अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस कारण केपी शर्मा ओली ‘बा’ हो

यस कारण केपी शर्मा ओली ‘बा’ हो


‘बा’ भनेको बुबा हो । बुबा भन्न वित्तिकै अभिभावक भन्ने बुझिन्छ । शायद यो कुरा सबैलाई थाहा हुनुपर्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही भूमिकामा हुनुहुन्छ । एमाले अध्यक्ष ओलीलाई बा भनेकोमा केही मानिसहरुको चित्त दुखाई पनि रहेको छ । नेकपा एमालेका अध्यक्ष ओलीलाई जनताले बा भनेर भन्नका लागि होइन, बा भन्ने भनाई अनुभूति हो । त्यो विश्वास हो। त्यो आस्था हो । त्यो छहारी हो । एमाले भित्रैका केही टाठा बाठाहरुले बा भन्ने चलन मैले शुरु गरेको हो पनि भन्न भ्याएका छन् । यस्ता उनीहरुले बेलाबेलामा चलाउने हल्लाको पछि लागेर ओली बा अथवा बुबा बन्नु भएको होइन । ओलीले आफूलाई बा भन्नेहरुको सबै कुरा सुन्नुहुन्न र सुने पनि आफ्नो विवेकले ठहर गरेपछि मात्रै बुझ्नुहुन्छ ।

म २०२२ सालमा जन्मिएको मानिस बा का सहकर्मीहरुसँगको अन्तरकुन्तर त्यति जान्दिन । तर, २०४३ सालदेखि अर्थात पत्रकारितामा प्रवेश गरेदेखि केही सुने । २०४४/०४५ सालदेखि बुझ्न र २०४६ सालदेखि महसूस र विश्लेषण गर्न थाले । केपी शर्मा ओलीले बा को भूमिका अहिलेदेखि निर्वाह गर्नु भएको होइन । उतिखेरदेखि नै उहाँ बा को भूमिकामा हुनुहुन्थ्यो । नेकपा माले र नेकपा माक्र्सवादी मिलेर बनेको नेकपा एमालेले २०४८ सालको निर्वाचनमा ‘मेची अञ्चलका चार जिल्ला, चारै जिल्ला लाल किल्ला’ बन्यो । त्यो भूमिका नेकपा एमालेको नेता र कार्यकर्ताहरुले निर्वाह गरेका थिए । त्यो बेला पनि उहाँ आफू उमेद्वार भएको क्षेत्र छोडेर आफ्नो पार्टीको अन्य क्षेत्रका उमेद्वारको पक्षमा भोट माग्न जाने गर्नुहुन्थ्यो ।

सहकर्मी चेतन अधिकारीले एउटा नयाँ प्रयोग अघि सार्नुभयो । त्यो भनेको हामी कसैले गरेको कामको आलोचना तुरुन्तै सार्वजनिक रुपमा गर्छौं । तर, उसले गरेको राम्रो कामको जस भने उसँग भेट भएको बेला सकेसम्म भन्ने र सुन्ने बीच मात्रै हुने गरी गर्छौ । अब सबैले सुन्ने र बुझ्ने गरी गरौं भनी चेतनले ल्याउनु भएको प्रस्ताव मलाई पनि चित्त बुझ्यो । त्यसै अनुसार आज म यो कर्ममा लागेको छु । बिरोधीहरु कहिलेकाँही उक्साउँछन् ‘हामी प्रजातन्त्रवादीहरु नेताको विरोध गर्न पछि पर्दैनौं, आलोचना पनि गर्छौ । तर, तिमीहरु नेताको विरोध त कुरै छाडौं चुँ सम्म बोल्दैनौं । ती साथीहरुलाई मेरो सटिक जवाफ छ । तिमीहरु देखाउन गर्छौ । हामी देखाउन होइन यथार्थमा गर्छौ । कुरा प्रष्ट छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उमेद्वारी दिदै गर्दा केही सञ्चारमाध्यमले लेख्दै थिए, गगन र शेर बहादुरले संसदीय दलको नेतामा हाँसी हाँसी उमेद्वारी दिंदै गर्दा तपाई एमालेका नेता तथा कार्यकर्ताहरुलाई केपी शर्मा ओली विरुद्ध संसदीय दलको नेतामा उमेद्वारी दिन मन लागेन ? कांग्रेसतिर प्रजातान्त्रिक, अभ्यास एमालेतिर खोई भनेर भनिरहेका थिए । तर, यस्ता अभ्यास एमालेले धेरै पटक गरिरहेको छ । यस निर्वाचन अघि एमालेले ‘मंसिर चार, एमाले सरकार’ ‘भावी प्रधानमन्त्री केपी शर्मा ओली’ निर्णय नै गरेको र त्यही निर्णय कार्यान्वयन गर्न निर्वाचनमा गएको कारण पार्टी अध्यक्ष ओली संसदीय दलको नेता हुनु भएको हो । एमालेले आफ्नो पार्टीको निर्णय कार्यान्वयन गर्दछ । यो अभ्यास एमालेले यसअघि नै गरिसकेको हुँदा एमालेले सामान्य ठान्यो तर, कांग्रेस एमालेले गरी सकेको अभ्यास भर्खर गर्दैछ अनि अरु पार्टीतिर भन्छ हामीले गरेजस्तो खोई ?
