ग्रीसेली विद्वान प्लेटोद्वारा ईसापूर्व चौथो शताव्दीमा राज्यसञ्चालन कला (स्टेटक्राफ्ट) उपर लेखिएको ‘दे रिपब्लिका’लाई मानव सभ्यतामा राजनीतिशास्त्रको पहिलो पुस्तक मानिन्छ। प्लेटोले परिकल्पना गरेको आदर्श राज्यमा शासक दार्शनिक हुनुपर्ने प्रस्ताव गरिएको छ। शासन सांसारिकताको विषय भएपनि शासकमा ज्ञान र वैराग्य हुन आवश्यक छ। गहन अध्ययनबाट दीक्षित दार्शनिक शासक भए मात्र त्यस्तो अवस्था सम्भव हुने तर्कलाई सुकरातले उनका शिष्यहरूसँग गरेको संवादका माध्यमबाट प्लेटोले पुस्तकमा चित्रण गरेका छन् । शासक ‘ज्ञानप्रेमी’ (लभर अफ विज्डम) हुनुपर्दछ र त्यसो हुनका निम्ति उसले निरन्तर अध्ययन गर्नुपर्छ भन्ने उनको प्रस्तावना छ।
व्यावहारिक राज्य निर्माणमा बुद्धि र परिश्रम दुबै खर्चेका, अनि प्लेटो भन्दा करीब एक शताव्दीपछिका संस्कृत राजनीतिशास्त्री कौटिल्य औपचारिक शिक्षा पूरा भएपछि पनि अध्ययनलाई निरन्तरता दिने शासकमात्र सफल हुने तर्क गर्छन् । कौटलीय अर्थशास्त्रमा शासकको दिनचर्यालाई विभिन्न भागमा बाँडेर दिनको सुरुवातमा हात्ती, घोडा, रथ र शास्त्रास्त्रको अध्ययन गर्नुपर्ने र क्रमशः पुराण, कथाहरू, अन्य शासकका जीवन चरित्र तथा धर्मशास्त्रको अध्ययनलाई निरन्तरता दिनुपर्ने नियम तय गरिएको छ। हरेक दिन निरन्तर अध्ययन गर्ने शासकलाई मात्र शासनको अधिकार योग्यता प्राप्त हुने उनको विचार छ।
आजको युगमा शासक भन्नाले जनताको मतद्वारा निर्वाचित भई मुलुकको नेतृत्व गर्ने वैधानिक अधिकारप्राप्त नेतालाई बुझ्नुपर्दछ। प्लेटोको आदर्श राज्य र दार्शनिक शासकको अवधारणा काल्पनिकीमा सिमित भयो । चाणक्यले आफ्नै ज्ञानको परीक्षण गर्न चन्द्रगुप्त मौर्यलाई तालिम दिएर नन्द वंशको सत्तापलट गरिदिए । सम्पूर्ण रूपले आदर्श शासक बन्न नसके पनि चन्द्रगुप्तमा शक्तिशाली र अध्ययनशील शासकमा हुनुपर्ने आधारभूत गुणको विकास हुनुमा चाणक्यको योगदान थियो । राजनीतिको प्रारम्भदेखि आजसम्म विद्वान, दार्शनिक र चिन्तकहरूले कल्पना गरेको नेतृत्व अध्ययनशील हुनुपर्ने मान्यतामा मतैक्य देखिन्छ।
