोरावस्था देखिनै समाजवादी निर्माणको आन्दोलनमा पूर्णकालिन भएर लाग्नु सिमित व्यक्तिहरुको हिम्मतले मात्र दिन्छ, जुन कुरा ओलीमा प्राप्त भयो । झण्डै डेढ दशकको कठोर यातना सहितको कारावास पछि रोगले खँगारेको शरीर लिएर फोक्सो भरि स्वतन्त्र श्वास लिने र आङ् भरि पारिलो घाम ताप्ने मौका पाएका ओलीको राजनीतिक उचाई समकालिन राजनीतिमा सवै भन्दा अग्लो त छँदैछ, उत्तिनै उर्जाको श्रोतको रुपमा पनि पहिचान स्थापित भएको छ। सूर्य आफैंमा सवैभन्दा विशाल उर्जा हो, तर उ आफू मात्र उर्जित छैन, उसको विशाल उर्जाको उपयोग ब्रम्हाण्डले गर्न पाएको छ । त्यसैगरि ओलीको उर्जित व्यक्तित्व यो देशको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि सवैभन्दा आशा गरिएको व्यक्तित्व पनि हो।
दुई पटक सम्म मृगौला फेरिएको शरीर, ज्येष्ठ हुँदै गएको शरीर तर दैनिक १८ घण्टा सम्मको सक्रिय दैनिकी, आदिम दर्शनदेखि नविन आविश्कार सम्मको समानात्तर अद्यावधिकता हरेक युवाहरुका लागि पनि प्रेरक छ। आफ्नो रुची, विचार र दृष्टिकोण बदल्न नसक्ने ओलीको स्वभाव धेरैका लागि आलोचनाको विषय पनि बन्ने गरेको छ। तर यहि स्वभावले ओलीलाई ‘ओली’ बनाएको हो । धेरै पटक आफुले ‘हाईरिस्क’ लिएर देश र पार्टीलाई ‘सेफ जोन’ मा राख्न सफल ओलीको व्यक्तित्व आलोचना रहित त छैनन्नै । तर नेपाली जनतालाई विकासका दृष्टिकोणबाट जनस्तर सम्म सरकारको महसूस गराउन मनमोहन अधिकारी पछि यिनै ओली सम्म प्रतिक्षा गर्नु पर्यो। अनि, देश भित्र वैचारिक र सैद्धान्तिक रुपमा सवैभन्दा बलियो पार्टीको रुपमा एमालेलाई उभ्याउन पनि मदन भण्डारी पछि ओलीलाईनै कुर्नु पर्यो । झण्डै तीन दशक पछि राजनीतिक सिद्धान्त र विकासको व्यभारलाई नयाँ उचाई दिलाउन सफल एमाले अध्यक्ष ओलीलाई जन्मदिनको यो घडीमा सुस्वास्थ्य र दिर्घायूको हार्दिक शुभकामना ।
(झापाली प्रेस चौतारी नेपाल प्रदेश १ का महासचिव हुनुहुन्छ।)






प्रतिक्रिया