नेकपा एमाले दोहोरो नीति कहिल्यै लिदैन एउटा निर्णय कार्यान्वयन गर्छ । त्यसपछि अर्को निर्णय गरी त्यसको कार्यान्वयनमा लाग्ने गर्दछ । नेपाली कांग्रेसले आगामी निर्वाचनपछि पहिलो पटक माओवादी नेता प्रचण्डलाई प्रधानमन्त्री दिने भनेर चुनावमा गएको थियो । निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री दिने बेलामा ठूलो दल भएको नाताले राष्ट्रपति र प्रधानमन्त्री छोड्न नमिल्ने भन्दै दुबै पद कांग्रेसले नै राख्ने बटमलाईन भनेर जवाफ दियो । त्यसपछि भौतारिएको माओवादी अध्यक्ष प्रचण्डलाई पनि एमाले अध्यक्ष ओलीले नेतृत्व प्रदान गर्नुभयो । प्रचण्ड प्रधानमन्त्री भएपछि अहिले केही बलियो देखिनु भएको छ । तर, ठीक ढङ्गले अघि बढ्न सक्नु भएन भने फेरि प्रचण्ड यो शक्तिमा कहिल्यै देखिनु हुन्न । अहिले प्रचण्डले राष्ट्रपतिमा अल्झिने बेलै होइन । अहिले उहाँले नयाँ योजना ल्याउने र अघिदेखि सञ्चालन भएका योजना सम्पन्न गरेर जनतालाई जीवन जिउने आधार दिने हो । सकिसकेको राष्ट्रपतिको सहमती फेरि उल्टाउन खोज्नु सरकार सञ्चालनको सजिलो बहुमतलाई गिजोलेर फेरि पनि प्रतिकूल वातावरण बनाउने कार्यमा माओवादी लाग्नु हुँदैन । यहाँ के कुरा विश्लेषण गर्न जरुरी छ भने माओवादी अध्यक्ष प्रचण्ड अनुकूलतामा प्रतिकूल खोज्नु हुन्छ भने केपी शर्मा ओली प्रतिकूलतामा अनुकूलता खोज्नु हुन्छ । विगतका घटनाक्रमले त्यही भन्छ । त्यसकारण उहाँ अभिभावक हो ।
जतिखेर नाकाबन्दी लागेको थियो, देश अघि बढ्ने कतै कुनै आधार थिएन, जनता निरास थिए, देशमा १८ घण्टासम्म लोडसेडिङ भएको कारण उद्योगधन्दाहरु बन्द हुँदै गएका थिए । मधेश आन्दोलनको नाममा तराईमा सडक जाम, टायर बाल्ने, बसमा ढुङ्गा हान्ने, एक ठाउँबाट अर्को ठाउँमा जान समस्या थियो । खाना पकाउने ग्यास थिएन, भोकभोकै बस्नु परेको अवस्था थियो । चाउचाउ र चिउरा खाएर बस्नु परेको अवस्था थियो । राजधानी काठमाण्र्डौबासीलाई पहिलो पटक दाउरा वितरण गरेर जनतालाई सम्वोधन गर्नुहुँदै अध्यक्ष ओलीले जनतामा आशाको किरण जगाउनु भयो । एउटा प्रतिकूल परिस्थितिबाट देशलाई अनुकूल परिस्थितिमा एमाले नेता ओलीले नै पु¥याउनु भयो । त्यसकारण उहाँ अभिभावक, त्यसकारण उहाँ बा हो । देश संकटतर्फ मोडिन लागेको बेला ठीक ठाउँमा ल्याउने काम गर्नु भएको अध्यक्ष ओलीसँग यस्ता धेरै उदारहणहरु छन् । मई दिवस मनाउने बहानामा राजधानीमा हजारौं मानिस उतारेर माओवादी केन्द्रले राजधानी घेराउ गरेको अवस्था होस वा माधवकुमार नेपाललाई प्रधानमन्त्रीबाट राजीनामा गराउन माओवादीले संविधानसभा नै अवरुद्ध गरेको