समाजलाई नेतृत्व दिने र मार्गदर्शन गर्ने हुनाले नेतृत्वसँग विवेकपूर्ण चिन्तनको क्षमता हुनु प्राथमिक शर्त भएको छ। नेतृत्वको योग्यता दावी गर्न तथा आधुनिक राज्य सञ्चालनका जटिलताले माग गर्ने प्रतिस्पर्धामा आफूलाई श्रेष्ठ सावित गर्न नियमित अध्ययन, पठन र विमर्श अपरिहार्य हुन गएको छ । त्यसो त अध्ययनको अप्रासंगिक प्रदर्शन भयो भने आडम्बर हुन्छ, व्यक्तिको जीवनलाई उज्यालो बनाएर उसलाई स्वतः प्रदर्शित हुन दिनुपर्छ । त्यसैले दार्शनिक बर्ट«न्ड रसेल भन्छन्- तपाईं दुई कारणले किताब पढ्नुहुन्छ। पहिलो, तपाईंलाई पढ्नुमा आनन्द आउँछ; दोस्रो, तपाईं पढेकोमा घमण्ड गर्न चाहनुहुन्छ ।’ वास्तवमा पठनलाई स्वाभाविक रूपले व्यक्तित्वमा प्रकट हुन दिए पढेको विषयमा घमण्ड गरिरहनुपर्दैन वा मैले फलानो किताव पढेको छु भनिरहनु पर्दैन।
वास्तवमा पठनलाई स्वाभाविक रूपले व्यक्तित्वमा प्रकट हुन दिए पढेको विषयमा घमण्ड गरिरहनु पर्दैन वा मैले फलानो किताव पढेको छु भनिरहनु पर्दैन।
पढ्नु सजिलो छ। आफूलाई मन लागेको कुनै पुस्तक पल्टाएर त्यसका अक्षरसँग तैरिंदै जाँदा समयको प्रवाह स्वाभाविक लाग्छ। अक्षरसँगको सहयात्रापछि त्यसले मष्तिस्कलाई लामो समयसम्म झन्कृत गर्छ । अनि पढ्नुको सजिलोपन स्थायी हुँदै जान्छ । नयाँ भोक जाग्छ ।
पढ्नु अप्ठ्यारो पनि छ । विषयहरू बग्रेल्ती छन्, समय थोरै छ र पढ्नका लागि किताब मात्र छैनन् । कल्पित वृतान्त (फिक्सन), अनुसन्धान, दैनिक छापिने अनेकौं समाचार, विश्लेषण, समसामयिक ‘ओपिनियन’ लेखका बाढीदेखि विश्व बैंकका प्रतिवेदन सम्मका सामग्रीहरूको प्रतिस्पर्धा पाठकसँग भैरहेको छ । पठनको भोकले उत्सुक बनिरहेको पाठक यस्तो प्रतिस्पर्धाका बीचमा आफूलाई निरीह पाउँछ ।
सधैंजस्तो गम्भीर सोचमा मग्न रहने विद्वान इतिहासकार महेशराज पन्त कहिलेकाही ठट्टामा भन्नुहुन्छ– हामीले दुख गरेको नदेखेर तपाईँहरू किताबका दुखमा पस्नुभो । तर, हामीले रोजेर लिएको दुख यो । उहाँका ठट्टा पनि किताबकै हुन्छन् ।
सजिलो र अप्ठ्यारोको यहि द्वन्द्वलाई आफ्नै अनुभवबाट सुल्झाउन बेलायती दार्शनिक फ्रान्सिस बेकनले एउटा सूत्रबद्ध निबन्ध लेखे– पठनका सम्बन्धमा (अफ स्टडिज) । एउटा व्यक्तिको जीवनमा उसले पढ्न सक्ने हजारौं कुराहरू भेटिन्छन्- शास्त्र, पत्रपत्रिका, रिपोर्ट, पर्चा, पम्प्लेट, पाठ्यपुस्तक, कथा, उपन्यास, प्रेमपत्र, चिर्कटाहरू आदि । ती सबैलाई पढ्नु न सम्भव छ, न आवश्यक । त्यसैले बेकन भन्छन्– कुनै पुस्तकलाई चाखे मात्र पुग्छ, कुनैलाई निल्नुपर्छ र एकदमै थोरै किताब हुन्छन् जसलाई चपाएर पचाउनुपर्छ । अध्ययनको सम्पूर्ण प्रक्रियालाई उनले वास्तवमा सरलिकृत गरिदिएका छन्।
अध्ययनलाई साधनाकै स्वरूप मान्ने पूर्वीय चिन्तनधाराले किताब पढ्नुका अतिरिक्त व्यक्तिको बौद्धिक क्षमतालाई परिष्कार गर्ने अर्को माध्यम उपनिषद् मानेको छ र दुबैको बराबर महत्व दर्शाएको छ। वास्तवमा श्रुति परम्परालाई उपनिषद्को मान्यताले जीवित राख्यो। उपनिषद्कै प्रशोधनबाट संस्कृत साहित्यका ठूल्ठूला कृतिहरूको रचना भएको छ । उपनिषद्को परम्परा आज फरक तरिकाले विकास भएर जिवितै छ ।
समाजलाई नेतृत्व गर्ने शासक वा विधिको रचना गर्ने विधिवेत्तासँग राष्ट्र र समाजको भविष्य गाँसिएको हुन्छ । आफ्नो परिवेशको गहिरो विश्लेषण गर्दै मुलुक र समाजलाई अग्रगतिमा लैजाने व्यापक दृष्टिकोण विकास गर्न शासक वा नेताले अध्ययन गर्नैपर्छ भन्ने साझा निष्कर्ष विश्वका हरेकजसो दार्शनिक परम्पराले निकालेका छन्।
त्यसोभए हामीले आज पाएका वा हामीले नै बनाएका राजनीतिक नेताहरू पढ्छन् त ? वा उनीहरूसँग उपनिषद्को गहकिलो अवसर प्राप्त छ ? लामो संघर्षको पृष्ठभूमिबाट आएको नेतृत्वका लागि जीवनको एउटा कालखण्डमा पढ्नैपर्ने बाध्यता र पढ्नकालागि अवसर दुवै थियो । राजनीतिक अवसरका ढोकाहरू खुल्दै गएपछि धेरैको पढ्ने बानी छुटेको छ भने धेरैले लेखन–पठनलाई निरन्तरता दिएको वा पुनः शुरु गरेको पनि देखिएको छ।
सार्वजनिक प्रस्तुतिका विषयवस्तुमा व्यक्त हुने व्यापकताका दृष्टिबाट समकालीन नेपालका राजनीतिज्ञमध्ये नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहुआयामिकता आकर्षक छ । नेपालको राजनीतिक वृत्तमा कुन नेताले कस्तो पुस्तक पढ्छन् वा पढ्दैनन् भन्नेबारे उतिसारो विमर्श हुँदैन। पढ्नु निजात्मक अभ्यास भएकाले अरूबाट धेरै चासो राखिनु पर्ने विषय पनि होइन। यद्यपि सार्वजनिक जीवनमा रहेका व्यक्तिमा पठनको प्रभाव उसको चिन्तनशैली, प्रस्तुती र व्यवहारमा झल्किने हुनाले पढेको वा नपढेको अन्तर सहजै छुट्टिन्छ।
राजनीतिक अवसरका ढोकाहरू खुल्दै गएपछि धेरैको पढ्ने बानी छुटेको छ भने धेरैले लेखन–पठनलाई निरन्तरता दिएको वा पुनः शुरु गरेको पनि देखिएको छ।
पढिएका प्रसंगहरू सम्झेर तिनलाई हाजिरजवाफी ढङ्गले पस्किने कला काँग्रेसका दिवंगत नेता प्रदिप गिरीमा थियो। सामयिकताका अनेकौं सन्दर्भसँग जोडेर श्रवणीय बनाउने क्षमता केपी ओलीमा देखिन्छ। तसर्थ, केपी ओलीको अध्ययनको दायरा फराकिलो छ भन्नु अतिशयोक्ति होइन। मानवीय स्मृतिको सीमाका कारण कहिलेकाहिँ देखिने वा सुनिने तथ्यात्मक त्रुटीहरू अपवाद हुन्, पठन– व्यक्तित्वको मूल प्रवृत्ति होइनन्।