बेला होस् वा आफू संसद नै नभएको समयमा पनि संसदभित्र पसेर समस्या समाधान गरेको, अनि माओवादीले विभिन्न जाति, धर्म, संस्कृतिलाई गिजोल्दै संविधान बन्न नदिएको बेला विदेशीहरुले पनि नेपालमा बन्न लागेको संविधान आफ्नो अनुकूल बनाउने प्रयत्न गरेको बेलामा होस् वा केही भारतीय प्रतिनिधिहरुले जारी हुन लागेको संविधान रोक्न खोज्दा एमाले अध्यक्ष ओलीले प्रतिकूलतामा अनुकूलता खोजी गरी निकास दिनु भएको थियो । त्यसकारण उहाँ बा हो ।
निरंकुश पञ्चायती काल विरुद्धको संयुक्त जन आन्दोलन २०४६ को बेलामा नेकपा मालेको बलमा परिवर्तन आएको थियो । तर, परिवर्तन पछि नेपाली कांग्रेसले परिवर्तनको प्रतिफल जनतालाई दिन सकेन । जनतामा फेरि पनि निराशा पैदा हुँदै गएको थियो । २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकार बन्यो । त्यो सरकारले जनतालाई केही राहत दिदै, देशले उत्पादन बढाउँदै स्वावलम्बी बन्नुपर्छ भन्ने दृष्टिकोणबाट केही सुधारात्मक कार्यहरु शुरु ग¥यो । तर, त्यो नेपाली कांग्रेससँगै छिमेकी राष्ट्र भारतलाई पनि नेपाल अघि बढेको चित्त बुझेको थिएन र त्यो सरकार देशी विदेशीको कुचक्रबाट ढल्यो । तर, नेपाल कम्यूनिष्ट पार्टीले बनाएको पहिलो सरकारले ल्याएको कार्यक्रमले जनतामा भने उत्साह पैदा गरेको थियो ।
एमालेको सरकार ढलेसँगैदेखि शुरु भएको माओवादी सशस्त्र गतिविधिले सीमा काट्दै थियो । गाउँ गाउँमा लुटपाट, हत्या हिंसा, अपहरण, कब्जाका घटनाले जनता त्रसिद थिए । हो, त्यो बेलामा एमाले नेता ओलीले कुना कन्दारामा बसेका जनताको पक्षमा माओवादीको हिंसात्मक गतिविधिको विरुद्धमा कडा ढंगले प्रतिकार गर्नु भएको थियो । त्यो बेला माओवादीको हिंसात्मक गतिविधिको विरुद्धमा कसैले बोल्ने आँट गरेका थिएनन । त्योबेला पनि नेता ओलीले नै अभिभावकत्व प्रदान गर्नु भएको थियो । जहिल्यै सरकारमा जाने प्रधानमन्त्री र मन्त्रीहरुको जागिर मात्रै खाने शैलीबाट ग्रसित नेपाली कांग्रेसका नेताहरु पनि अनुकूलतालाई प्रतिकूल बनाउने काममा लाग्ने गरेको धेरै उदारहण पाइन्छ । पञ्चायती कालको कठिन परिस्थितिबाट २०४६ सालको बाममोर्चासहितको अन्दोलनले ल्याएको उपलब्धीलाई जोगाउन नसकेर शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला जनताले आन्दोलन गरेर ल्याएको अधिकार राजा ज्ञानेन्द्रलाई बुझाउनु भयो । हो, त्यसलाई प्रतिगमन भनिन्छ । तर, जनताले लडेर ल्याएको शासन व्यवस्थामा जनताले मत दिएर निर्वाचित गरेको जनप्रतिनिधिले ठीक ढंगले काम गरेनन् । अर्को प्रतिनिधि पठाई दिनु प¥यो भनेर जनतामै जाँदा प्रतिगमन