बेजोड अभिव्यक्तिको सामथ्र्य नियमित पठन वा उपनिषद् बिना आर्जन हुँदैन । यसअघि पनि थोरै चर्चा गरिएको उपनिषद्को शाब्दिक अर्थ ‘मन्थनका निम्ति नजिक बस्नु, वा ज्ञान हासिल गर्न छलफल गर्नु, वा समर्पणभाव सहित निकट जानु’ भन्ने लाग्दछ। यस मानेमा नेताहरूका दैनिक हुने म्याराथन बैठक, हप्तौं चल्ने केन्द्रिय कमिटी वा स्थायी समिति बैठकका छलफल वा विमर्शहरू जुनसुकै विषयमा केन्द्रित भएपनि उपनिषद्का आधुनिक स्वरूप हुन् भन्न सकिन्छ । विद्यालयका कक्षामा हुने छलफल, अभिभाषण, मोटिभेसनल लेक्चर र प्रश्नोत्तरलाई हाम्रो समयका उपनिषद् मान्न सकिन्छ।
नेपालको राजनीतिमा सधैं देखिने तीब्र प्रतिस्पर्धी वातावरणका कारण विभिन्न स्रोतबाट प्राप्त सूचना, तिनको विश्लेषण, आपसी छलफल र कतिपय सन्दर्भमा कटाक्ष वा बाझाबाझ समेतले नेताहरूलाई खारिरहेको छ। आफू संलग्न राजनीतिक आन्दोलनका क्रममा भोगेको चौध वर्ष लामो कठोर परिश्रमयुक्त कारावास, कम्युनिष्ट आन्दोलनमा स्थायी रूपले चल्ने अन्तरसंघर्ष र जीवनमा प्राप्त अनुभवले केपी ओलीलाई आफ्ना समकालीन नेताहरूभन्दा पृथक बनाएको छ । व्यक्तिको जीवनका भोगाईहरू विशिष्ट प्रकृतिको हुने भएकाले अर्कोसँग तुलनीय हुँदैनन् । त्यसरी गरिने तुलनामा न्यायसँगै पूर्वाग्रहपनि व्यक्त हुन सक्दछ । यसो हुँदैमा तुलनाहरू रोकिने छैनन् । केपी ओलीको सन्दर्भमा झन् धेरै यस्तो तुलना भैरहन्छ। प्रत्युत्पन्न मति, तर्कशीलता, पूर्वीय दर्शनको बोध र राष्ट्रिय सांस्कृतिक चेतनाको अभिव्यक्ति केपी ओलीको पाठक–व्यक्तित्वका सबल पक्ष हुन् । मैले यसअघि नै उल्लेख गरेको छु– बिना टिपोट दिइने स्वतन्त्र अभिव्यक्तिका क्रममा एकाध तथ्यहरू तलमाथि हुनु अपवाद हो ।
किताब र विषयवस्तु छनोटसँग सम्बन्धित क्षमताले केपी ओलीको पठन–व्यक्तित्व निर्माण गरेको छ । मलाई जानकारी भएका पछिल्ला केहि उदाहरणहरू सार्वजनिक गर्नु उपयुक्त हुन्छ भन्ने लागेको छ । वि.सं. २०७४ को आम निर्वाचन सकेर मुलुकको कार्यकारी निर्वाचित भएको एकाध महिनापछि बालुवाटारमा भेट गर्ने मौका पाउँदा पंक्तिकारसँग परिचय नभएका केहि संस्कृत विद्वानसँग प्रधानमन्त्रीको कुराकानी हुँदै रहेछ, जसको विषयवस्तु थियो– हिस्ट्री अफ धर्मशास्त्र नामको पुस्तक । कुराकानीको अन्त्यमा पुस्तक खोजेर ल्याउने जिम्मा मेरो भागमा पर्न गयो।
पचासको दशकतिर मैले अंग्रेजीमा पढेको उक्त पुस्तकको हिन्दी अनुवाद भैसकेको पनि मलाई जानकारी थिएन । विभिन्न हिन्दु धर्मशास्त्रहरूको व्यापक अनुसन्धान र तुलनात्मक अध्ययन गरेर पाँच खण्डमा प्रकाशित उक्त पुस्तकलाई पौरस्त्य शास्त्रहरूको प्रामाणिक अनुसन्धानमध्ये एक मानिन्छ, साथै शास्त्रहरूको विश्वकोश पनि । भारतको महाराष्ट्रमा जन्मेका संस्कृतज्ञ महामहोपाध्याय पाण्डुरङ्ग वामन काणेले मुम्बई एसियाटिक सोसाइटी र भण्डारकर रिसर्च इन्स्टिच्युटमा उपलब्ध स्रोतहरूको प्राज्ञिक अध्ययन र चिन्तन गर्दै चालीस वर्ष खर्चेर सिर्जना गरेको उक्त पुस्तकलाई प्राचीन एवं मध्यकालीन हिन्दु सभ्यताको कानुनव्यवस्था अध्ययन गर्ने मानक ग्रन्थ मानिन्छ । अन्य धेरै ग्रन्थहरूको रचना गरेका उनलाई ‘धर्मशास्त्रको इतिहास’कै लागि भारत सरकारले भारत रत्न समेतका सम्मान र पुरस्कारहरू दिनुका साथै राज्यसभामा निर्वाचित गरायो । उनको नाममा हुलाक टिकट प्रकाशन गरिएको छ । उनी संस्कृतका असाध्य नामुद विद्वान हुन् ।
खोज्दै जाँदा भारतको उत्तरप्रदेश हिन्दी संस्थानले पुस्तकको हिन्दी अनुवाद गरेको थाहा भयो । ठीक त्यसैबेला पुस्तक ‘आउट अफ प्रिन्ट’ भएको रहेछ । तीन महिना लगाएर भारतका विभिन्न ठाउँबाट पाँचैवटा खण्डका दुई सेट पुस्तक जम्मा गर्न सफल भएँ । एक सेट मैले आफ्नै लागि जम्मा गरेको थिएँ, अर्को सेट प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने मौका पाएँ । मुलुकको सर्वोच्च कार्यकारी संस्थाको अत्यधिक व्यस्तताका बीचमा त्यो पुस्तक पूरै पढ्न सम्भव थिएन । छ हजार पाँच सय पृष्ठको पुस्तक आजपनि कसैले किनेर खुरुखुरु पढिसक्न धेरै समय लाग्छ । त्यस्तो गहकिलो ग्रन्थमा संकलित विभिन्न प्रसंगहरू केपी ओलीका सार्वजनिक अभिव्यक्तिमा आउँदा उक्त पुस्तकको उपयोग अहिले पनि भैरहेको जानकारी मिल्छ र चकित हुन्छु । पौरस्त्य योग र दर्शनका विषयमा केपी ओलीसँग संवाद गर्दा नवीन उपनिषद्को अनुभव हुन्छ ।
यसभन्दा बिल्कुलै फरक अर्को प्रसंग संविधान निर्माण र त्यसपछिका अभ्याससँग सम्बन्धित छ । विक्रम सम्वत् २०७०/७२ तिर नयाँ संविधानको बहस छुट्टै उचाईमा थियो । धेरै विषयहरूमध्ये संविधान सभा, नेपालको कानुनी वृत्त तथा अदालतलाई समेत उद्वेलित गर्ने एउटा प्रश्न थियो– नेपालमा संवैधानिक अदालत अलग्गै राख्ने कि नराख्ने ? पछि तत्कालीन सर्वोच्च अदालतको नेतृत्वबाट प्राप्त सुझाव समेतका आधारमा सर्वोच्च अदालतभित्र संवैधानिक इजलास गठन गरिने मध्यविन्दुमा राजनीतिक दलहरू सहमत भए । त्यस दौरानमा प्रतिकूल स्वास्थ्यका वावजुद विश्वका संवैधानिक अदालतसम्बन्धी व्यवस्थाहरूको तुलनात्मक अनुसन्धान भएका लिटरेचर केपी ओलीले खोजीखोजी पढ्ने गरेको मलाई जानकारी छ।