कसरी हुन्छ ? जनताले चुनेर पठाएको प्रतिनिधिले जनतालाई नसोधी संविधान विरोधी काम अर्कैबाट गराउँदा प्रतिगमन हुन्छ भनेर जनताले राम्ररी बुझेका छन् । प्रतिगमनकारी देउवा र उहाँका मतियारहरुले अध्यक्ष ओलीलाई प्रतिगमनकारी भन्न सुहाउँदैन । ओलीले जनताको मनोभावना अनुसार काम गर्नु भएको र अभिभावकत्व प्रदान गर्नुभएकोले अहिले देशी विदेशी शक्तिकेन्द्रहरु ओली विरुद्धमा लागेका छन् । एमाले विरुद्ध लागेका छन् ।
बा केपी शर्मा ओली बोलीले मात्रै बा हुनुभएको होइन । कामले बा हुनु भएको हो । उहाँ पार्टीको केन्द्रीय सदस्य हुँदादेखि नै आफ्नो निर्वाचन क्षेत्र छोडेर पनि एमालेका अन्य क्षेत्रका उमेद्वारलाई जिताउन आमसभाहरुमा जाने गर्नु हुन्थ्यो । तर, एमालेको महासचिव भएर १५ वर्षसम्म नेतृत्व गर्दा पनि माधव कुमार नेपाल कहिल्यै कुनै क्षेत्रमा पुगेर आफ्ना सहकर्मीको चुनावी प्रचारमा लाग्नु भएन ।
एमाले नेता ओलीले गरेको त्यो कर्म अभिभावकले गर्ने काम हो । एमालेका धेरै नेता कार्यकर्तालाई मात्रै होइन साधारण सदस्यलाई पनि नेता ओलीप्रति विश्वास छ । नेकपा एमालेका अध्यक्ष ओलीलाई धेरैले गुटबन्दी गरेको भन्ने गरेका छन् । गुट्बन्दी गर्दा आफू विरोधी सबै निमिट्यान्न हुनु पर्ने हो । झापा कै सन्दर्भको कुरा गर्दा झापाका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको इच्छा विपरित सांसदको त के कुरा वडाको पार्टी प्रतिनिधि पनि चयन हुँदैनन् । चौधांै राष्ट्रिय महाधिवेशनमा झापाबाट गएका प्रतिनिधिहरु प्रायः सबै सिटौला पक्षधर थिए । कारण सिटौला निर्देशित प्रतिनिधि चयन । तर, नेकपा एमाले अध्यक्ष ओली आफैले वितरण गर्नेगरी ल्याउनु भएका प्रदेश र संघीय सांसदका टिकट आफ्नालाई वितरण गर्नु भएन जित्नेलाई दिनुभयो । ओलीको हस्ताक्षरबाट टिकट पाएकाहरुले पनि नेकपाको सरकार बनेको बेला ओली विरुद्ध मतदान गरेर ओलीलाई कमजोर बनाएको कुराले ओली गुटबन्दी गर्ने नेता नभएको प्रमाणित गर्दछ । ओली सबैको नेता हुनुहुन्छ, त्यसैले हरेक कार्यकर्तालाई के लाग्छ भने मैले नै एक पटक नेता ओलीलाई भेटेर कुरा गर्न पाए मेरो काम ‘कमफर्म’ ( पक्का ) हुन्छ भन्ने ओली निकटलाई मात्रै होइन ओलीलाई भेटेर कहिल्यै कुरा नगरेकालाई पनि हुन्छ । उदयपुरका कुशलबाबु बस्नेत म सँग भन्दै हुनुहुन्थ्यो बा लाई भेट्नै गाह्रो एक पटक भेटेभने मेरो काम पक्का हुन्छ । त्यस्तै विश्वास छ गौरीगञ्जका सर्वतलाल राजवंशी, अनि भद्रपुरका ब्रम्हलाल ढुङ्गाना उहाँहरु पार्टीको कुनै काम वा आफ्नै काम पनि एक पटक बा लाई भेट्न पाए हुने थियो भन्ने सिवश्वासमा