किताब पल्टाएर हेर्दै जाँदा विभिन्न पेजमा लगाइएका चिन्ह, पानाका किनारामा लेखिएका टिप्पणी र नोटहरूले केपी ओलीको अध्ययनशैली र गहिराईसम्म पुग्ने स्वभावका बारेमा थप परिचित हुने मौका मिल्यो।
त्यसैबेलादेखि संकलनमा रहेका पुस्तकमध्ये गतवर्ष असोजमा जर्मनीको संवैधानिक अदालतसम्बन्धी व्यवस्था तथा त्यसका माइलस्टोन फैसलाहरूको अध्ययन र विश्लेषण समेटिएको एउटा पुस्तक अध्ययनका लागि मलाई दिनुभएको थियो, फिर्ता गर्ने शर्तमा । किताब पल्टाएर हेर्दै जाँदा विभिन्न पेजमा लगाइएका चिन्ह, पानाका किनारामा लेखिएका टिप्पणी र नोटहरूले केपी ओलीको अध्ययनशैली र गहिराईसम्म पुग्ने स्वभावका बारेमा थप परिचित हुने मौका मिल्यो । त्यो किताब मैले तीन महिनापछि फिर्ता गरें ।
मेरो संगतमा आएका नेपाल सरकारका सचिवहरू अहिले पनि भन्ने गर्छन्– निर्णयका लागि प्रस्तुत गरिने फाइलहरू विस्तारमा पढेर सम्बन्धित सचिव र विभागीय मन्त्रीसँग छलफल गरेपछि मात्र निर्णय लिने केपी ओलीको स्वभाव अरू प्रधानमन्त्रीहरूले पनि ग्रहण गरे राम्रो हुन्थ्यो।
हिजोआज पठन संस्कृतिको प्रवद्र्घन गर्न पुस्तकालय अभियान, किताब छलफल र चर्चाहरू भैरहन्छन् । कतिपय अभियानमा म पनि सामेल हुने गरेको छु । मनोरन्जनका अनेक माध्यम उपलब्ध भएकाले पुस्तकहरू छिचोलेर पढ्नुको साटो टिपनटापन गर्ने प्रवृत्ति बढ्दै गएको छ। मानिसमा अधीरता बढ्दै गएको छ । विश्वविद्यालयमा हुने बहुसंख्यक प्राज्ञिक अनुसन्धानले ज्ञान निर्माणमा कुनै योगदान गर्न सकिरहेका छैनन् । पुस्तकहरू पढ्नु ज्ञानको खोजीकै एउटा बाटो हो । अध्ययनबाट खारिएको गहन चिन्तनले नयाँ ज्ञानको निर्माणमा योगदान गर्छ । त्यसैले बुद्धको समयदेखि आजसम्मका दार्शनिकहरू चिन्तन (इन्ट्युइटिभ थिङकिङ) लाई ज्ञान निर्माणको एउटा स्रोत मान्दछन् । सकारात्मक र सिर्जनात्मक सोचको विकास गर्न पठन संस्कृति महत्वपूर्ण छ, जसका लागि जीवनको लामो समय कुनै न कुनै रूपमा पढिरहने केपी ओली जस्तै सार्वजनिक व्यक्तित्वहरूले नयाँ पुस्तालाई अभिप्रेरित गरिरहनुपर्दछ ।
अन्त्यमा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बहत्तरौं जन्मदिनको अवसरमा उहाँको सुस्वास्थ्य, सुपठन र सबल नेतृत्वको कामना गर्दछु।
(ढकाल, राष्ट्रपति विद्या भण्डारीका प्रेस विज्ञ हुनहुन्छ।)
प्रतिक्रिया