हुनुहुन्छ । ओलीलाई आफैले भन्दा आफ्नो काम पक्का हुन्छ भन्ने विश्वास ओलीले कार्यकर्ता र जनतामा दिलाउनु भएको छ । त्यसैले उहाँ अक्सर कार्यकर्तालाई समय दिने प्रयत्नमा हुनुहुन्छ । उहाँ जहिले पनि कार्यकर्तामाझ भन्ने गर्नुहुन्छ जनताको विश्वास पात्र बन्नुहोस् । इमान्दार हुनुहोस्, जनताको कामलाई ध्यान दिनुहोस् । जनतासँगको प्रस्तुति इमान्दार बनाउनुहोस् । नेता ओलीको अर्को विशेषता छ कुनै व्यक्तिले गरेको अपेक्षा बस्तुगत वा समयसान्दर्भि छ कि छैन प्रष्टै भन्नुहुन्छ । अहिले बल नगर्नु काममा लाग्नुहोस् । बढी रोढ्याई नै गरे लौ गर भनेर जिम्मा पनि दिनुहुन्छ । तर, नतीजा ओलीले दिनुभएको विश्लेषण अनुसार हुनेछ । त्यसकारण, बा ले भनेको मानिन् बेला बेठीक रहेनछ भनेर चित्त बुझाउने गरेका छन् कार्यकर्ताहरुले ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओलीलाई पार्टीका कार्यकर्ता र जनताले निक्कै विश्वास गरेका छन् । नेतृत्वप्रतिको कार्यकर्ता र जनताको विश्वास महत्वपूर्ण कुरा हो । अहिले जसरी देशी विदेशी शक्ति केन्द्रहरु लागेर एमालेलाई किनारा लगाउने काम गरेका छन् त्यो नेता ओलीसँग डराएर गरेका हुन् । एमाले अध्यक्ष ओली अहिले पार्टीको एजेण्डाको हिसावले, राजनीतिक हिसावले बलियो हुनुहुन्छ । मलाई सम्झना छ जतिखेर नेकपा एमाले चोइटिएर माले–एमाले भएको थियो । नेता ओलीलाई राष्ट्रघात गरेको टनकपुर बेचेको जस्ता थुप्रै आरोपहरु लागेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा आरोपी केपी शर्मा ओली किन ? कसरी भयो ? किनभने त्योबेलासम्म आइपुग्दा ओली राजनीतिमा शक्ति आर्जन गरी सक्नु भएकोले ओलीको विरोध भएको हो । मालेसँग थुप्रै आक्रमक एजेण्डा भएर पनि चुनाव हा¥यो । प्रतिरक्षात्मक अवस्थामा पनि केपी ओलीले एमालेलाई विजय गराउनु भयो । त्यसको कारण अरु थिएन ओली नेतृत्वप्रतिको विश्वास । त्यसकारण नेता केपी शर्मा ओली कार्य क्षमताको हिसावले, दृष्टिकोणको हिसाबले, पार्टीको दस्तावेज जनताको बहुदलीय जनवाद भएको हिसाबले, जनताको मात्रै होइन कार्यकर्ता र मिडियाको भावना बुझेर भाषण गर्न सक्ने क्षमता भएको प्रभावशाली नेता भएको हिसाबले पनि अहिले सबैजसो शक्तिकेन्द्र ओलीको विरुद्धमा लागेको हो । ओली इमान्दार, बौद्धिक, दृढ अडान, प्रष्ट वक्ता, निडर, साहसिक नेता भएकोले पनि ओलीप्रति जनता र कार्यकताको विश्वास बढेको हो । त्यसकारण, केपी शर्मा ओली नेपाली जनताको अभिभावक हुनुहुन्छ । त्यसकारण उहाँ बा हो ।
( झापा भद्रपुरका विद्रोही नेकपा एमाले प्रदेश नं १ का सदस्य हुनुहुन्छ)